Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


‘वाइडबडी’ प्रकरणले पर्यटन मन्त्रालयका सकारात्मक कामपनि ओझेलमा


0
Shares

दीपक श्रेष्ठ र दिलिप पोखरेल (इमेज)

काठमाडौं, फागुन १३ । मन्त्री रवीन्द्र अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि धेरैले अब यस क्षेत्रमा राम्रो काम हुने अपेक्षा गरेका थिए ।

युवा जोस भएका र यसअघि संसदीय समितिमा रहँदा प्रभावकारी छाप छाड्न सफल अधिकारी मन्त्रीमा नियुक्त भएपछि भने निकै ठूलो विवादमा परे ।

मन्त्री अधिकारी नेतृत्वको मन्त्रालयले पर्यटन तथा नागरिक उड्ययनका क्षेत्रमा केही सकारात्मक काम गरेको भएपनि नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरणमा भने निकै ठूलो विवाद सिर्जना भयो ।

संसदको सार्वजनिक लेखा समितिअन्तर्गत्को उपसमितिले बाइडबडी विमान खरिदमा ४ अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको र त्यसमा मन्त्री अधिकारीपनि संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेपछि विवाद भएको हो ।

मन्त्री अधिकारीले बाइडबडी विमान खरिदका विषयमा झुटो बोलेको भन्दै चर्को आलोचनापनि भयो ।

सो प्रकरण छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको भएपनि त्यो बीचमै सेलायो । अहिले यो प्रकरणबारे अख्तियारलेसमेत छानबिन गरिरहेको छ ।

मन्त्री अधिकारीले एक वर्षभित्र पर्यटन तथा नागरिक उड्ययनका क्षेत्रमा केही सकारात्मक कामको सुरुआत भने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित गर्दै दैनिक २२ घन्टा उडान भर्ने वातावरण मिलाइएको छ । यो विमानस्थललाई ‘बुटिक’ बनाउने अभियानपनि जारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पकारुपमा भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्यलाई तिव्रता दिइएको छ ।

बाराको निजगढमा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई अघि बढाइएको छ ।

मुलुकका अन्य विमानस्थलको स्तरोन्नति र नयाँ विमानस्थल निर्माणको कामलाई द्रुतगतिमा अघि बढाइएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

सरकारले सन् २०२० लाई ‘नेपाल पर्यटन भ्रमण वर्ष’कारुपमा मनाउने घोषणा गरिसकेको छ । यो वर्ष २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । सोहीअनुसार मन्त्रालयले आफ्नो कार्ययोजना अघि बढाएको छ ।

सन् २०१८ मा १२ लाख पर्यटक भित्र्याइसकेको मन्त्रालयको तथ्यांक छ । पर्यटन प्रवद्र्धन गर्दै २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गराउने दिशामा मन्त्रालय अग्रसर रहेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

२०७२ सालमा गएको शक्तिशाली भूकम्पले क्षति पुर्‍याएका कतिपय सम्पदाको पुनःनिर्माण भइसकेको र कतिपयको पुनःनिर्माणलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्री अधिकारीसँग अझै धेरै चुनौती बाँकी छन् । बाइडबडी विमान खरिदमा आफ्नो संलग्नता नरहेको पुष्टि गराउनुपर्ने चुनौती उनमा छ ।

त्यसैगरी, सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनापनि कम चुनौतीपूर्ण छैन ।

पर्यटनका लागि पूर्वाधार विकास र प्रचार–प्रसार नगरी नारामामात्र नेपाल भ्रमण वर्ष सीमित भएमा त्यो उनका लागि नै प्रत्युत्पादक बन्नसक्छ ।

त्यसैगरी, नेपाली विमानलाई युरोपेली आकाशमा उडान भर्न लामो समयदेखि प्रतिबन्ध कायमै छ । त्यो प्रतिबन्ध हटाउन अब मन्त्री अधिकारीले पहल गर्नुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्