
काठमाडौं । अदालतले देश छोड्न लगाएको प्रतिबन्धको बेवास्ता गर्दै विदेश पुगेका भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता हुँवा गुइदो स्वदेश फकिएका छन् ।
दक्षिण अमेरिकी देशहरुको केही दिनको भ्रमणपछि विपक्षी नेता गुइदो स्वदेश फकिएका हुन् । उनलाई काराकासमा हजारौं समर्थकले स्वागत गरेका छन् ।
भेनेजुएलाका अधिकारीले पक्राउ गर्न सक्ने सम्भावनाका बीच पनि गुइदो स्वदेश फर्किएका हुन ।
सीमापार जम्मा भइरहेको मानवीय सहायता भित्र्याउन भन्दै उनी १० दिनअघि देशबाट बाहिर निस्किएका थिए ।
उनी कोलम्बियामा आयोजित क्षेत्रीय नेता एवम् अमेरिकी उपराष्ट्रपति सहभागी एक बैठकमा समेत सहभागी भएका थिए ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरिनोसँग शनिबार भेटवार्ता गरेपछि गुइदो सलिनासबाट बन्दरगाह रहेको शहर गुयाक्वीलका हुँदै भेनेजुएलाको राजधानी काराकास पुगेका हुन् ।
काराकासस्थित साइमन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न अमेरिका र युरोपेली देशका कूटनीतिज्ञहरुसमेत पगेका थिए ।
सडकमा हजारौं उत्साही समर्थकहरुलाई सम्बोधन गर्दै गुइदोले भेनेजुएलाका जनताले तर्सिनुपर्ने अवस्था अब अन्त्य भइसकेको बताए ।
उनले राष्ट्रपति निकोलस मदुरोको आदेश पालन गर्न जनताले छाडिसकेको दाबी गरे । उनले तत्काल राजीनामा दिन मदुरोसँग माग गरे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्