Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने


0
Shares


काठमाडाैं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा हुने ‘भीआईपी’ मुभमेन्टले सुरक्षा निकायलाई अतिरिक्त चुनौती थप्ने भन्दै आफ्नो र आफ्नो दलका सांसदहरूका लागि कुनैपनि विशेष सुरक्षा प्रबन्ध नगर्न आग्रह गर्नुभएको छ । 
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू कार्यक्षेत्र (फिल्ड) मा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गराउन भूमिका खेल्ने स्पष्ट पार्नुभयो । उहाँले कुनै कारणवश प्रभावित क्षेत्रमा पुग्नुपरेको खण्डमा पनि सुरक्षा वा अन्य कुनैपनि सुविधाको चिन्ता नलिन र प्रशासनलाई आफ्नो काममा बाधा नपुरÞ्याउन आग्रह गर्नुभएको छ । लामिछानेले प्रभावित क्षेत्रमा सञ्चार सेवाको सहजताका लागि सरकारले चालेको कदमको स्वागत गर्नुभयो । टेलिफोनमा ब्यालेन्स नहुँदा पनि कुराकानी गर्न मिल्ने र डाटा उपलब्ध गराउने विषयमा सरकार सचेत रहेको जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘विपद्का बेला भीआईपी मुभमेन्टले सुरक्षाकर्मीका लागि चुनौती सिर्जना गर्दछ । म र मेरो दलका सांसदहरू फिल्डमा जाँदा सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्ने छैन, हामीलाई कतै पनि ध्यान दिनुपर्ने छैन । सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस् । हामीमध्ये कोही पुग्नुपरेको खण्डमा पनि अतिरिक्त सुरक्षा र सेवा लिने छैनौँ । हामी व्यक्तिगत तवरबाट जानेछौँ र प्रशासनको काममा कुनै दखलअन्दाज हुने छैन । विपद् पर्दा सबैभन्दा अप्ठ्यारो सीमान्तकृत र अल्पसङ्ख्यक वर्गलाई पर्दछ । तथ्याङ्कले पनि महिला, वृद्धवृद्धा र दलित समुदायमा यसको गहिरो प्रभाव परेको देखाउँछ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।’

लामिछानेले विपद्को समयमा सीमान्तकृत र अल्पसङ्ख्यक समुदाय सबैभन्दा बढी मारमा पर्ने तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । विशेषगरी महिला, गर्भवती, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र दलित समुदाय विपद्बाट बढी प्रभावित हुने गरेको भन्दै राहत र उद्धारमा ती वर्गलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।