Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


हेलिकोप्टर दुर्घटनाः चारको पशुपति आर्यघाटमा दाहसंस्कार


0
Shares

काठमाडौं, फागुन १७ । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका चारजनाको आ–आफ्नै विधि, परम्परा र संस्कृतिअनुसार शुक्रबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो आर्यघाटमा दाहसंस्कार गरिएको हो ।

दिवंगत उपसचिव दाहालको पार्थिव शरीरमा उनका दाजु देवराज दाहालले दागबत्ती दिएका थिए ।

श्रद्धाञ्जलि अर्पण गर्न नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सरकारको विशिष्ट श्रेणीका पदाधिकारी, निजामती कर्मचारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, नेपाली सेनाका अधिकारी तथा सर्वसाधारणको आर्यघाटमा ठूलो भीड लागेको थियो ।

दुर्घटनामा दिवंगत भएका मन्त्री अधिकारीको शव भने अन्तिम संस्कारका लागि गृहजिल्ला कास्की लगिएको छ ।

यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको भने आइतबार बौद्ध विधिअनुसार टेकु घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

यसअघि, बिहान दिवंगत सातैजनाको शव काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुक, विभिन्न दलका नेता उच्चपदस्थ सरकारी अधिकारी सहभागी भएका थिए ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री रवीन्द्र अधिकारीसहितको सातजनाको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्कनेक्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । रासस