महाभारतकी कुन्ती —९ • Image Khabar Image Khabar


महाभारतकी कुन्ती —९


Imagekhabar
२ फाल्गुन २०७३, सोमबार ०९:००

महाभारतकी कुन्ती —९

कृष्ण, भीष्म पितामह, इन्द्र तथा म, हामी सबैसँग उसले एउटै बाचा गरेको थियो र त्यसलाई उसले पूरा गरेको पाइयो । साँच्चै भनौँ भने पितामहले सकेसम्म कर्णको आफ्ना पाँचभाइका बीचमा लडार्इँ नै नहोस् भनेर आफू सेनापति रहेसम्म कुनै पनि हालतमा कर्णको उपस्थिति अग्राह्य नै हुनुपर्छ भन्ने शर्त राख्नु भएको थियो रे । र उसले पनि सहर्ष मान्यो रे । देखाउन त पितामहसँग म अब कहिले पनि बोल्ने छैन भनेर प्रतिज्ञा पनि गरेको थियो रे । जब ऊ पितामहसँग भेट्न गयो रे, अनि पितामहले भन्नु भयो रे— कर्ण तिमीलाई सबै थाहा छ र पनि थाहा नपाएजस्तो जुन गरेका छौँ, त्यो नै तिम्रो महानता हो । हामीलाई जुन कुरा थाहा छ, अरुलाई अहिले थाहा दिनु जरुरत छैन ।

कर्णले चुपचाप सुन्यो रे । अनि पितामहलाई प्रणाम गर्दै शरशैय्यालाई परिक्रमा गर्‍यो रे, अनि रुँदै बाहिरियो रे । यो कुरा एकदिन मलाई कृष्णले सम्झाउँदा भन्दै थियो । तर केही बोलिन । कर्ण र द्रौपदी पुत्रहरुको मात्र मलाई चिन्ता थिएन, ती गान्धारी दिदीका १०० भाइ र धेरै कृटुम्बहरुको पिर थियो । जबकि दुर्योधनलाई सम्पूर्ण परिवारयुद्धमा कर्णको मात्र भर थियो भनिन्थ्यो । विदुरले जहिले पनि कर्णलाई दुर्योधनबाट टाढा राख्ने कोसिस गरेकोले पनि कर्णमा एउटा निराशा उत्पन्न भएको थियो रे ।

भन्थ्यो रे— मलाई सबै थाहा छ । के गर्नुहुन्छ, के गर्नुहुँदैन मलाई जत्ति सबैलाई थाहा भएको भए यो समस्या आउने नै थिएन । तर कर्ण कसैगरी पनि दुर्योधनबाट टाढा हुन सकेन । कृष्णलाई भन्यो रे पनि— म कसरी भाइहरुसँग लागौँ ? दुर्योधन मेरै बलले निहुँ खोजिरहेको छ । उसलाई पितामह, गुरुहरु द्रोणाचार्य, कृपाचार्यहरुले निष्पक्षताका साथ उसका पक्षमा बोल्लान्, युद्ध गर्लान् भन्ने नै छैन र मेरै भरमा संसारको चक्रवर्ती हुने सपना छ । विदुरजीसँग त उसलाई पहिले देखि नै विश्वास छैन । खालि काका भएकाले मात्र दरबारमा आउन जान दिएको हो, महामन्त्रीकै रुपमा त त्यो पदबाट उहिल्यै निकाल्ने थियो ।

कृष्णले भन्यो रे— राज्यको सम्राटमात्र होइन कर्ण, तिमीले त द्रौपदी पनि भोग गर्न पाउँछौ । अनि हाँस्यो रे र भन्यो रे —कृष्णले भनेपछि पक्कै त्यो पूरा होला तर अब म कुनै पनि लालचमा पर्दिन किनभने सत्य नै मेरो सबैभन्दा ठूलो अस्त्र हो शस्त्र हो र शास्त्र हो । इमान्दारिताले मात्र कर्णको रुपमा म स्थापित भएको हुँ । तपाईँलाई थाहा नै छ, सत्यको रक्षाका लागि मैले आफ्नो छाला पनि काडेर दिएँ भने अब त्योभन्दा बढी के त्याग गर्नु पर्ला र भाइहरुका लागि ?

यसो सम्झन्छु— दुर्योधनले वीर गति प्राप्त गर्‍यो र अरुलाई त्यागका लागि उछिन्यो । वास्तवमा नै हाम्रो छोरो दुर्योधन बहादुर र राजा हुने गुणले युक्त थियो तर एउटा कारणलाई आधार बनायो र ढिपी कस्यो । वास्तवमा ऊ आफैँ कुरुवंशी थिएन र पनि मेरा छोराहरुलाई कुरुवंशी पनि होइनन् र राज्यका अंशियार हुन सक्दैनन् भन्ने कुरामा अडान लियो । भन्न त दरबारमा सबैजना कर्णको बलले पाण्डवसँग लडार्इँ गर्न तम्सेको भनेर दुर्योधनको बदख्वाँइँ गर्थे तर शकुनी दाइको दोहोरो चरित्र नै परिवार युद्धका कारणले भारतवर्ष नै उजाड भयो । मलाई अहिले पनि लाग्छ, दुर्योधनलाई कर्णको असली परिचय थाहा थिएन । शकुनी दाइलाई पनि थाहा थिएन । शकुनी दाइको असली नियत त कि त दिदीलाई थाहा थियो, कि त मलाई थाहा थियो । तर म मौन बस्थेँ किनभने दिदीले नै बारम्बार दाइको नियत खोटो छ भनेर भन्ने गर्नेहुन्थ्यो । नत्र त्यत्रो गान्धार राज्य छोडेर कुटुम्बका घरमा बस्नु किन पर्थ्यो भन्ने दिदीको धारणा थियो ।

भरतको भारतमा धेरै राज्यहरु भए पनि, अधीनस्थ राज्यहरुलाई स्वतन्त्र छोडे पनि एकजना चक्रवर्तीको आवश्यकता पर्ने नै भयो । त्यसैले होला, हाम्रा ससुराको नाममा विचित्रवीर्यको नाम नै भनिन्थ्यो र पिता व्यास जिउँदै भएर पनि हामीले ससुराको नाममा तर्पण दिन्थ्यौँ किनभने पहिलो वामाङ्गी नभई तर्पण र पिण्ड दान सफल नहुने भएकाले म सधैँ महाराजसँग हुन्थेँ ।

साँच्चै राज्य भनेको औपचारिकताको एउटा समष्टि स्वरुप हो कि क्या हो ? किनभने पछि पनि हाम्रा पाँच भाइकै बाबुहरु जिउँदै छन् र पनि महाराज पाण्डुका नाममा श्राद्ध गरिन्थ्यो र युधिष्ठिरले नै वैदिक रीतिअनुसार श्राद्ध गर्ने गर्थ्यो । हुन त जसको खेतमा बाली लगायो उसैको हुन्छ नि त बाली भन्ने नीति छ नि त हाम्रो राज्यमा । भारतमा पुत्रको महत्व यसकारणले पनि बढी भयो होला कि कहिलकाहीँ पुत्रविना पनि राज्य गर्ने व्यक्तिको समस्या परेको पाइन्छ । अहिले पनि हाम्रै वंशमा पनि कसो कसो उत्तराले गर्भ धारण गरेकोले परीक्षितले राज्य गर्न पाउने भएको हो । भएका सबै मारिए । दिदीका १०० भाइ सबै मारिए । पाण्डवका पाँचै भाइ गुरुपुत्रले मारे । अभिमन्युले युद्धमै वीरगति प्राप्त गर्‍यो । बभ्रुबाहनलाई हामीले पहिले नै राज्यको भावी प्रतिनिधि घोषणा नै गरेनौँ । युयुत्सु वैश्यापुत्र भएकाले राज्यको हकमा परेन । भन्यो रे त दुर्योधनले अश्वत्थामालाई । अश्वत्थामालाई त लागेको थियो रे उनले मेरा पाँचओटा छोराहरुलाई नै मारेर सिध्याएँ । पाँचओटै टाउको लिएर जब गुरुपुत्र दुर्योधनलाई देखाउन गएका थिए रे । अनि दुर्योधन पहिले त खुसी भएर हाँस्यो र भन्यो रे— गुरुपुत्र, बल्ल मलाई सन्तोष भयो र ढुक्कसँग मर्ने भएँ । अनि टाउकाहरुको अवलोकन गर्ने बित्तिकै रुँदै भन्यो रे— द्रोणी, यो तिमीले के गरेका ? अब हाम्रो राज्यमा कसले राज्य गर्छ ? सबै त मार्‍यौ तिमीले ? हाय मेरा छोराहरु , नाहकमा तिमीहरुको ज्यान पो गएछ ।

अनि दुर्योधन विषादले गर्दा गुरुपुत्रसँग बोल्दै बोलेन अनि त्यत्तिकै मुर्च्छा परेर वीरगति ग्रहण गरेको रे । साँच्चै राजा हुने क्षमता थियो नै । तर के गर्नु, ढिपी र आडम्बरले अनि राज्यको अति लोभले हाम्रा सन्तानहरुको पनि नाश भयो । मलाई एकपटक व्यासले भन्नुहुन्थ्यो— कुन्ती, आखिर तिम्रै वंशले भरतकुल थाम्ने हो । यो सबै नाटक हो केही समयका लागि । तिमी ढुक्क होऊ, तिम्रै वंशले कलियुगलाई पनि नेतृत्व सुरु गर्नेछ र लामो समयसम्म भारतको राज्य गर्नेछन् ।

पुत्रको महत्व जुन युगमा पनि देखिन्छ । मैले सानैमा सुनेको, सत्ययुग र त्रेतायुगमा मानवीय समागम आवश्यक थिएन रे बच्चा पाउन । मात्र इच्छा हुनुपर्‍यो । यही द्वापरयुगमा मात्र समागम चाहिएको रे । खोइ कस्का लागि हो, मलाई त त्यो पनि हो जस्तो लागेको छैन । तर राज्यमा पुत्रको लागि नै विवाह गर्ने चलन छँदैछ । हाम्रो राज्यमा बाल विवाह छैन । पुत्रका प्रकार यस्ता छन् हाम्रो राज्यमा ।

स्वयंजात पुत्र भनेको आफ्नै पत्नीबाट आफैँद्वारा जन्माइएका हुन् । प्रणीत पुत्र भनेको आफ्नी विवाहिता पत्नीद्वारा कुनै उत्तम पुरुषसँग अनुरोध गरेर वा आफ्नो आवश्यकता पूरा गर्न सहयोगमा जन्माइएको छोरो हो । परिक्रीत पुत्र भनेको आफ्नी विवाहिता स्त्रीमार्फत अरु कसैलाई पैसाको लोभ देखाएर जन्माइएको पुत्र हो । पौनर्भव पुत्र भनेको कुनै नारीको पहिलो विवाह पश्चात् दोस्रो विवाह भयो र पछिल्लो पतिबाट जन्मेको पुत्र पनि पुत्र नै हो । त्यसलाई पहिलो पति र दोस्रो पति दुवैले पुत्र मान्ने चलन छ । कानीन पुत्र भनेको विवाह पूर्व नै कन्या माताबाट जन्मेको पुत्र हो । स्वैरिणीज पुत्र भनेको आफ्नीनी विवाहिता नारीका गर्भबाट आफ्नो पतिबाहेक अरुबाट समान स्तरको पुरुष वा उत्तम पुरुषबाट जन्मेको पुत्र नै स्वैरिणीज हो । यी सबै पुत्रहरु वैदिक रीतिले जन्मेको मानिने र पिताको सम्पत्तिको हकदार हुनेछन् । स्वयंजात र पौनर्भव पुत्रहरु औरस पुत्र मानिने चलन छ भने कानीन पुत्र औरस नभए पनि व्यवहित—औरस पुत्र मानिन्छन् । प्रणीत, परिक्रीत तथा स्वैरिणीज पुत्रहरुलाई क्षेत्रज पुत्र मानिन्छ । यिनीहरुलाई आफ्नै दाजुभाइ मान्नैपर्छ भन्ने हाम्रो राज्यको चलन थियो ।

यी बाहेक पनि अरु प्रकारका छोराहरु हुन्छन् भनेर मानिएको छ । जस्तो कि दत्तपुत्र भनेको मातापिता जुन छोरो अरु छोरा नहुनेलाई दान दिन्छन् धर्मपुत्र बनाउन, त्यो दत्तपुत्र भयो । क्रीतपुत्र किनेर ल्याएको छोरो क्रीतपुत्र भयो । यदि कुनै बालक आफैँ आएर म त तपाईँहरुको छोरो भएँ भन्छ भने त्यो कृत्रिम पुत्र हुन्छ । कुनै युवतीको विवाह हुँदै गर्भवती रहिछ भने त्यसबाट जन्मेको पुत्र सहोढ पुत्र भयो । सहोदरभन्दा अन्य जातिको पुत्र पालन गरिएको छ भने त्यो ज्ञातिरेता पुत्र हुनजान्छ । आफ्नो भन्दा तल्लो जातकी स्त्रीबाट जन्मेको छोरो हीनयोनिधृत मानिन्छ ।

आखिर हाम्रो राज्यमा औरस, लब्ध, क्रीत, पालित एवं क्षेत्रजले नै आफ्ना कुलको तरणतारण गर्ने अधिकार पाएका हुन्छन् । हुन त पितामहले भीमलाई एकदिन अर्ती दिनेक्रममा बीस प्रकारका छोराहरुको बयान गर्नु भएको थियो भनेर भीमले एकदिन मलाई भन्दै थियो । पुत्रीका पुत्र मातामहको वंशरक्षक हुने चलनलाई त बभ्रूबाहनले पूरा गरेकै छ । अनि सबैभन्दा हाम्रो देशको चलन के राम्रो छ भने क्षेत्रज पुत्रमा उसको खासै पिताको कुनै हक हुँदैन जस्तो कि बालीमा खेती लगाउनेको हक जस्तै । गर्भवती महिलासँग बिहे गरेर आएको सन्तानलाई पनि आफ्नै सन्तान जस्तै मान्ने चलन रहेछ तर हाम्रो राज्यमा त्यस्तो कतै सुनिएन । मेरो छोरो कर्णको बारेमा अधिरथलाई केही थाहा नभएर नै उसले आफ्नै कर्ममा कर्णलाई राख्यो । त्यस्तै थियो चलन किनभने कस्को छोरो हो भन्ने थाहा नभएपछि त कर्म त जसले पाल्यो उसैको हुने भयो । ब्राह्मण पुत्र नै भए पनि यदि शूद्रले केही थाहा नपाएर पालेको छ भने उसको सबै कर्म शूद्र झैँ नै हुने भयो । तर कानीन पुत्र हुँदा पछिको बाबुको नामबाट परिचित हुने हो, तै पनि व्यास त शन्तनु महाराजका कानीन पुत्र भएर पनि पराशरकै पुत्रको रुपमा प्रख्यात हुनुभयो । त्यसो त मेरो छोरो कर्ण पनि पाण्डुकै कानीन पुत्र हुनुपर्ने हो, तर मैले त्यो गोप्यता राखेकोले ऊ अधिरथको पुत्र भनियो, राधाकै पुत्र भनियो र राधेय भनेर प्रख्यात भयो । त्यसो हुनुमा कुमारी आमाको गर्भमा कस्को बच्चा पालिएको थियो भन्ने केरकार हुने भएकाले सामान्यतः नियम के राखिएको रहेछ भने राज्यले त्यसको जानकारी त राख्ने तर गोप्यताका साथ व्यवहार गर्ने । कुमारीको प्रसवलाई त कसले पो सह्राहना गर्छ र ? त्यसै भएकाले त मैले बगाउनु परेको हो । अरुबाट नियोग गरेर पाउने चलन त ग्राह्य नै हो तर एउटी महिलाले पुरुषको आज्ञाले तीनओटाभन्दा बढी पाउनु हुन्न भन्ने अघोषित मान्यताचाहिँ थियो र त मलाई फेरि मानव वा राजा वा ऋषिबाट अर्को बच्चा पाउन महाराजबाट भएको ढिपीलाई नमानेर चौथो बच्चा र पाँचौं बच्चा माद्रीबाट पाएको नि । अश्विनीकुमार न छुट्टिने अनि जुम्लाहा छोरा एकैपटक पाइन् माद्रीले । लेखेको कसले मेट्न सक्छ र ? वास्तवमा मलाई डर के भयो भने यसै पनि मेरा चारओटा भई नै सके । अरुले देख्दा पो तीनओटा त, मेरो मनमा त मलाई थाहा छँदैछ नि । अरुलाई पो ढाँट्न सकिन्छ, आफूलाई त आफूले कसरी ढाँट्नु र ?

हुन त राजाका धेरै छोरा हुनु राम्रो मानिन्थ्यो तर राज्यका लागि हुने कलहले गर्दा छोरा त दुई तीनओटामात्र ठीक देखिन्थ्यो तर मैले बाध्य भएर पाँचओटाको व्यवस्था गर्नुप¥यो । गान्धारी दिदीका १०० ओटा र युयुत्सुसमेत गरी १०१ ओटा छोरा थिए । सधैँ विवाद, झगडा । सबैभन्दा असलचाहिँ विकर्ण भन्ने सानो छोरो थियो । सबै एकैपटक जन्मेका भए पनि हुर्कने क्रममा ठूलो र सानो भनेर विभेद गरिएको हो । जस्तो कि हाम्रो पनि नकुल र सहदेव सँगै जन्मे पनि सहदेवलाई सानो भनेर मानेका थियौँ । फेरि द्रौपदीको कथा अर्कै छ पाँच पति पाउने कथा । दोषचाहिँ मलाई लगाइयो । (क्रमशः)

 

प्रतिक्रिया दिनुहोस्