पत्रकार महासंघलाई जोगाउने हो भने.. • Image Khabar Image Khabar


पत्रकार महासंघलाई जोगाउने हो भने..


Imagekhabar
५ फाल्गुन २०७३, बिहीबार ०९:४२

पत्रकार महासंघलाई जोगाउने हो भने..

-युवराज गौतम

आफ्नो नेता चयन गर्न यतिबेला सबैभन्दा धेरै राजनीति पत्रकारलाई लागेको छ । व्यवसायिक, क्रियाशील र सिर्जनशील पत्रकारको मर्म, भावना र क्षमतालाई कदर गर्न सक्ने नेतृत्व चयन गर्न जिल्ला–जिल्लामा अधिवेशनहरु भइरहेका छन् । आक्रोश, अवरोध, वादविवाद, असन्तुष्टि, आरोप–प्रत्यारोपका बाबजुद पत्रकारहरु चुनावमा होमिएका छन् । विगतका नेतृत्वले बिगारेको, भत्काएको र विधी तथा प्रक्रिया अनुरुप काम नगरेको आरोप एकातर्फ छँदैछ भने अर्कोतर्फ सफल र असल कामको प्रशंसा पनि उसैगरी भइरहेको छ । बहस, आरोप-प्रत्यारोप, विद्रोह, आक्रोश, प्रसंशा गर्नु हामीले नै स्थापित गरेको लोकतान्त्रिक विधि र प्रक्रिया हो । यसलाई अन्यथा मान्न मिल्दैन । लोकतान्त्रिक अभ्यास गर्नु अनुचित पटक्कै होइन । त्यसैले यतिबेला पत्रकार महासंघले सुधार्नु पर्ने र भविष्यमा गर्नुपर्ने कामको फेहरिस्त निक्कै लामो छ । जसलाई सफल पार्न नेतृत्व मजबुत र सक्षम चयन गर्नुनै हामी सबैको हित हुनेछ । जसलाई यसरी प्रस्तुत गर्न सकिन्छ ।

दलको चंगुलबाट मुक्त गराऔं

जब महासंघको महाधिवेशन नजिकिन्छ, हामी आफू निकट दलका नेताको घरदैलोमा पुगिहाल्छौं । पार्टी कार्यालयमा बसेर महासंघको सौदाबाजी सुरु गर्छौं । त्यसपछि त सुरु भइहाल्छ नेताहरुलाई महासंघको नेतृत्व आफनो दलको पोल्टामा पार्ने होडबाजी । दलहरुले पनि आफ्नो दलका समर्थक पत्रकारहरुसँग दैनिकजसो ताकेता गर्ने अवसर पाउँछन् अनि संगठनलाई आफ्नो अनुकुल चलाउन तानाबाना बुन्न थालिहाल्छन् । अनि यहींबाट सुरु हुन्छ आस्थाको आधारमा विभेदको श्रृंखला ।

भन्नलाई त महासंघलाई साझा र स्वतन्त्र संस्था भनिन्छ । तर राजनीतिक दलको ठाडो हस्तक्षेप यही महासंघमा देख्न थालिएको छ । यही हस्तेक्षपभित्र पत्रकारितालाई स्वतन्त्र र महासंघलाई साझा र छाता संस्थाको ‘ढ्वाङ’ पिटिन्छ । त्यसैले यसबारे बेलैमा सचेत रहौं । आफ्नै विवेक र स्वाभिमानले महासंघको गरिमा र प्रतिष्ठलाई जोगाउने प्रतिज्ञा गरौं । राजनीतिक दलको आशिर्वाद थापेर महासंघको नेतृत्व हत्याउने परिपाटी २५ औं महाधिवेशनबाट अन्त्य गरौं । राजनीतिक आस्था, विचार र सिद्धान्तलाई एकातिर थन्काएर महासंघको छाताभित्र एकढिक्का हुने प्रण गरौं ।

इतिहास तोडमोड नगरौं, प्रतिष्ठा जोगाऔं

पत्रकार महासंघ स्थापनाको जस पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई जान्छ । उनले प्रजातन्त्र प्राप्तिका लागि पत्रकारहरुलाई एकता गराएर संगठन विस्तार गरेको इतिहास महासंघले नै प्रकाशित गरेका जर्नल, ऐतिहासिक पुस्तकहरुमा पढ्न पाइन्छ । यद्यपी, २००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा संघ गठन भएको र २०१२ सालमा भट्टराईको अध्यक्षतामा वैधानिक रुपमा पुनर्गठन भएको भन्ने पनि इतिहास छ । इतिहासलाई थप खोज तथा अनुसन्धान गरेर भविष्यमा यसको निष्कर्षमा अवश्य पुगिएला । जे होस्, भट्टराई र श्रेष्ठ हाम्रा आदर्श हुन् ।

उहाँहरुको त्याग र समर्पणलाई सम्मान गर्दै महासंघले नेपालको सबैखाले परिवर्तनमा खेलेको भूमिकालाई सम्मान गर्ने अवसर कालान्तरसम्म मिल्नुपर्छ । महासंघलाई आम नागरिकले हेर्ने दृष्टिकोण क्रमशः परिवर्तन हुँदै आइरहेको छ । राजनीतिक दलको ‘गोटी’ बन्यो, ‘भातृ संगठन’ बन्यो भनेर तिब्र आलोचना भइरहेको छ । यस्ता आलोचनाका बाबजुद संस्थाले गरेका उपलब्धिहरुलाई जोगाउन पत्रकारिताको धर्म, मर्म र आचार संहिता साथै विधानलाई सम्मान गर्ने अवसर सिर्जना अनिवार्य गरिनुपर्छ ।

सदस्यता वितरणमा गम्भिर बनौं

वि.स.२०१२ सालमा संभवतः १२ जनामा सिमित पत्रकार संघ यतिबेला ११ हजार हाराहारीमा सदस्यहरुको मालिक वनेर महासंघमा आइपुगेको छ । यति धेरै सदस्य सक्रिय पत्रकारितामा छन् ? ११ हजार नै व्यवसायिक पत्रकार हुन् ? यो प्रश्नको जवाफ महासंघ नेतृत्वसँग प्रष्ट हुनु जरुरी छ । सदस्यता शुद्धिकरण गर्ने भनेर दर्जनौं पटक गरिएका बाचा र प्रतिबद्धताहरु कार्यान्वयन कति भए ? यस विषयमा महासंघले स्पष्ट रोडम्याप बनाइनु पर्छ ।

पत्रकारिता पेशा छाडेका, पेशा बदलेका, राजनीतिक दलको क्रियाशिलता लिएका वा सक्रिय राजनीतिमा लागेकाहरुको सदस्यता खारेजी गर्न सक्नुपर्छ । यतिमात्र होइन, प्रत्येक तीन बर्षमा देखिने गरेको सदस्यता वितरणको विवादले महासंघको शाख गिर्दो अवस्थामा आइरहेको छ । त्यसैले विधान, विधि र प्रक्रियालाई लत्याएर दलीय भागबन्डाका आधारमा सदस्यता वितरण गर्ने परिपाटीको अन्त्य तत्कालै गर्नु जरुरी छ । क्षमतावान र क्रियाशिल पत्रकारलाई ‘लात मार्ने’ र दलका कार्यकर्तालाई सदस्यता बाडेर संरक्षण दिने क्रम रोक्नुपर्छ । नत्र क्रियाशिल र सिर्जनशील पत्रकारहरु पलयान हुनसक्ने खतरा छ ।

‘एनजिओकरण’ बाट जोगाऔं

हामी सबैले भन्दै आएको विषय भनेको महासंघलाई एनजिओकरणबाट जोगाउने नै हो । संस्थाको गरिमा र प्रतिष्ठाको फाइदा उठाउने उद्देश्यले भित्रिएको विदेशी पैसाले महासंघ बलियो हुँदैन । सरकारी स्रोत र मनकारी नेपाली नागरिकहरुबाट दानदान्तब्य र सदस्यहरुबाटै प्राप्त शुल्कबाट महासंघलाई आर्थिक समृद्ध बनाइनु पर्छ । आर्थिक विकृती र विसगंतीले गर्दा महासंघको छवी सामाजिक रुपमा क्रमशः धमिलिदै गएको छ । विश्वसनियता गुम्दै गइरहेको अवस्था छ । त्यसैले यस विषयमा गम्भीर बन्न जरुरी देखिएको छ ।

श्रमजीविका मुद्दामा एकढिका बनौं

नेपाल सरकारले बनाएको श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका सवालमा महासंघ गम्भीर भएन भन्ने आरोप छ । मालिकसँग मिलेर श्रमजीवि ऐन कार्यान्वयनमा बाधक बनेको महासंघ नेतृत्वप्रति आक्षेप लाग्दै आइरहेको छ । त्यसैले यस विषयमा महासंघले गम्भीर कदम चाल्नुपर्ने देखिन्छ । यतिबेला देशभरका ७५ प्रतिशत पत्रकारको हातमा नियुक्तिपत्र छैन । महिनौंदेखि पारिश्रमिक नपाउनेहरुको बाहुल्यता छ । ९० दिनलाई एक महिना मानेर पारिश्रमिक लिने पत्रकारहरु दयनीय अवस्थामा छ ।

अझै पनि अधिकांश पत्रकारहरू पेशागत रूपमा असुरक्षित छन् । सञ्चयकोष, औषधी उपचार, नियमित बिदा, बीमा, उपदानजस्ता सुविधा कार्यान्वयनको हुनै सकेको छैन । यी सबैखाले समस्याबाट पत्रकारलाई मुक्ति दिन महासंघ नेतृत्व गम्भीर बन्नै पर्छ । मिडिया संचालकहरुसँग एकथरी निर्णय गर्ने अनि श्रमजीविलाई अर्कोखाले आश्वासन दिएर ऐन कार्यान्वयनमा बाधक बन्न महासंघले मिल्दैन । महासंघले श्रमजीविकै सबैखाले मुद्दामा लड्न सक्नुपर्छ ।

‘हाम्रालाई होइन राम्रा’लाई नेतृत्व प्रदान गरौं

पत्रकार महासंघमा एउटा पुरानै रोग छ–सक्षम, इमान्दार, निष्ठावान र क्रियाशील पत्रकारलाई नेतृत्वमा ल्याउन ठूलै ‘पहाड फोड्नु’ पर्छ । राजनीतिक भागबन्डा मिलाएर वा आफू निकट दलका नेताको आशिर्वाद लिएर जो–सुकैले नेतृत्वको दावी गर्न सक्ने अवस्था छ । भएको पनि त्यस्तै देखिन्छ । त्यसैले यस विषयमा बेलैमा सचेत हुनु अत्यन्तै जरुरी छ ।

अग्रजलाई सम्मान र युवा पत्रकार प्रोत्साहन गर्ने उद्देश्यले जुझारु र सक्षम नेतृत्व महासंघलाई खाँचो छ । केन्द्रीय वा प्रान्तीय प्रतिनिधि छनोटमै निष्पक्ष र सर्वसम्मत वा मतदानबाटै पनि राम्रा पत्रकारहरुको चयन हुनु आवश्यक छ । अन्य निकायमा पटक–पटक अवसर पाइरहेका, नेतृत्व गर्न असक्षम वा राजनीतिक दलको क्रियाशील ब्यक्तिलाई नेपाल पत्रकार महासंघको नेतृत्वमा ल्याउने कसरत भयो भने संस्थाको भविष्य खतरामा पर्नसक्ने देखिन्छ । गैर पत्रकारलाई पाखा लगाउँदै श्रमजीवि पत्रकारहरुको सामुहिक ऐकबद्धता मार्फत सक्षम कार्यसमिति छनोट गर्नुपर्ने देखिन्छ । महाधिवेशनका लागि खारिएका र जुझारु युवा पत्रकारहरुलाई केन्द्रिय समितिमा चयन गरेर श्रमजीवि र व्यवसायिक पत्रकारको मुद्दामा काम गर्ने अवसर प्रदान गर्नुपर्छ ।

दीर्घकालिन ‘भिजन’ बनाऔं

पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संस्था भनिन्छ । तर कता कता छाता संस्था च्यातिदै गएको भान हुन थालेको छ । एकातिर ‘भ्वाङ’ परेर सबैलाई ओताउन नसकेको भनेर आलोचना भइरहेको छ । त्यसैले पत्रकारका दीर्घकालिन मुद्दामा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।

आमसंचार नीति–२०७३ को कार्यान्वयनमा पहल, आवश्यक नीति, कानुनको दर्जुमा गर्न तत्कालै पहल जरुरी छ । प्रशिक्षण प्रतिष्ठान तथा अध्ययन संग्राहलय निर्माण, कल्याण तथा आपतकालिन कोषमा बृद्धि गराउन पहल गर्नु गरिहाल्नु पर्छ । दुर्घटना र स्वास्थ्य विमालाई प्रभावकारी बनाइनु अति आवश्यक भइसकेको छ । विभिन्न पुरस्कारको अक्षय कोष निर्माण साथै अग्रजलाई सम्मान गर्ने परिपाटीको विकास आवश्यक छ । त्यतिमात्र होइन, नेपालमा पत्रकारिता अध्ययनलाई सर्वसुलभ तथा प्रभावकारी र विश्वविद्यालयको स्थापनामा पहल गरिनु जरुरी भइसकेको छ । [email protected]

 

प्रतिक्रिया दिनुहोस्