Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


१० जना ‘नक्कली प्रहरी’ समातिए


0
Shares

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकन्ठका प्रेमलाल श्रेष्ठ, सर्लाहीका विजयबहादुर बल, सुवेष घलान, नसि अख्तर, राजु लामा, योगेन्द्रप्रसाद भट्ट र सागर श्रेष्ठ रहेका छन् ।

त्यसैगरी, मकवानपुरका अमित बोम्जन, काभ्रेका मोहनबहादुर किङरिङ र महम्मद अब्दुलाह पनि पक्राउ गरेका छन् ।

आफूहरु सीआइबीको अधिकारी भएको भन्दै गत माघ १५ गते वीरगन्ज उपमहानगरपालिका–१८ बाट बारा, सिसवा–महेशपुर–२ का महम्मद अब्दुलाहलाई बलपूर्वक नियन्त्रणमा लिएको अभियोगमा उनीहरुलार्ई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए ।

प्रेमलाल श्रेष्ठ र अब्दुलाह मिलेर विभिन्न व्यक्तिसँग ‘नागमणि’ बिक्री गर्ने बहानामा रकम ठगी गरेको र सोही रकम असुलीका लागि सीआइबीको अधिकारी भएको झुठो बयान उनीहरुले दिएका थिए ।

पक्राउ परेका सबैमाथि सार्वजनिक मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले पर्सा, जितपुरका सुरेशकुमार गुप्तालाई अपहरण गरी मुडली गाविसस्थित एक घरमा बन्धक बनाएर राखेको आरोपमा पर्सा मुडलीका चन्द्रकान्त चौरसियालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।