७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


गृहमन्त्रीद्वारा ‘संसदको अपमान’, देखाए यस्तो ‘हर्कत’


0
Shares

संसदमा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष सबै दलका सांसद बस्नुपर्ने संसद्को नियममा व्यवस्था छ ।

तर, सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी निधिले बिहीबारको संसद् बैठकमा अनौठो शैलीमा भाग लिए । विपक्षी एमालेले सांसद सत्यनारायण मण्डलको घरमा भएको घटनाबारे प्रश्न उठाएपछि त्यसको जवाफ दिन निधि संसद पुगेका थिए ।

सांसदहरूले शून्य समयमा बोल्ने क्रम सकिएपछि सभामुख ओनसरी घर्तीमगरले गृहमन्त्रीले बोल्नका लागि समय मागेको भन्दै निधिलाई रोस्ट्रममा बोलाए ।

बैठकमा उपस्थित नै नभएका गृहमन्त्रीलाई समय दिएको भन्दै सांसदहरू सभामुख आसन र सरकारका लागि छुट्याइएको कुर्सीतिर हेराहेर गर्न थाले ।

त्यहीबीच गृहमन्त्री निधि मूलढोकाबाट फटाफट बैठकमा प्रवेश गरी सिधै रोस्ट्रममा पुग्नुभयो र निर्वाचनका लागि सुरक्षालगायत एमालेले उठाएको घटनाबारे जवाफ दिए ।

जवाफ सकिएपछि गृहमन्त्री निधि मन्त्रीलाई तोकेको स्थानमा नबसी सिधै बाहिरिएपछि सांसदहरू मुखामुख गर्न थाले ।

‘संसदमा उपस्थित नै नभएको अवस्थामा गृहमन्त्रीलाई किन सभामुखले समय दिनुभयो भन्ने हामीलाई लागेको थियो,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने ‘संसद्मा आजसम्म कहिल्यै नभएको शैली पो अपनाउनुभयो ।’

संसद् नियमावलीको नियम (३) मा भनिएको छ, ‘प्रत्येक सदस्यले सभामुखद्वारा निर्धारित क्रम र स्थानमा आ–आफ्नो आसन ग्रहण गर्नुपर्छ ।’

तर, निधिले भने मन्त्रिपरिषद्को वरीयता विवाद देखाउँदै संसदमा पनि सभामुखले तोकेको आसनमा बस्न इन्कार गर्दै आएका छन् ।

सभामुखले नबोलाउँदासम्म गृहमन्त्री निधि बिहीबार संसद्को ढोकामा उभिएका थिए । सभामुखले बोलाएपछि मात्र बैठकमा प्रवेश गरी सिधै रोस्ट्रममा पुगेर जवाफ दिएपछि सिधै बाहिरिएका थिए । -अन्नपूर्ण पोष्ट दैनिकबाट