गोरखले जिते परेवा उडानको उपाधि « Image Khabar


गोरखले जिते परेवा उडानको उपाधि


Imagekhabar
८ माघ २०७३, शनिबार १६:०४

काठमाडौं, माघ ८ । १७औं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि काठमाडौं, ठमेलका गोरखशमशेर राणाले जितेका छन् ।

राणाले पालेका पाँचओटा परेवाले ३३ घन्टा ३१ मिनेट उडान गरी पहिलो स्थान हासिल गरेका हुन् ।

भक्तपुर, ठिमीका वीरेन्द्र श्रेष्ठले ३३ घन्टा ४ मिनेट परेवा उडाएर द्वितीय हुन सफल भए भने ठिमीकै रविन श्रेष्ठले २९ घन्टा ९ मिनेट परेवा उडाएर तृतीय भए ।

नेपाल परेवा उडान खेल संघको आयोजनामा शनिबार राजधानीमा सम्पन्न प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका गरी ४० जना प्रतियोगी सहभागी थिए ।

यस्तै, चार लाख मूल्य बराबरको केयुर रनिङ शिल्डको उपाधि यो वर्ष गोरखशमशेरले नै हात पारेका छन् ।

यसअघि भक्तपुर, कौशलटारका विनोद कुटु र भक्तपुर, सिरुटारका मधु घिमिरेले केयुर रनिङ शिल्डको उपाधि जितिसकेका छन् । यो शिल्ड आफूसँग राख्न प्रतियोगिले तीन वर्ष उपाधि जित्नुपर्ने हुन्छ ।

उत्कृष्ट परेवाको उपाधि भने काठमाडौं, बानेश्वरका उज्वल रिमालले हात पारेका छन् । उनको टाउके भाले परेवा ८ घन्टा ५२ मिनेटसम्म उडेको थियो ।

यस्तै, यो वर्षदेखि राखिएको स्वर्गीय विष्णुभक्त उत्कृष्ट रनिङ शिल्डको उपाधि पनि उज्वल रिमालले नै जितेका छन् ।

संघले प्रदान गर्ने कदरपत्र भने यो वर्ष संघका आजीवन सदस्य सन्जय था श्रेष्ठलाई प्रदान गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले विजयी सहभागीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्