१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


कञ्चनपुरमा भारतीय नम्बर प्लेटका सवारी साधनमा रोक


0
Shares

बिहीबार भारतीय सुरक्षाकर्मीको गोलीबाट एक जना नेपाली मारिएपछि असहज परिस्थिति सृजना भएको भन्दै दैनिक रुपमा सीमावर्ती क्षेत्रमा आउने भारतीय नम्बर प्लेटका सबै सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको हो ।

सीमा नाका गड्डाचौकी, दोधारा चाँदनी, ब्रह्मदेव, बेलौरी, पुनर्वासलगायतका सीमा नाकाबाट सवारी साधन आवागमनमा रोक लगाइएको हो ।

बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका ८ को सीमावर्ती क्षेत्र आनन्द बजारमा कल्भर्टको विषयमा स्थानीयले गरेको प्रदर्शनमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक जना नेपाली मारिएका थिए ।

सोही घटनाबाट आक्रोशित विभिन्न दल र भ्रातृ संगठनले बिहीबार साँझ घटनाविरुद्ध विरोध र्‍याली समेत निकालेका थिए भने भारतीय नम्बरप्लेटको एउटा मोटरसाईकलमा आगजनी र चारवटा सवारी साधन तोडफोड गरेका थिए ।

उता, सीमावर्ती क्षेत्रमा पर्ने भारतको बनवासा बजारमा म १ प ४१०९ नम्बरको मोटरसाईकल भारतीय पक्षले तोडफोड गरेका छन् ।

सीमाक्षेत्रबाट भारत प्रवेश नगर्न नेपाली सवारीसाधनलाई प्रहरीले आग्रह गरेको छ । उक्त घटनाको विरोधमा शुक्रबार ७ नम्बर प्रदेश बन्द आह्वान गरिएको छ ।

बिहानैदेखि विभिन्न पार्टीका भ्रातृ संगठनहरुले भारतविरुद्ध प्रदर्शन गरेका छन् । बन्दका कारण कुनै सवारी साधन चल्न सकेका छैनन् । बजार व्यवसाय, शिक्षण संस्था र सरकारी कार्यालयसमेत पूर्ण रुपमा ठप्प भएका छन् ।