५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


चीनबाट लगातार तीन उच्चस्तरीय टोली आउँदै


0
Shares

चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् । कुटनीतिक स्रोतका अनुसार उनीहरु सबै तीनदिने भ्रमणमा आउन लागेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रोपोगाण्डा प्रमुख लिउ छिपाओले ३ पुसमा तीनदिने नेपाल भ्रमण गरेका थिए । तीन दिनपछि तिब्बतको जनकंग्रेस प्रमुख बाइमा छिलिनले नेपाल भ्रमण गरेका थिए । उनीपछि नेपाल आउन लागेको यो नै उच्चस्तरीय प्रतिनिधिमण्डल हो ।

चीनको परराष्ट्र मामिलासम्बन्धी सहायकमन्त्री कोङ सुयान्यु ७ चैतदेखि ९ सम्मका लागि नेपाल आउने तय भएको छ । परराष्ट्र सचिव शंकरदास वैरागीको औपचारिक निमन्त्रणामा दुई पक्षीय संयन्त्रको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको एसिया विभाग हेर्ने उच्च अधिकारी डोउ इन्योङ बिहीबार काठमाडौं आउने तय भएको छ । उनले बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ ।

स्रोतका अनुसार उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नेछन् । साँझ उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले उनको सम्मानमा रात्रिभोज दिने कार्यक्रम छ ।

तर उनको भ्रमणबारे औपचारिक रुपमा नेपाल र चीन दुबैले प्रतिक्रिया दिएका छैनन् । –नयाँ पत्रिका दैनिकबाट