२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्नातक उत्तीर्ण वलीले कपाल काटेरै मासिक ५० हजार कमाउँदै


0
Shares

स्थायी ठेगाना बागमारे–१ दाङ भएका वलीले सरस्वती प्रावि बागमारे दाङबाट अक्षर आरम्भ गरेको भएपनि करिव पाँच वर्ष पहिलेमात्रै पद्मोदय पब्लिक उच्च मावि भरतपुर दाङबाट स्नातक उत्तीर्ण गरेका हुन् ।

वलीले केही वर्ष यता रोल्पामा हेयर कटिङ सञ्चालन गर्दै आएका छन् । एकाबिहानै होस् वा राति अबेरसम्म, उनको पसलमा सेवाग्राहीको बाक्लो भीड देख्न सकिन्छ । मीठो बोली र सुमधुर मुस्कानले ग्राहकलाई हरपल स्वागत गर्ने वलीले खासखास समयमा मासिक ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन् ।

अन्य समयमा पनि मासिक ३० हजारभन्दा बढी नै आम्दानी हुने गरेको उनी बताउँछन् ।

सामान्य परिवारमा जन्मिएका वलीको बाल्यकाल सुखद् नै रह्यो । परिवारको कान्छो सदस्य भएकै कारण सबैबाट माया ममता पाएका वलीलाई सानैदेखि स्वावलम्बी बन्ने रहर थियो ।

वलीले परिवारको करकापमा तीन पटक जति सरकारी विद्यालयमा रिक्त रहेको शिक्षक पदका लागि आवेदन दिए र, परीक्षामा सहभागी भए तर सफल हुन सकेनन् ।

त्यसपछि असफलताको तीतो अनुभूति बोकेर २०६६ सालतिर उनी काठमाडौं हानिए । आफ्नो बाल्यकालको स्मरण गर्दै वलीले भने, ‘म पढाइमा पनि त्यति नराम्रो थिइनँ । विद्यालय उमेरदेखि नै प्रायःजसो द्वितीय वा तृतीय स्थानमा आउँथे । तर पढाइमा राम्रो भएरमात्र जागिर खान नसकिने भएपछि काठमाडौं गएँ ।’

यसरी साथीभाइ कसैलाई कुनै किसिमको जानकारी नै नदिई घरपरिवारको सल्लाहमा सुटुक्क काठमाडौं पुगेका वलीले निरन्तर ६ महिनासम्म काठमाडौंको सल्मान हेयर कटिङ सेन्टरमा कपाल काट्ने र मसाज गर्ने तालिम लिए ।

वलीका अनुसार त्यो समयको सबैभन्दा सजिलो पेसा हेयर कटिङ थियो र यो पेसा अपनाउनु रहरभन्दा पनि बाध्यता थियो ।

परिवारमा कसैले पनि नगरेको काम भएको हुँदा उनले सुरुसुरुका दिनमा निकै कष्ट झेल्नुपर्‍यो । एकजना काठमाडौंका ठूलो व्यापारीको दाह्री र अर्का एक सरकारी कर्मचारीको कपाल काट्दा बिग्रियो र दुबै जना बेस्सरी रिसाएको उनको मानसपलटमा अझै ताजै छ ।

यसरी करिव ६ महिनासम्म सिप सिकेका वलीले काम गरेको ५० प्रतिशत रकमबाट करिव सात महिनामा ५० हजार जति रकम बचत गरेर दाङ फर्किए । आफन्तबाट ३० हजार सहयोग लिएर कुल ८० हजारमा दाङमा उनले आफ्नै सैलुन सुरु गरे ।

केही महिना दाङमा व्यवसाय गरेका वलीलाई शुभचिन्तकले रोल्पामा जान सल्लाह दिए । सोही अनुरुप उनी २०६७ सालतिर रोल्पा लागे ।

पहिलो पटक प्रमुख जिल्ला अधिकारी आफ्नो पसलमा कपाल काट्न आउँदा आफूलाई निकै खुसीको अनुभूति भएको उनी स्मरण गर्छन् ।

मन, वचन र कर्मले कटिबद्ध बन्न सके स्वदेशमै रोजगार पाउन सकिने उनको धारणा छ । बर्सेनि लाखौँ युवा रोजगारीका लागि खाडी मुलुक धाइरहेका बेला वली एक उदाहरणीय पात्र बनेर रोल्पा जस्ता विकट ठाउँमा काम गरिरहेका छन् । (रासस)