
अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)
काठमाडौं, फागुन २१ । चालू संसद गठन भएको मंगलबार एक वर्ष पुगेको छ ।
संसदको एकवर्षे कार्यकाललाई सरकारले कानुन निर्माणको दृष्टिकोणले ऐतिहासिक भनेको छ ।
तर, प्रतिपक्ष दल र स्वयं सत्तारुढ दलकै कतिपय सांसदहरुले भने वर्तमान संसदको एकवर्षे कार्यकाल सन्तोषजनक हुन नसकेको टिप्पणी गरेका छन् ।
सरकारले संसदको एकवर्षे कार्यकाललाई ऐतिहासिक र कानुन निर्माणको दृष्टिकोणले स्वर्णयुगकारुपमा चित्रित गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको एकवर्षे अवधि उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिए ।
तर, प्रतिपक्ष दलले भने कानुन निर्माणको सवालमा पनि संसदले प्रभावकारी भूमिका खेल्न नसकेको र सरकारको ‘रबर स्टाम्प’ भएको टिप्पणी गरेको छ ।
स्वयं सत्तारुढ दलका कतिपय सांसदहरुलेसमेत एक वर्षको अवधिमा संसद कतिपय सवालमा चुकेको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद कर्मकान्डी र सरकारको लाचार छाया भएको टिप्पणी गरे ।
सांसदहरुले एक वर्षको गल्ती सच्याएर आगामी दिनमा संसद सरकारको लाचार छायाबाट मुक्त हुनुपर्ने सुझाव दिएका छन् ।
सरकारलाई समर्थन गरेपनि मुद्दाको दृष्टिकोणले संसदमा प्रतिपक्षको भूमिकामा रहेका सांसदहरुले पनि संविधानलाई सर्वस्वीकार्य बनाउन र जनजीविकाका सवाललाई सम्बोधन गर्न आगामी दिनमा संसदले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्