-प्रकाश लम्साल, ईमेज
१९९० को दशकमा निकै प्रचलनमा रहेको धरमभकारी प्रथा क्रमशः लोप हुँदै जान थालेको थियो । तर पछिल्लो समयमा बाराका चमार जातिले यो प्रथा पुनः सञ्चालनमा ल्याएका छन् ।
विगत पाँच वर्षदेखि मनहर्वा गाविस–५ श्रीपुरस्थित दलित बस्तीका स्थानीयले धरमभकारी सञ्चालनमा ल्याएका छन् ।
स्थानीय २५ चमारजातिका युवाले जयमाँलक्ष्मी बचत समुह नै गठन गरी प्रतिपरिवार बार्षिक १ मन धान संकलन गर्दै भकारी सञ्चालनमा ल्याएका हुन् । सवा सय मन आँट्ने पाँच वटा भकारीमा हाल करिब पाँच सय मन अर्थात २ सय क्विन्टल धान राखिएको छ ।
१९९० को दशकसम्म धरमभकारी निकै लोकप्रिय रहेको बुढापाकाहरु बताउँछन् । पूर्खाहरुले गाउँघरमा धरमभकारी बनाएर अन्न भण्डार गर्ने र अनिकाल परेका बेला सो भकारीको धान कर्जा पैंचोमा लगाउने प्रचलन जस्तै थियो ।
देशमा आएको परिवतर्नसँगै धरमभकारी प्रथा विस्तारै लोप हुँदै गएको छ । तर परम्परालाई जिवित राख्नुपर्ने भन्दै यहाँका युवाहरुले यसलाई सञ्चालनमा ल्याएका हुन् ।
अहिलेको अवस्थामा पनि धरमभकारी प्रथा आवश्यक देखिएकाले सञ्चालनमा ल्याइएको र यसबाट समुदायलाई ठूलो राहत पुगेको स्थानीय गोपी चमार बताउँछन् ।
जग्गा जमिन नभएका चमार समुदायले पनि धान पैंचोमै लाने र धाननै ल्याएर तिर्ने चलन यहाँ जिवितै रहेको छ ।
उनीहरुले प्रत्येक घरबाट मासिक २ सय रुपैयाँको दरले रकम समेत संकलन गर्दै बचत गर्दै आएका छन् । उनीहरुले जम्मा गरेको बचत अहिले करिब १५ लाख पुगेको छ ।
बर्षेनी जम्मा हुँदै आएको भकारीको धानबाट स्थानीय ५० घरधुरीका दलित परिवारले पैंचो लिएर काम चलाउने गरेका छन् । यसले संकटको समाधान गर्नसमेत सहयोग पुगेको छ ।
दलितबाहेक अन्य समुदायले भने भकारीको धान लैजान पाउँदैनन् । जग्गाजमिन नभएका र भएकैको पनि अन्न अपुग भएको अवस्थामा पैंचो चलाउन पाउँदा धेरै राहत पुगेको स्थानीय मनिलाल चमारले बताए ।










प्रतिक्रिया दिनुहोस्