
काठमाडौं, फागुन २१ । भारतको वैदेशिक व्यापार नीतिको अमेरिकाले कडा आलोचना गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको वैदेशिक व्यापार नीतिको आलोचना गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले भारतबाट आउने करोडौं डलरको ‘ड्यूटी फ्री’ सामानमा रोक लगाउने घोषणासमेत गरेका छन् ।
यसबाट छिमेकी पाकिस्तानसँग तनावमा परेका भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीलाई झट्का लाग्ने देखिएको छ ।
आसन्न संसदीय निर्वाचनमा चौतर्फी घेराबन्दीमा परेका मोदीलाई ट्रम्पको भनाइले थप संकटमा पार्ने देखिएको छ । उनका विपक्षीलाई भने मसला मिल्ने देखिन्छ ।
भारतले अमेरिकाका सामानहरुको आयातमा उच्च भन्सार लगाउने गरेको भन्दै राष्ट्रपति ट्रम्पले भारतबाट आउने करोडौं डलरको ड्यूटी फ्री सामानमा पनि रोक लगाउने घोषणा गरेका हुन् ।
अमेरिकी कंग्रेसलाई लेखेको पत्रमा ट्रम्पले ‘भारत सरकारसँग धेरै लामो कुराकानीपछि म यो कदम उठाइरहेको छु । किनकि, भारतले अहिलेसम्म अमेरिकालाई आफ्नो बजारमा सहज पहुँच दिने आश्वासन दिएको छैन ।’
सन् १९७० मा बनाइएको विशेष आयात नीतिअन्तर्गत् अमेरिकाले भारत र टर्कीलाई विकासशील देशकारुपमा विशेष मान्यता दिएको थियो ।
यस नीतिअनुसार भारतको ५.६ अर्ब डलरको सामान अमेरिकी बजारमा बिनाआयात शुल्क प्रवेश भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
जबकि, अमेरिकाबाट आयात हुने सामानमा भारतले अत्यधिक आयात शुल्क लगाउँदै आएको भन्दै ट्रम्पले असन्तुष्टि जनाएका हुन् ।
‘भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई न्यायसंगत र उचित पहुँच दिनुपर्छ । तर, भारतले दिएको छैन’–ट्रम्पको पत्रमा उलेख छ ।
ट्रम्पको प्रस्ताव कंग्रेसले पारित गरेमा ६० दिनपछि लागू हुनेछ । यसबाट भारतीय वैदेशिक व्यापारमा ठूलो धक्का पुग्ने बताइएको छ ।
यद्यपि, भारतीय वाणिज्य मन्त्रालयका सचिव अनुप धवनले अमेरिकाको विशेष ग्राह्यता हट्दैमा भारतीय अर्थ व्यवस्थामा ठूलो असर नपर्ने दाबी गरेका छन् । यो नीतिबाट १९ करोड डलरसम्ममात्रै हानि हुने उनको भनाइ छ ।
केही अमेरिकी उत्पादनलाई भारतीय बजारमा सशर्त पहुँच दिन तयार रहेको भन्दै धवनले तिनमा अमेरिकी कृषि तथा डेरीसँग सम्बन्धित सामान हुनेछन् ।
आइटी र मेडिकल उत्पादनमा पनि भन्सार घटाउन तयार रहेपनि समझदारी भने बनिनसकेको उनको भनाइ छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्