
इस्लामावाद, फागुन २० । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश सोमबारदेखि पूर्णरुपमा खुला गरेको जनाएको छ ।
पाकिस्तान र भारतबीच सैनिक तनाव बढेसँगै पाकिस्तानले आफ्नो आकाश हवाई उडानका लागि बन्द गरेको थियो ।
पाकिस्तानले गत बुधबार आदेश जारी गरेसँगै हवाई उडान अवरुद्ध हुँदा युरोप र एसियाबीचको हवाई यात्रामा नराम्रो असर परेको थियो ।
हजारौं हवाई यात्री विश्वका विभिन्न विमानस्थलमा अलपत्र परेका थिए ।
विश्व समुदायले आणविक शक्ति राष्ट्र भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका थिए । पछिल्लो समय दुवै मुलुकले एकार्काका युद्धक विमान खसालेको दाबी गरेका थिए ।
यहीक्रममा एकजना भारतीय लडाकू विमानका चालकलाई पाकिस्तानले गिरफ्तार गरी भारतलाई बुझाएको थियो ।
‘पाकिस्तानका सबै विमानस्थलहरु र पाकिस्तानी आकाश खुला गरिएको छ’–पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले जनाएका छन् ।
पाकिस्तानी आकाश बन्द गरिँदा युरोप र दक्षिण एसियाका धेरै मार्गहरु बन्द भएका थिए ।
विश्वकै नवौं अग्लो पाकिस्तानको नाँगा पर्वतमा हराइरहेका दुईजना बेलायती र इटालेली पर्वतारोहीको खोजीकार्यमासमेत असर परेको छ ।
पाकिस्तानले शुक्रबारदेखि नै आफ्नो हवाई आकाश खुला गर्न थालेको थियो ।
पाकिस्तानी आकाश खुला हुनुलाई दुई देशबीच जारी तनाव विस्तारै कम हुन थालेकोरुपमा पनि हेरिएको छ ।
पछिल्लो समय दुवै देशबाट एकार्का मुलुकभित्र हवाई आक्रमण हुन छाडेका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्