५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


शाश्वत धाम: राष्ट्रपतिले उदघाटन गरिन्, पूर्व राजाले पूजा गरे


0
Shares

एउटै कार्यक्रममा फरकफरक समयमा उपस्थित भएर उनीहरूले आ–आफ्नो भूमिका पूरा गरे ।

नवलपरासीको देवचुली नगरपालिका– २ दुम्कौलीस्थित चौधरी उद्योग परिसरमा निर्माण गरिएको धाम उद्घाटन गर्न राष्ट्रपति भण्डारी बिहान १० बजे पुग्ने कार्यक्रम थियो ।

तर, उनको हेलिकोप्टर निर्धारित समयभन्दा करिब एक घन्टापछि मात्र अवतरण गर्‍यो । धाम उद्घाटन गरेर शान्त शैलीमा राष्ट्रपति बाहिरिएलगत्तै जयजयकारका साथ पूर्वराजा प्रवेश गरे ।

हिन्दू धर्म र राजतन्त्रका समर्थकले कार्यक्रमस्थल वरपर ज्ञानेन्द्रको स्वागतमा तुल–ब्यानर पनि टाँसेका थिए । ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समर्थकहरूले उनलाई मञ्चसम्म पुर्‍याएका थिए । पूर्वराजाका लागि शाश्वत धाममा पूजा गर्ने भूमिका छुट्याइएको थियो जो उनले पूरा गरे ।

उनलाई बिदाइ गर्दा पनि नारा लगाउने र सेल्फी खिच्नेको प्रतिस्पर्धा थियो ।

पूजा गरेपछि कार्यक्रमस्थलबाट केहीबेर बाहिरिएका पूर्वराजा धर्मसभाका रूपमा आयोजित दोस्रो सभामा प्रमुख अतिथि थिए । पहिलो कार्यक्रममा राष्ट्रपति बसेकै सिटमा दोस्रो सभामा पूर्वराजा ज्ञानेन्द्र बसे । अरू अतिथिले बोलेपछि प्रमुख अतिथि बोल्छन् कि भनेर धेरैले अनुमान गरेका थिए । तर, त्यसबीचमा केही मिनेट ज्ञानेन्द्रले आयोजक उद्यमी विनोद चौधरीसँग संवाद गरे । तर, कार्यक्रमलाई उनले सम्बोधन गरेनन् ।

राष्ट्रपति भण्डारीले भने ऋषिमुनिले तपस्या गरेको देशमा धर्मसंस्कृतिलाई बचाउनुपर्ने बताइन् । सो कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा र भूमिसुधारमन्त्री विक्रम पाण्डेले पनि सम्बोधन गरेका थिए ।

आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक श्री श्री रवि शंकरले नेपाल सुन्दर भूमि रहेको र नेपालीहरू पनि शान्तिप्रेमी रहेको भन्दै सनातन धर्मलाई अगाडि बढाउन आग्रह गरे । –नयाँ पत्रिका दैनिकबाट