नेपालमा बाँस क्रान्तिको खाँचो • Image Khabar Image Khabar


नेपालमा बाँस क्रान्तिको खाँचो


Imagekhabar
४ फाल्गुन २०७३, बुधबार ०९:४१

नेपालमा बाँस क्रान्तिको खाँचो

संसारका कुनै पनि देश हावामा बने बनाइएका छैनन् । यतिखेर नेपालमा भिजन भएका र देशलाई आफ्नो नेतृत्वमा लैजान सक्ने नेतृत्वको अत्यन्त खाँचो भएको छ । सबैथोक आयात गर्न मिल्ने तर नेता स्वदेशमै उत्पादन गर्नु पर्ने भएकाले हामीलाई यस्तो सकस भएको हो ।

यो सानो आलेखमा नेपालमा शताब्दीयौंदेखि प्रयोग भएर पनि ख्याल नगरिएको वनस्पति बाँसका बारेमा नयाँ कोणबाट बहस गरिएको छ ।

नेपाल स्रोत नभएर गरिब भएको हैन सोचको कमीले गरिब भएको हो । हामीसँग अनन्त स्रोतहरू विद्यमान् छन् । पहाड स्रोत हो । विकासे नामका रासायनिक मल नहालेका र उर्वराशक्तिले झकिझकाउ भएका पहाडहरू नेपालमा कैयौँ छन् । पहाडका रसिला र भरिला पाखाहरूमा स्थान, हावापानी, उचाइ र जात अनुसारका फलफूल र रूख बिरुवाहरू रोप्न सकिन्छ ।

बाँस नेपालको सबै किसिमको हावापानी भएको स्थानमा हुने बहुविध वनस्पति हो । यो हिमाल, पहाड र तराई सबैतिर पाइन्छ । यसका धेरैथरी जातहरू तराईमा पाइन्छन् त्यसैले तराईमा यस्को धेरै उपयोग हुन्छ । कर्ची बाँस, माल बाँस, भालु बाँस, कट बाँस र अन्य केही स्थानीय जातका बाँसहरू तराईमा पाइन्छन् । पहाडमा पनि बाँस यत्रतत्र पाइन्छ । हिमाली भेगमा भने बाँस केही पातलो मात्रामा पाइए पनि निगालो र बेतका केही प्रकारहरू पाइन्छन् ।

निगाला र बेतमा आधारित कुटीर उद्योगहरू देशैभरि छरिएर रहेका छन् । फर्निचर उद्योगदेखि लिएर घरघरायसीका प्रशस्त सामानहरू निगालोबाट उत्पादन हुन्छन् । कुरो बाँसको आयो । बाँसबाट नहुने र नबन्ने चिज छैनन् भन्दा हुन्छ । भनाइ नै छ –‘बाँसको सबैथोक भलो तर त्यसको हुँदैन ढिकी र हलो ।’

जीवन र मरणका बीच अनेक पितृ र देवकार्यमा बाँसको सघन महत्व हामीले देखे भोगेका छौं । बाँस लगाइएका स्थानका अन्य रूख बिरुवाहरू गार्हस्थ प्रयोजनका लागि कम काटिएका र मानिसहरू बाँस मै आश्रित भएको परिदृश्यबाट थाहा पाउन सकिन्छ कि यो वनस्पति कति उपयोगी छ । पशुपालन, खेतीपाती, कुटीर उद्योग र फर्निचर उद्योगमा समेत यसको कच्चापदार्थ प्रयोग भएको हुन्छ । यसका सामानहरू सस्ता, हलौं, उपयोगी, फिनिसिङ भएका र पोर्टेबल समेत हुन्छन् । काठका तुलनामा बाँसका सामानहरू न्यून आय भएका मानिसका पहूँचमा सजिलै पुगेको हुन्छ । त्यसले यसलाई गरिबको साथी भनिएको पाइन्छ ।

तराईतिर नदी तटबन्दका कामदेखि लिएर, झुप्रा र गुहाली घरका खाँबा खुट्टा, बला, धरिन, झ्याल, ढोका सबै बाँसबाट निर्मित हुन्छन् । तराई र पहाडतिर टाटी फरिकदेखि लिएर नाङ्ला, डाला, घुम, भकारी, चित्रा, मान्द्रा, थुन्से, टाट्ना र कहीँकहीँ त हलोको जूवासमेत बाँसकै हुने गर्दछन् । भित्री मधेश र मधेशका केही जिल्लामा बाँसको पात (पतकर) लाई माटोबाट निर्मित भाँडाहरू पोल्नका लागि प्रयोग गरिन्छ । गाईवस्तु ब्याउँदा अम्रो (साथी) झर्न नसकेका बेलामा बाँसका घाँस खुवाउने र साथी झर्ने गरेको देखिन्छ । यसको घाँस गाईभैँसी र बाख्रा पाठालाई अत्यन्त पोषिलो हुन्छ । बाँसको घाँस खाएका बस्तुभाउले धेरै दूध दिने र मनग्गे घिउ लाग्ने हुन्छ ।

बाँस एक वर्ष पुगेपछि दिनको सरदर आधा फिट बढ्ने वनस्पति हो । यसका मुनालाई तामाका रूपमा अचार र तरकारीमा गृहिणीले रमाईरमाई प्रयोग गर्दछन् । ‘तामा’ शब्द मिसाइएका गीतहरूले पनि लोकगीतका फाँटलाई लछेप्र्रै झिजाएको छ । यो नेपाली संस्कृतिको द्योतक पनि हो । भान्सामा तामा पाकेको छ भने रौनकै अर्को हुन्छ ।

गाउँ घरतिर दूध दुहुने गवुवादेखि लिएर गाईवस्तु ब्याउँदा न्वारान गर्न र बस्तु चोख्याउनका लागि सातपोके बनाउने सम्म काममा पनि बाँसकै खनखाँचो पर्दछ । साबगास नभएका गरिब र निम्न मध्यम वर्गले बाँसका टाट फरिकबाट घर जग्गाको कम्पाउण्ड घेर्ने काममा लगाएका हुन्छन् । पहिरो छेक्न र खोल्सी नियन्त्रणमा समेत आजकाल ‘बेम्बो इन्जिनियरिङ्’ भनी काम गरिएको पाइन्छ । पहाडी खोला र खोल्सीमा ससाना फड्के र पुलको काम बाँसबाटै भएको देख्दा अचम्म नमाने हुन्छ । झाँपा र मोरङ जिल्लातिर बाँसको सेन्टर बेरामा प्लाष्टर गरेर रङ् लगाई बनाइएका घरहरू लागतका कारण पनि चल्तीमा छन् । तिनीहरूले मानव स्वास्थ्यमा समेत सकारात्मक असर गरिरहेका छन् ।

जन्मेदेखि मरून्जेलसम्म बाँस मानिसलाई चाहिने वस्तु हो । आजको दुनियाँमा यसको महत्व विकसित शहर बजारमा समेत उत्तिकै रहेको छ । ठूलाठूला घरमा ढलान गर्न होस् या प्लाष्टर र रङ गर्न पनि बाँसको मद्दत लिन सकिन्छ । बाँसले सहयोगी र उपयोगी वनस्पतिका रूपमा नेपाली संस्कृति र परमपरामा काम गरेको छ । घाँस, दाउरा र फर्निचरदेखि लिएर कृषि कार्यमा समेत बाँसको उपयोगिता देख्दा लाग्छ नेपालमा फेरि बाँसबारे पुनर्जागरणको खाँचो रहेको छ ।

बाँसले केकति मात्रामा राष्ट्रिय अर्थतन्त्रमा योगदान गरेको छ ? बाँसबाट केकति मात्रामा कूल गार्हस्थ उत्पादनमा योगदान हुने गर्छ ? त्यसको समग्र रूपमा लेखाजोखा हुन सकेको छैन । यस मानेमा बाँसलाई अन्याय भएको छ ।

बाँसको उत्पादन राम्रो भएको स्थानमा सामुदायिक वन र राष्ट्रिय वनहरू पनि कम मात्रामा फँडानी भएका छन् । जब मानिस आफ्नो प्राथमिक आवश्यकताका लागि बाँसमै भर पर्छ अनि ऊ वनका रूख बिरुवामा कम आश्रित हुन्छ । खेर गएका जमिन र खोल्साखोल्सीमा बाँसको खेती गर्ने चाँजोपाँजो मिलाउने हो भने यसले एकातिर हरीयली वृद्धिमा सहयोग पुर्‍याउँदछ भने अर्कातिर आफ्नो उत्पादन दिएर उत्पादकत्वमा वृद्धि समेत गर्दछ ।

बाँसका बारेमा जाने सुनेकाले पारम्परिक र वैज्ञानिक दुवै रूपबाट अब आफ्नो अनुभव बाँड्ने बेला आइसक्यो । यसलाई जन जीवनका हरेक क्षेत्रमा जोड्दै राष्ट्रिय अर्थतन्त्रमा समेत यसको बहुगुणी विशेषता र उपयोगिताको प्रयोग गर्नु अत्यावश्यक भइसक्यो । नेपालमा ग्रामीण जनजीवनमा बाँस र मकैको जति सदुपयोग भएको छ त्यति अरूकुनै खाद्यान्न र वनस्पतिको भएको देखिँदैन । नेपाली हावापानी, जनजीवन र संस्कृति सुहाउँदो बाँसका बारेमा नयाँ पुस्तालाई पढाउन ढिला भैसकेको छ । त्यसैले अब बाँस क्रान्ति गर्नु नेपालका लागि अति आवश्यक भैसक्यो । चिफ एण्ड बेस्ट हुने बाँसका घरहरू पनि इलाम र पाँचथर जिल्लामा केही वर्ष पहिले देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्