६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


सभामुखलाई समेत पत्तो नदिइ दर्जनौं सांसद विदेश भ्रमणमा


0
Shares

निर्वाचन आयोगले मुलुकलाई प्रतिनिधित्व गर्नेबाहेक अन्य प्रयोजनका लागि कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्ति विदेश भ्रमणमा जान नहुने आचारसंहितामा स्पष्ट गरे पनि दर्जनौं सांसदहरू अध्ययन भ्रमण, गोष्ठी र सेमिनारको बहानामा विदेश घुमिरहेका छन् भने तीन दर्जनभन्दा बढी सांसद संसद्का कर्मचारीसहित विदेश भ्रमणको तयारी गरिरहेका छन् ।

संसद् सचिवालयका अनुसार राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीमगर र सोही समितिका सदस्य माओवादी केन्द्रका सांसद सन्तु दरै सभामुख ओनसरी घर्तीमगरलाई समेत जानकारी नदिई जापान पुगेर फर्केका छन् । जापानको इहिमी विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन सभापति घर्ती र सांसद दरैले संसद् सचिवालयबाट भिसा नोट लेखाए पनि सभामुख घर्तीमगरसँग भ्रमण स्वीकृत गराएका थिएनन् ।

संसद्को महिला, बालबालिका समितिका चार सांसद मंगलबार अमेरिका गएका छन् । सभामुख ओनसरी घर्तीमगरलाई कुनै जानकारी नदिई महिला, बालबालिका समिति सभापति रञ्जु ठाकुर, कांग्रेस सांसदद्वय अतहर कमाल मुसलमान र सरिता प्रसाईं तथा माओवादी केन्द्रकी सांसद अनिता परियार महिला सशक्तिकरणसम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका गएका हुन् ।

यस्तै सभामुख र संसद् सचिवालयलाई कुनै जानकारी नदिई कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितका सांसद कोरिया पुगेर फर्केका छन् । नेपालमा पिस फेडरेसन संस्था सञ्चालन गरिरहेका परिवार दलका अध्यक्ष ढकालकै नेतृत्वमा हालैमात्र कांग्रेसका रामहरि खतिवडासहितका सांसद फिलिपिन्स भ्रमण गरेर फर्केका छन् ।

सभामुख घर्तीमगरले यी दुवै भ्रमणमा को–को सांसद गए र कहिले फर्के भन्नेबारे संसद् सचिवालय र आफूलाई कुनै जानकारी नदिइएको बताएकी छन् ।

यता विकास समिति, अर्थ समिति र अन्तर्राष्ट्रिय समितिका सांसद तथा कर्मचारी पनि यसै साता विदेश भ्रमणको तयारीमा छन् । निर्वाचन आयोगले भने सरकारी स्रोतसाधनको प्रयोग गरेर सांसद र कर्मचारीहरू विदेश भ्रमणमा जानु आचारसंहिताको उल्लंघन भएको बताएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘सांसदज्यूहरू निजी भ्रमणमा जान सक्नुहुन्छ तर राज्यको स्रोतसाधन प्रयोग गरेर विदेश भ्रमणमा जान नपाउने व्यवस्था आचारसंहिताले स्पष्ट गरेको छ । आचारसंहिता पालना गराउन आयोग कटिबद्ध छ ।’

आयोगले बिहीबार मात्रै विज्ञप्ति जारी गरेर आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने स्मरण गराउँदै आचारसंहिता प्रतिकूल आचरण नगर्न सरकार, मन्त्रालय, निकाय, संघसंस्था, राजनीतिक दललगायतको ध्यानाकर्षण गराएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट