जनता विदेशमा पसिना बगाएर कमाउँछन्, नेता विदेशीसँगै हात फैलाउने ! • Image Khabar Image Khabar


जनता विदेशमा पसिना बगाएर कमाउँछन्, नेता विदेशीसँगै हात फैलाउने !


Imagekhabar
३ फाल्गुन २०७३, मंगलवार ११:२२

जनता विदेशमा पसिना बगाएर कमाउँछन्, नेता विदेशीसँगै हात फैलाउने !

नेपाल यस्तो बेलामा पनि थियो जुन बेला नेपालीहरुले कुनै पनि विकासे काम गर्नुपर्दा अरुको मुख ताक्नुपर्ने हुन्थ्यो । किनभने त्यो बेला नेपालीहरुसित न ज्ञान थियो, न सिप थियो, न पूँजी नै थियो । तर विगत ३०/४० वर्षको दौरानमा नेपालीहरुसित विकासका सबै पूर्वाधारहरु जुटिसकेका छन् । कमी छ त एउटै कुराको, त्यो हो सही नेतृत्वको ।

अहिले नेपालीहरुसित ज्ञान–विज्ञान छ, सिप दक्षता छ र चाहिएको पैसा पनि छ । तर हाम्रो सरकारको मागी हिंड्ने बानी गएको छैन । माओवादी नेता बाबुराम भट्टराई जब अर्थमन्त्री भए उनी विश्व बैंकको बैठकमा भागलिन वासिंटन गए । उनले धनी देशहरुका अर्थमन्त्रीहरुसित भेट्दै हिंडे र सहायता माग्दै पनि हिंडे ।

भर्खर युद्धको मैदानबाट आएका क्रान्तिकारी नेताले यसरी माग्दै हिंडेको देख्दा हामीलाई ग्लानी भयो । आखिर अरु क्रान्तिकारी नभएका नेपाली मन्त्रीहरु भन्दा उनी फरक देखिएनन् । हुन त उनले नेपाल सरकारको कर असुलीमा तत्परता देखाए र सफल पनि भएको मानिए । तर संसारको आँखामा उनी एक कमजोर मन्त्रीकै रुपमा देखिए ।

त्यही मागीहिंडने बानी खासगरी नेपाली नेताहरुको विदेश भ्रमणमा देखिने गरेको छ । चाहे त्यो राष्ट्राध्यक्ष होस् या प्रधानमन्त्री, उनीहरुको विदेश भ्रमणको मूल्यांकन सहायताको रकममा तौलिने गरिन्छ । कुन आयोजना बनाइदिने सम्झौता भयो, कति पैसा दिने प्रतिबद्धता जनाइयो आदि प्रश्नहरुको उत्तर खोजिन्छ । भ्रमणबाट देशको कुन दीर्घकालीन स्वार्थ पूरा हुने भयो, देशको कति इज्जत बढ्यो र नेपालीको शीर कति ठाडो हुन सक्यो भन्नेतिर ध्यान दिइदैंन । यसबाट हामीहरुमा हिनभाव आउने गर्दछ, मानौं हामीहरु विदेशी सहायता नपाउँदा बाँच्नै नसक्ने या गाह्रो पर्ने भान हुन्छ । जुनबेला नेपालको आर्थिक अवस्था सारै दयनीय थियो, त्यो बेला लागेको बानी हो । अहिले यस्तो अवस्था छैन तर लागेको बानी कहाँ छुट्छ ?

यो खाते बानी कतै परम्परागत सांस्कृतिक प्रभाव त होइन ? किनभने नेपालीहरु मन्दिर जाने, देवदेवीको पूजाआजा गर्ने र भगवानसित अनेक कुरा माग्ने गर्दछन् । भगवानको दर्शन र पूजाआजाले मानिसको मन शुद्धिकरण गर्द छ र उत्रतितिर लम्कन प्रोत्साहित पनि गर्दछ । शुद्ध मन, परिश्रम र ईमान्दारीको कारण मानिस आफ्नो लक्ष्यमा सफल हुने गर्दछन् र मनोकांक्षा पुरा पनि हुने गर्दछ । यस्तो सफलतामा जति भगवानको आशिर्वाद हुने गर्दछ त्यो भन्दा धेरै मानिसको मेहनत हुन्छ । ईश्वर र भक्तिमा जति जोडिए पनि मानिसले परिश्रम नगरीकन सफल हुँदैन । यो त सबैले देखेको, भोगेको कुरा हो । तर राज्य संचालनमा लागेका नेताहरु र अधिकारीहरु यसै मानसिकता लिएर हिंड्नु पर्ने आवश्यक छैन । आफ्नो आस्था विश्वासलाई यथावत राखेर देशको ईज्जत र मर्यादालाई उठाउने किसिमले व्यवहार गर्नु पर्दछ ।

नेपालीहरुले अब खाते मानसिकता र व्यवहार छाड्ने दिन आइसकेको छ । पहिलो महत्वपूर्ण कुरा हो, नेपालीहरुले दुःख पाएर बसेका हुन् तर मागी हिड्ने गरेका थिएनन् । ईतिहासमा नेपालीहरुले बाँच्नका लागि कतै मागी हिडेको कुरा पढ्न पाइएको छैन । खानलाउन गाह्रो भएको अवस्थामा विदेशिएका छन् । परिश्रम गरेका छन् । दुःख पाएका छन् । कति त मरिगएका पनि छन् । तर उनीहरुले मागेर खाएको देखिएको छैन । पहिले पहिले पहाडमा बस्न गाह्रो भएर आसाम, बर्मा ठाउँहरुमा खेति गर्न गएका थिए । दुःखसुख बाँच्न पनि सके । कालान्तरमा कति मानिसहरु लखेटिए । उनीहरु पुनः नेपालमा आएर बसे । तर यो क्रममा उनीहरुले कसैसित हात फैलाएको थाहा छैन । दुई वर्ष अगाडि गएको भूकम्पका पीडितहरुलाई सहायता गर्न केही मित्रहरुले सहयोग अवश्य गरे । त्यो एउटा आपत्कालीन समय थियो । यस्तो वखतमा के धनी, के गरिब, के विकसित, के अविकसित भनेर हेरिंदैन । आपत परेका पीडितहरुलाई सहायता गर्ने अन्तर्राष्ट्रिय चलन नै छ । त्यसैले यसलाई अन्यथा मात्रु हुत्र । तर त्यस्को लगत्तै जब नेपालमा भारतीय नाकाबन्दी भयो त्यो अरु संकटकारी भयो । जे भए पनि सो संकटको अवस्थामा एउटा सकारात्मक कुरा देखियो । त्यस अवसरमा बाहिरबाट आउने सामानको कमी देखियो, हाहाकार नै मच्चियो । मूल्य बढ्यो । तर नेपालीहरुको दरिद्रता कतै देखिएन । उनीहरुसित मनग्य पैसा थियो र खर्च पनि गरे । नेपालीहरुसित पैसाको कमी नभएको मुख्य कारण विदेशिएका नेपालीहरुले पठाएको रकम थियो । सो खुलासा हाम्रा अर्थशास्त्रीहरुले गरेका हुन् । विदेशमा मेहनत गरिरहेका युवायुवतीहरुले दुःख पाए पनि आफ्नो देश बचाउन र नेपालीहरुलाई बाँच्न दिन कति ठूलो भुमिका खेलेका रहेछन् भत्रे प्रष्ट भयो । यो गौरव नै गर्नु पर्ने कुरा हो । अर्कोतिर नेपाली जनताले पनि संकटको बेला धैर्य र साहस देखाएका हुन् ।

दोस्रो कुरा हो नेपालीहरु अरुलाई सहायता दिन सक्ने अवस्थामा पुगिसकेका छन् । हुन त नेपालका युवाहरुले बेलायत र भारतको सेनामा भर्ना भएर उनीहरु गुलामी गरेका हुन् भनेर धेरै गुनासो पाइन्छ । तर त्यही कामलाई अर्कोतिरबाट हेर्दा के नेपालीहरुले ती देशहरुलाई सहयोग गरेको ठहरिंदैन ? बेलायत जस्तो विकसित र बलियो देशलाई मद्दत गर्नु के कम गौरवको काम हो ? भारतजस्तो एउटा ठूलो देशको सुरक्षामा सहायता पुर्‍याउनु के कमजोरी हो ? मलेसिया र खाडीका देशहरुको विकासमा सहभागी हुनु के हिनताको काम हो ? के अमेरिका र अस्ट्रेलियाका कम्पनीहरु संचालन गरिदिनु ठूलो देन होइन ? के जापानका बुढाबुढीहरुकहाँ सेवा पुर्‍याउनु धर्म होइन ? आखिर नेपालीहरुले जे गरिरहेका छन् आफ्नै पसिना बगाएरै गरिरहेका छन् । कसैले पनि मागेर हिंडेका छैनन् । एउटा पढेलेखेका या नपढेका नेपालीले मगन्ते भएर हिंडेका छैनन् भने उनीहरुका नेता र शासक भनाउँदाहरु किन खाते बनेर हिंड्छन् ?

प्रतिक्रिया दिनुहोस्