
काठमाडौं । विवादका कारण केही दिनदेखि अबरुद्ध भएको भारत–पाकिस्तानबीचको रेल सेवा पुनः सुरु भएको छ ।
दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जनाएका हुन् ।
पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो ।
सम्झौता एक्सप्रेसको रेल अत्तारी रेल स्टेशन पुगेको भारतीय अधिकारीले बताएका छन् ।
पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको सो रेलमा १५० जना यात्रु रहेको जनाएका छन् ।
भारत प्रशासित काश्मिरको पुलवामामा गत फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० जनाभन्दा बढी भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवासमेत अवरुद्ध भएको थियो ।
दुई देशबीच सामान्यतः सोमबार र बिहीबार रेल सेवा सञ्चालन हुँदै आएको थियो ।
पाकिस्तानको विदेश मन्त्रालयले गत फेब्रुअरी २८ मा दुई देशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो ।
तर भारतको राजधानी नयाँदिल्लीदेखि पाकिस्तानको पन्जाब प्रदेशको राजधानी लाहोरसम्मको अन्तरदेशीय बस सेवा भने रोकिएको थिएन ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्