५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


पर्यटन क्षेत्रको आम्दानीभन्दा विदेश घुमघाममा नेपालीले खर्चने रकम बढी


0
Shares

पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ । यसमा हवाई टिकट, भिसा तथा अन्य प्रयोजनमा हुने खर्च भने समावेश छैन ।

पर्यटन व्यवसायीहरू पनि अहिले नेपाल आउने पर्यटकको तुलनामा नेपालीलाई विदेश पठाएर व्यवसाय गर्नेको व्यवसाय उल्लेख्य रूपमा बढेको बताउँछन् । ‘अहिले नेपालमा विदेशी ल्याएर घुमाउनुभन्दा नेपालीलाई विदेश घुमाउने कम्पनीले राम्रो व्यापार गरिरहेका छन्,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष डिबी लिम्बू भन्छन्, ‘यकिन तथ्यांक छैन, तर समग्र पर्यटनबाट नेपालले गर्ने आम्दानीको तुलनामा नेपालीले गर्ने खर्च अत्यधिक छ ।’

ट्राभलका नाममा ५० अर्बभन्दा बढी बाहिरिन्छ

तथ्यांकअनुसार नेपालबाट डलर सटहीबाट मात्र वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढी बाहिरिन्छ । नेपालीले भ्रमणका लागि गत आर्थिक वर्ष ०७२/७३ (सन् २०१५/१६)मा ५६ अर्ब ४१ करोड रुपैयाँबराबरको अमेरिकी डलर वा अन्य विदेशी मुद्रा सटही गरेको तथ्यांक छ । तर, विदेशी पर्यटकले नेपालमा सो अवधिमा ४१ अर्ब ४६ करोड मात्रै खर्च गरेका छन् ।

यो तथ्यांक डलर सटहीमा हुने खर्चमात्र हो । यसबाहेक नेपालमा एक खर्ब रुपैयाँबराबर अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री हुन्छ । त्यसमध्ये नेपाल वायुसेवा निगमसहित नेपाली कम्पनीको भागमा करिब १० प्रतिशत मात्र हिस्सा रहन्छ । ९० प्रतिशत विदेशी कम्पनीले नै कमाइरहेका छन् । सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टा) नेपालका पूर्वअध्यक्ष यम खड्काका अनुसार नेपालमा बिक्री हुने कुल टिकटमध्ये विदेश भ्रमणमा जाने नेपालीकै नाममा बढी हुन थालिसकेको छ ।

यसकारण बढ्दै छन् विदेश घुम्ने नेपाली

– सस्तो मूल्यमा आकर्षक प्याकेज उपलब्ध हुनु
– नेपालीको क्रयशक्ति वृद्धि
– नेपालभित्र नेपालीले मन पराउने गरी गन्तव्य प्रवर्द्धन र विकास हुन नसक्नु
– आन्तरिक पर्यटकलाई नेपाली व्यवसायीको फरक व्यवहार÷वास्ता नगर्ने प्रवृत्ति
– नेपालमा कमजोर पूर्वाधार र कम गुणस्तरीय सेवा
– फरक संस्कृति, वेशभूषा, भौगोलिक अवस्थिति हेर्ने र नयाँ अनुभव लिने चाहना
– कलेज, कर्पोरेट हाउसहरू, कम्पनीहरूले आफ्ना कर्मचारीका लागि भ्रमणमा लगानी वृद्धि
– विदेशमा परिवारका सदस्यको उपस्थिति
– नेपालबाट सीधा हवाई सम्पर्क र गन्तव्य बढ्नु

कति नेपाली घुम्न निस्कन्छन् ?

सन् २०१६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर ११ लाख ३१ हजार पाँच सय २९ नेपाली बाहिरिएका छन् । त्यसमध्ये चार लाख ३३ हजार दुई सय वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली छन् । शिक्षा मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षयता वार्षिक औसत करिब ३० हजार हाराहारी नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिन्छन् । सोही आधारमा हेर्दा करिब ६ देखि साढे ६ लाख नेपाली व्यापार–व्यवसाय, सभा–सम्मेलन र भ्रमणका लागि विदेश जाने गर्छन् । व्यवसायीहरूका अनुसार व्यापार–व्यवसाय र सभा–सम्मेलनका लागि जाने नेपालको संख्या पनि घुमफिरमा जानेको तुलनामा ज्यादै कम छ । सन् २०१६ मा विदेशबाट सात लाख २९ हजार पाँच सय ५० पर्यटक नेपाल आएका थिए ।

यद्यपि, नेपालबाट कति नेपाली आउटबाउन्ड टुरिजममा निस्कन्छन् भन्ने यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । व्यवसायीले गर्ने अनुमान पनि फरक–फरक छ । सोट्टो नेपालका पूर्वअध्यक्ष तथा एरोलिना ट्राभलका प्रबन्ध–निर्देशक यम खड्काका अनुसार नेपाल आउने विदेशी पर्यटक र विदेश घुम्न जाने नेपालीको संख्या लगभग बराबर छ । पछिल्लो समय नेपालबाट एसियाली मुलुकका गन्तव्यमा सीधा हवाई सम्पर्क बढेपछि आउटबाउन्डमा जाने नेपालीको संख्या पनि बढ्दै छ ।

नाट्टाका पूर्वअध्यक्ष लिम्बूका अनुसार पछिल्लो एक वर्षयता इन्डोनेसिया धेरै नेपालीको प्राथमिकतामा छ । त्यसमा मुख्य भूमिका मालिन्दो एयरका काठमाडौं–मलेसिया–इन्डोनेसिया उडानको रहेको छ । –नयाँ पत्रिका दैनिकबाट