
मतगणनाको प्रारम्भमा देखिएको कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा मतगणनाको अन्तिमतिर आइपुग्दा पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमालेले सबैभन्दा बढी स्थानमा जित्ने स्पष्ट भएको हो ।
अहिलेसम्म घोषित २ सय ७४ स्थानको मतपरिणाम अनुसार नेकपा एमालेले १ सय १८ स्थानमा जित हासिल गरेको छ । यसैगरी नेपाली कांग्रेसले १ सय ३ स्थानमा जित हात पार्दा माओवादी केन्द्रले ४६ स्थानमा जित दर्ता गरेको छ ।
नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक-एक स्थानमा जीत हात पारेका छन् । त्यसैगरी तीन वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
परिणाम अनुसार नेकपा एमालेले नगरपालिकाको प्रमुखमा ४५ स्थान र गाउँपालिकाको प्रमुखमा ७३ स्थान जितेको छ ।
नेपाली कांग्रेसले नगरपालिकाको प्रमुखमा २८ स्थान र गाउँपालिकाको ७४ स्थान जितेको छ । माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा ९ स्थान र गाउँपालिकाको ३७ स्थान जितेको छ ।
पछिल्लो परिणामअनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी भएका छन् । खरेलले १३ हजार ३ सय ४६ मत पाएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु श्रेष्ठले ९ हजार ९ सय २७ मत प्राप्त गरे । उपमेयरमा पनि एमालेकै रमा राईले १३ हजार १ सय ८८ मत प्राप्त गरी विजयी गरे ।
काठमाडौंकै कागेश्वरी–मनोहरा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार कृष्णहरि थापा विजयी भएका छन् । यस्तै उपमेयरमा एमालेकै विन्दु सिंखडा निर्वाचित भइन् ।
प्रतिक्रिया दिनुहोस्