कुपोषित दाजुभाइ, खानेकुरा नभएपछि टोलाइरहन्छन् घरमा « Image Khabar


कुपोषित दाजुभाइ, खानेकुरा नभएपछि टोलाइरहन्छन् घरमा


Imagekhabar
८ जेष्ठ २०७४, सोमबार १५:२७

बाबु श्यामलाल विक मजदुरीका लागि घरबाट निस्केपछि नफर्कुन्जेल बन्द कोठमा एकोहोरिएर सुतिरहन्छन् उनी । ओछ्यानमै दिसापिसाब गर्छन्, भोकप्यास लागेपनि उनलाई खान दिने न कोही हुन्छ न त खाने कुरा नै हुन्छ ।

दाजु विकास विवेकभन्दा १ वर्ष मात्र जेठा छन् । भाइलाई कोठामै राखेर घरको ढोका बन्द गरी बुबा गएपछि विकासपनि बाहिर धुलो र ढुंगालाई साथी बनाएर दिनभरि खेलिरहन्छन् । बाबु समयमै घरमा आए खान पाउँछन नत्र उनी पनि दिनभर भोकभोकै हुन्छन् ।

चालिस वर्ष उमेर पुगिसकेका श्यामलालले ४ वर्षअघि स्थानीय मिझिङकी अप्सरा कामीसँग विवाह गरे । वर्षौटे दुई छोरा जन्मिएपनि आर्थिक समस्याका कारण राम्रोसँग स्याहार गर्न नसकेकाले दुवै छोरालाई कुपोषण भयो । विभिन्न निकायको सहयोगमा कुपोषित छोरालाई शिशुस्याहार केन्द्र दाङमा लगी भर्ना गरे । पोषण पुनः स्थापना केन्द्रमा दुई महिना बसेका उनीहरु केही पोषित भएपछि श्यामलाल घर फर्किदा श्रीमती भने घरमा थिइनन् ।

श्रीमतीका वारेमा लामो समयसम्म खोजी गर्दा कसैले काठमाडौं ईंट्टा भट्टा गएको सुनाए भने कसैले पोइल गई भने तर म भने छोराहरुको मायाले एक दिन पक्कै आउली भनेर बाटो हेरिरहेँ तर चार महिना बितिसक्दासमेत श्रीमती नफर्केको उनले गुनासो गरे ।

यी छोरालाई स्याहार गर्ने कि ज्याला मजदुरी गरेर खाने, घरमा अरु कोही छैनन् । काममा जाँदा छोराहरुको स्याहार गर्ने मान्छे हुँदैन सुनारले गम्भीर हुँदै भने । नगरपालिकाले दलित बालबालिकाको पोषण सुधारका लागि मासिक रु २०० भत्ता दिने गरेकाले दुई छोराको भत्ताबाट केही दिन जुगारा चले पनि बाँकी दिनका लागि भने मजदुरीमै भर पर्नुपर्छ ।

बालबालिकाको ८० प्रतिशत दिमागको विकास २ वर्षमै भइसक्ने भनिएपनि अल्पआहारका कारण विवेक सुस्त र विकास भने कम सुस्त छन् । रासस

प्रतिक्रिया दिनुहोस्