महाभारतकी कुन्ती-१४ « Image Khabar


महाभारतकी कुन्ती-१४


Imagekhabar
९ जेष्ठ २०७४, मंगलवार ०७:२४

-हरिविनोद अधिकारी

एउटा साम्राज्याधिपतिको आदेशमा सानो राज्यकी राजकुमारीले जन्मान्ध राजकुमारसँग बाध्यतावश विहे गरेको कुराले उहाँमा एउटा अदम्य साहस र जीवनलाई हेर्ने शून्यताको विकास भएको मैले पाएकी छु । कस्तो शून्यता भने जीवन केही पनि होइन भन्ने एकातिर भने अर्को बलियो राज्यका लागि साना र कमजोर राज्यले कस्तोसम्मको बलीदान दिनुपर्ने भन्ने उदाहरण उहाँ नै हुनुभयो । पिताजीले आफ्नी सुकोमलाङ्गी राजकुमारीलाई एउटा चक्रवर्ती राजाको दाजुलाई सुम्पनु परेको थियो । जन्मान्ध, कहिले राजा हुन नपाउने तर बिहे गर्नका लागि बाध्यतावश कुमारी छोरी सुम्पनै पर्ने । त्यो पनि हस्तिनापुरसम्म नै पुर्‍याएर सुम्पनु पर्ने । विवाह गरेरमात्र फर्कनु पर्ने । दाजु शकुनिमा त्यही तुस पलायो र कुरुवंशको नाश गर्नका लागि कम्मर कसेर लाग्नु भयो, आफू पनि सिद्धिनु भयो र हाम्रो वंशलाई पनि सखाप पार्नुभयो । दैवको लीला कसले पो जान्ने र ?

यदि गान्धारी दिदीमा राज्यप्रति निरपेक्ष भावमात्र हुँदो हो भने पहिलो सन्तानकी राजमाता हुने लोभ जाग्दैन थ्यो । अहिले म यहाँबाट देखिरहेकी छु, दिदी अनजान हुनुहुन्छ, जेठाजुको यज्ञमण्डपबाट आगो फैँलँदै हामीहरुसम्म आएको छ र अब हामी बाँच्ने कुनै सम्भावना छैन र पनि उहाँहरुको मनमा सन्तान ताप र त्यसको गुह्य कारण भीमसेन नै हो भन्ने मैले बुझेकी छु । आखिर भीमसेन पनि त मेरै कोखबाट जन्मेको हो जस्तो कि दुर्योधन उहाँको कोखमा पालिएको थियो दुई वर्षसम्म । आखिर राज्य प्राप्तिका लागि यी सबै पाप भएका थिए । चाहे पाण्डवले गरुन् या कौरबले गरुन् ।

मैले गुप्तचरसँग पाण्डु महाराजले कुरा गरेको सुनेकी थिएँ-हस्तिनापुरमा छिटै नयाँ राजकुमारको जन्म हुँदैछ । सायद त्यसैले होला, पाण्डु महाराजलाई पनि छिटै युवराजको जन्म आवश्यक भएको थियो क्यार र मलाई छिटोभन्दा छिटो छोरो पाउन ताकिता लगाउँदै हुुनुहुन्थ्यो । कस्तो विडम्बना, स्वयं महाराज छोरा जन्माउन सक्षम नभएजस्तो अनि छोराचाहिँ छिटै चाहियो रे । यता दिदीलाई पनि लागेको थियो होला , पहिलो सन्तान जस्को हुन्छ, त्यसैको अधीनमा भारत वर्ष हुनसक्छ । एकातिर स्वयं जेठाजु र पाण्डु महाराज कुरुवंशी नहुनु अनि राज्य अरु कसैलाई दिने कुराको पनि कुनै तयारी नहुनुले एउटै कुरा पुष्टि हुन्थ्यो-जसको भए पनि पहिलो सन्तान नै भावी चक्रवर्ती हुनेछ । मेरो वा दिदीको वा माद्रीको । विदुरको कुरै भएन किनभने विदुरलाई पहिले नै शूद्रको गणनामा राखिएको थियो ।

तर एउटा अचम्भ के भयो भने दिदीको पेटमा बच्चा छ भनेको दुई वर्षसम्म पनि कुनै बच्चा जन्मिएन जबकि हतार हतारमा मैले नियोग गर्दै दुईओटा छोरा जन्माइसकेकी थिएँ । धर्मराजसँगको सहबासबाट युधिष्ठिर र वायुसँगको सहबासबाट भीमसेन । गुप्तचरको सूचना पाएर नै दिदीमा एउटा नैराश्यता देखियो र कि मेरो पेटबाट किन बच्चा जन्मँदैन ? कारण थियो–जस्तै भए पनि अब पाण्डुका छोराहरुले आफ्ना बाबाको राज्य यथावत चलाउने भए । सबैलाई यो कुरा त थाहा नै थिएन कि पाण्डुजस्तो वीर्यवान राजा सन्तानोत्पादनमा अक्षम हुनुहुन्छ । कुरो त मृगको स्वरुपमा रहेका ऋषिपुत्रको मैथुनरत अवस्थामा भएको हत्याको हो र त्यसपछिको श्रापको हो । तर मलाई पनि लाग्छ, महाराजले आफ्नो सन्तानोत्पादनमा देखिएको कमीलाई एउटा न एउटा कारण बनाएर राज्यबाट पन्छिन चाहनु भएको रहेछ ।

सन्तान नजन्मने कुरा उहाँलाई मात्र थाहा थियो जस्तो लाग्छ । हुन त राजमातालाई यो कुरा उहाँका पुत्र अर्थात् व्यासले बेलैमा भन्नुभएको थियो रे । उहाँको व्यवहारले नै त्यही देखाउँथ्यो । तर त्यो कुरा गोप्य नै रहेछ । कतिसम्म भने हामी दिदी बहिनी म र माद्रीसमेत यो कुरोमा अनभिज्ञ नै रह्यौँ । त्यसैले दिदीलाई र जेठाजुलाई लागेको थियो कि पहिलो सन्तान यदि उहाँहरुको जन्मियो भने त्यही नै चक्रवर्ती हुनेछ । दिदीमा जुन अव्यक्त कुण्ठा थियो–भारत वर्षको राजामा ,चक्रवर्तीमा परिवारको जेठो छोरो जेठाजुलाई राज्याभिषेक नगराएकोमा सन्तानलाई महाराजाधिराज बनाउने । त्यही नै एउटा आशामा उहाँको जीवन अगाडि बढेको थियो । तर दिदी चतुर र विवेकी हुनुहुन्थ्यो । कुरुवंशको पक्षमा बोल्नु हुन्थ्यो र लाखौँ वर्षसम्म भारतमा कुरुवंशको राज्य चलोस् भन्ने चाहनु हुन्थ्यो । एउटा राजमातामा त्यो भावना हुनु स्वाभाविकै हो र भावी राजा पनि मेरै रगतबाट नै निरन्तररुपमा होस्, छोराहरु वनवासमा हुँदासमेत भावी जीवनको वारेमा सोच्दा त्यसै कुतकुती लाग्थ्यो र छोराहरुले राज्य चलाएको कल्पनाले त्यसै गदगद हुन्थेँ । मन त कुँडिन्थ्यो तर लाग्थ्यो सधैँ-लडार्इँ नभैदिए हुन्थ्यो तर सपनामा म सधैँ छोराहरुले दुर्योधनहरुलाई चुनौती दिएको देख्थेँ अनि भीमसेनले गदा युद्ध गरेर दुर्योधनलाई जितेको देख्थेँ । भीमसेनको कडा शपथ सम्झन्थेँ दुर्योधनका सय भाइ सबैलाई म एक्लै मार्छु । फेरि लाग्थ्यो सँगै हुर्केका भाइहरुलाई कसरी मार्न सक्ला होला ?

तर कसरी लड्लान् भन्ने कल्पनाचाहिँ गर्न मलाई अप्ठेरो लाग्थ्यो किनभने उनीहरुले गदा युद्ध गरेको मैले कहिले पनि देखेकी थिइँन । अरुले खेलेको त देखेकी थिएँ तर छोराहरुले भने हतियार चलाएको खासै देखेकी थिइन । रङ्गशालामा खेलिने खेल भनेको नमुनाका लागि हुन्थ्यो र त्यहाँ कसैलाई मार्ने काम हुँदैनथ्यो । कसरी वाण चलाउने, कसरी गदा खेल्ने र कसरी हात्ती, घोडामा बसेर शत्रुसँग लडाईँ गर्ने भन्ने मात्र हुन्थ्यो । हामी दिदी बहिनी त्यसो त पाण्डु महाराजसँग लडाईँमा जान्थ्यौँ तर हामीलाई युद्धमा लगिँदैनथ्यो, सुरक्षितसँग शिविरमा राखिन्थ्यो । हतियारका वारेमा त हामीलाई जानकारी थियो तर चलाउन पनि आउँदैनथ्यो र साँच्चै भनुँ भने हतियार चलाएको पनि नजिकबाटै देखेकी थिइँन मैले त्यो बेलासम्म । हाम्रो ब्रजमा त सामान्यतः गाईको पूजा हुने भएकाले गाईको रक्षाका लागि मात्र सुरक्षाको प्रवन्ध हुने गर्दथ्यो । पछि कंश र जरासन्धको सेनासँग लड्नु पर्दा हतियारको पनि विकास गरिएको भनेर भन्थे । खासगरी महिलाले खुलारुपमा शिक्षा ग्रहण नगरिने भएकाले वेद पढ्न वर्र्जित पनि थियो र त्यसो हुँदा हतियार सञ्चालनका लागि धनुर्वेदको अध्ययन गर्न पाइएन । नत्र शिक्षाको कुरा गर्दा वेद त अनिवार्य नै हुन्थ्यो ।

हतियारका कुरा गर्दा शिक्षाको ६४कला सिक्दा नै कसरी कस्ता हतियार चलाउने भन्ने व्यावहारिक शिक्षा दिइन्थ्यो भनेर बारम्बार द्रोणाचार्यले भनेको मैले सुनेकी थिएँ । त्यही कुरा दुर्वासा ऋषिका शिष्यहरुले पनि भन्थे पहिले , त्यो बेलामा खासै वास्ता भएन । पछि जब आफ्ना छोराहरुलाई पाण्डु महाराजको आदेशमा आश्रममा पढाउनु पर्‍यो र पछि उहाँको स्वर्गवास भएपछि हस्तिनापुरमा शिक्षा दिलाउनु पर्‍यो, अनि मलाई साँच्चै शिक्षाको महत्व थाहा भयो । जहिले पनि कृपाचार्य र द्रोणाचार्यले मलाई भेट्ने बित्तिकै भन्ने कुरा भनेको छोराहरुको अनुशासनको पक्ष नै हो । सबै अनुशासित र कर्तव्य परायण थिए रे । तर पनि जेठो छोरो युधिष्ठिरको धर्म परायणता, माहिलो भीमसेनको कर्तव्य परायणता , साहिँलो अर्जुनको लगनशीलता , काहिँलो नकुलको एकाग्रता र कान्छो सहदेवको सहनशीलता प्रशंसनीय नै मानिन्थ्यो रे गुरुहरुका बिचमा । तर पनि माहिलो भीमचाहिँ अलि बलियो भएकाले सयभाइको थिचोमिचोलाई एक्लै चुनौती दिने काम गथ्र्यो रे । तर पनि जेठाजुका छोराहरुमध्ये विकर्ण र युयुत्सुलाई भने साह्र माया गथ्र्यो रे । खोइ किन हो , त्यही असल भाइ विकर्णलाई पनि मारेछ भीमले । सायद राजनीतिको यो पाटो बुझ्न मलाई समयले मौका नै दिएन ।

यत्तिबेर आएर मैले किन झुठो सम्झने र ? परिवारमा होस् कि समाजमा होस् या व्यक्तिगतरुपमा कसैलाई नभन्दा पनि कसैको पक्षमात्र लिएर बस्नु वा विपक्षमात्रमा लागेर बस्नु भनेको साह्रै मुस्किल हुने रहेछ । पक्ष पनि कुने विषयमा हुने रहेछ र विपक्ष पनि कुनै विषयमा हुने रहेछ । सम्झन्छु अहिले द्रौपदीको चीरहरणको बेलामा किन कोही पनि बोलेन त बुहारीको चीरहरण गर्नु हुँदैन भनेर ? या कुनै पनि दासीलाई समेत सार्वजनिक स्थलमा नाङ्गी पार्नु भनेको हाम्रो ब्रजमा होस् कि भारतमा होस् , अत्याचार नै हो र असामाजिक काम नै हो । किन दुर्योधनले त्यसो गर्न चाह्यो ? किन त्यसमा कर्णको पनि चासो रह्यो ? किन दुःशासनले त्यसमा बढी नै सक्रियता देखायो अनि जेठाजुमा पनि त्यो अपराध गर्नु हुँदैन भन्ने भावना किन त्यतिबेर पलाएन ? वरु विकर्णले विरोध गरेकै हो । भाउजु भनेकी यही दरबारकी बुहारी हुन्स्व, तन्त्र देशकी एउटी सार्वभौम रानी हुन् र यही कुलकी विवाहिता बुहारी हुन् । कसैलाई त सार्वजनिकरुपमा नंग्याउन पाइँदैन भने झन पर सरेर बसेकी रानीलाई सार्वजनिकरुपमा सभामा ल्याएर प्रदर्शन गर्नु हुँदैन भनेकेो थियो ।

खोइ किन हो , भीष्म पितामह पनि चुप, द्रोण पनि चुप, दिदीलाई यो अचानक विकास भएको कुराको सायद कुनै जानकारी पनि थिएन किनभने पाण्डवका विरुद्ध गरिने सबै षडयन्त्रमा दिदीलाई कसैले पनि जानकारी दिँदैनथे, त्योचाहिँ मलाई थाहा छ । तर द्रौपदीले कसो कृष्णलाई सम्झेर सहायता मागेकीले उसको लाज बच्यो । भन्न त भन्थे मानिसहरु कि मेरो भदाहा साह्रै दयालु छ र जसलाई गाह्रो पर्छ ,उसलाई सहयोग गर्न सदैव तयार हुन्छ । अझ भन्नेले त के पनि भने भने यो सबै उसैको चर्तिकला हो , लीला हो र सबै थाहा थियो रे उसलाई । त्यस्तो कुरा व्यासले पनि लेख्नु भएको थियो रे गणेशमार्फत् भन्थे । हो कि होइन थाहा भएन । तर लाग्थ्यो व्यासलाई सबै पहिले नै थाहा थियो , नत्र किन मलाई पहिले नै भन्नु हुन्थ्यो आखिर कुन्ती , तिम्रै सन्तानले नै भारतवर्षका राज्य गर्नेहुन् धेरे पछिसम्म । खोइ पछि त के गर्लान्अहिले त मेरै सन्तानले राज्य गरिरहेका छन् । एउटा प्युसो छ सुभद्राको नाति, त्यसले त राज्य गर्ला नि पछि मेरा छोराहरुको सेखपछि ।

फेरि मेरो मनमा त्यही चीरहरण आयो । कृष्णले बचायो । लाज बच्यो । लाज बच्यो भन्दा पनि नियतको कुरा हो । के द्रौपदीको स्वयंवरको तुस बाँकी थियो त ? द्रौपदीलाई पाँच भाइले भोग्नु हुन्छ भने हामी सय भाइले पनि किन भोग्नु हुँदैन भन्ने तुस पनि पो बाँकी थियो कि ? कृष्णले कर्णलाई फकाउँदा पनि त्यही भनेको थियो रे-कर्ण, तपाईँ आफ्ना भाइहरुसँग मिल्नु भयो भने द्रौपदीको एउटा मालिक त तपाईँ पनि हुनुहुनेछ । त्यसमा त कर्णले केही भनेन रे तर पाण्डवसँग मिल्ने कुरामा आफ्नो पक्का सहयोग गर्ने बचनले अवरोध गरेको चाहिँ भन्यो रे । म मेरो पक्षमा उभिने एउटा मात्र सिपाही हुँ आफैँ कृष्ण भन्यो रे । त्योचाहिँ मेरो इमान जमान र वचन हो भन्यो रे । मेरो ढाढस र क्षमताको बलमा दुर्योधन पाण्डवसँग लड्न तयार छ, कृष्णसँग शत्रुता गर्न तयार छ, भीष्म पितामहसँग जुध्न तयार छ । अरु त अरु माता गान्धारीलाई समेत आफूले जित्ने पक्का भनेर भनेको छ , त्यसैले मलाई लोभ नदेखाउनुस् , बरु मलाई इमान्दार हुनका लागि आशीर्वाद दिनुस् । तपार्इँलाई सबै कुरा थाहै छ वर्तमान र भविष्य । क्रमशः

 

प्रतिक्रिया दिनुहोस्