५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


प्रहरीद्वारा ट्रयाक्टरको टायर चोरेर बिक्री


0
Shares

इलाका प्रहरी कार्यालय, तुलसीपुरले सोमबार राती अवैध काठसहित रा १ त ६३० को ट्रयाक्टरलाई तुलसीपुर–१४ राइखलियानबाट नियन्त्रणमा लिएको थियो । इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार काठसहितको सो ट्रयाक्टर जिल्ला वन कार्यालय बुझाउन प्रहरीकै चालक सिपाही धनबीर चौधरी र अर्का जवान प्रकाश बिष्टलाई खटाइएको थियो ।

घोराहीस्थित जिल्ला वन कार्यालय काठ र ट्रयाक्टर बुझाउन गएका प्रहरी जवान चौधरी र बिष्टले घोराहीकै एक ट्रयाक्टर सोरुममा ट्रयाक्टरका ६ वटै टायर बेची पुराना टायर राखेर जिल्ला वनमा बुझाएको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार प्रहरी जवानद्वयले कामचलाउ टायर राखी ट्रेक्टर जिल्ला वन कार्यालयमा बुझाएका थिए । प्रहरीले नै टायर चोरेर बेचेको सूचना इप्रका तुलसीपुरले पाएपछि इप्रकाले प्रज चौधरी र विष्टलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, दाङ पठाएको प्रनाउ तिवारीले बताए । –राजधानी दैनिकबाट