Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा निर्वाचन हुन नसक्ने ठाकुरको दाबी


0
Shares

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा ठाकुरले भने, ‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन, पहिला संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।’ संशोधन प्रस्तावमा छलफल गरेर औपचारिकता पुरा गर्ने र पारित नभएपनि मोर्चा निर्वाचनमा जान तयार हुन्छ भनेर कसैले सोचेको भए त्यो दिवास्वप्न मात्र हुने उनको भनाइ थियो ।

उनले कांग्रेस–माओवादी केन्द्रको गठबन्धनले संविधान संशोधन प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे।

तमलोपाका अध्यक्षसमेत रहेका ठाकुरले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अरुलेजस्तै आफूहरुपनि सँगै लड्दै आएको उल्लेख गर्दै भने, ‘हामी चुनावको विरोधी होईनौं, तर समस्याको समाधान नगरी गरिने कुनैपनि चुनावले देशलाई निकास दिँदैन, त्यसैले पहिला समस्याको समाधान गर्नुपर्छ ।’

ठाकुरले संविधान संशोधन नगरी गरिने कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने बताउँदै भने, ‘यदि यो सरकारले बलपूर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे जटिल अवस्था उत्पन्न हुन्छ ।’

ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुरुदेखि नै संविधान संशोधनको विरोध गरिरहेको आरोप लगाए । उनले थपे, ‘एमालेले त संशोधनको पहिलेदेखि नै विरोध गरिरहेको छ नि, अहिले पनि संशोधन प्रस्ताव टेबुल गर्न नदिएर संसद नै बन्धक बनाएको हो नि ।’

उनले स्थानीय तह पुनर्संरचना आयोगले अघि सारेको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको टिप्पणी गर्दै भने, ‘स्थानीय तहको पुनर्संरचना नै जनताको माग होइन, मन्त्रिपरिषदले गाविसलाई नगरपालिका बनाउने काम त गरिरहेको छ नि ।’

उनले भने, ‘पुनर्संरचना भनेको नै दुईवटा तहको हुन्छ, केन्द्र र प्रदेश हुन्छ, प्रदेशको माताहतमा स्थानीय तह हुन्छ, अहिले प्रदेशको नै टुंगो लागेको छैन, पहिला प्रदेशको सीमा र संख्या टुंगो लगाउनुपर्छ, अनि त्यसपछिमात्रै स्थानीयको कुरा आउँछ ।’

Skip This