
मान्छे धेरै जम्मा भएको ठाउँमा जान कुकमाया मान्दै मानिनन् । श्रीमतीको नागरिकता बनाउन श्रीमान् सुनबहादुरले विभिन्न बहाना बनाए । ‘मान्दै मानिनन्, बजार लगेर टन्न मीठो–मीठो खानेकुरा खुवाउँछु भनेर नागरिकता बनाउन यहाँ ल्याएँ,’ सुनबहादुरले भने ।
बिहीबार जिल्ला प्रशासन कार्यालयले मकैसिङ–२ बुटारमा घुम्ती शिविर आयोजना गरेको थियो । ७० वर्षसम्म मान्छेको भीडभाड नदेखेकी कुकमायालाई नागरिकता नबनुन्जेल त्यहाँ बस्न निकै सकस भएको थियो । कपाल जिङग्रिंग भएकी र कालो रङको फरिया मात्र लगाएकी कुकमायालाई हेर्नेको संख्या बढ्दै गएपछि उनी आत्तिन्थिन् । ‘मेरी आमा पुल तर्न मान्नुहुन्न, ठूलो मान्छेको खालमा पनि बस्नुहुन्न, कि घर, कि पखेराबाहेक अहिलेसम्म आमाले अरू देख्नु पनि भएको छैन,’ दीपकले भने ।
३५ वर्षदेखि कुकमाया शरीरमा पूरा कपडा पनि लगाउन मान्दिनन् । बिहीबार उनलाई प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको हातबाट नागरिकता वितरण गरियो । नागरिकता समात्न नमानेपछि उनलाई बिस्कुट दिएर फकाउनुपर्यो ।
नागरिकता नहुँदा उनले वृद्धभत्ता पाउन सकेकी थिइनन् । नागरिकता बनाउँदा हुने फाइदा थाहा नपाउँदा चेपाङ समुदायका कतिपय वृद्धवृद्धाले नागरिकता नबनाउने गरेको ताङलीचोक गाविसका सचिव सूर्यबहादुर बरालले बताए ।
बिहीबार घुम्ती शिविरबाट ३२ जनाले नागरिकता बनाए । तीमध्ये अधिकांश चेपाङ समुदायका थिए । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्