
बुटवल, फागुन १९ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मित्रराष्ट्र जर्मनीका राजदुत रोल्याण्ड स्याफरसहितको एक टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ ।
भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ ।
मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको, प्रदेश सरकारले अहिले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा संघीय संरचना अनुसार सांगठनिक संरचना तयार भएको जानकारी दिएका थिए ।
उनले संघीयता कार्यान्वयनका क्रममा विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको संघीयता मौलिक चरित्रको भएको बताए ।
उनले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेकोप्रति प्रशंसा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरेको बताए ।
भेटमा राजदुत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए । उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकुल कानुनी वातावरण, तालिमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्