Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


राजपालाई संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले राखे तालमेल प्रस्ताव


39
Shares

राजपा नेता महन्थ ठाकुरको सानो ठिमीस्थित निवासमा बिहीबार दिउँसो फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारले यस्तो प्रस्ताव गरेका हुन् ।

उनीहरुले मधेसी माग बमोजिम संविधान संशोधन गर्न सरकारले आफ्नो तर्फबाट सबै शक्ति लगाए पनि मतदान हुने घडीमा दुई तिहाई बहुमत पुग्न नदिन चलखेल भएको बताउँदै अब चुनावमार्फत् राजनीतिक एजेन्डा स्थापित गर्नुको विकल्प नभएको भन्दै ठाकुरलाई ‘जिम्मेवार निर्णयका लागि’ आग्रह गरेका हुन् ।

‘राजपालाई सँगै मिलेर चुनावमा जाऔं भनी आग्रह गर्न गएका हौं, संसदको अहिलेकै स्थितिमा हामीले मागेको संविधान संशोधन कठिन रहेको यथार्थ बुझिसकेपछि अब के गर्ने भन्नेमा स्पष्टता चाहिन्छ,’ फोरम अध्यक्ष यादवले भने, ‘उहाँ (ठाकुर) ले आफ्नो एकीकृत नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता नभएको, चुनाव चिह्न नपाएको मूख्य समस्या राख्नुभयो ।’

कामचलाउ सरकारका उपप्रधानमन्त्री गच्छदारले चिह्नबारे एकपल्ट आयोगसँग कुरा गर्न सकिने विकल्प सुझाएका थिए । पहिलो चरणको चुनाव भइसकेको अवस्थामा तत्काल नयाँ चिह्न नपाए राजपा एकता अघिका ६ घटकमध्ये कुनै दलको चिह्न लिएर लड्ने विकल्पबारे पनि भेटमा छलफल चलेको थियो ।

वैशाख ७ गते एकीकृत राजपाले नयाँ चिह्न मागे पनि ढिला गरी प्रस्ताव गरेको भन्दै आयोगले दिएको छैन । ठाकुरले संविधान संशोधन अझै पनि मधेस आन्दोलनको बटमलाइन रहेकाले अहिलेकै अवस्थामा त्यसलाई छाडेर चुनावमा जान कठिन हुने जवाफ दिएका थिए ।

राजपा नेता जितेन्द्र सोनलका अनुसार यथास्थितिमा चुनावमा जान सकिने सम्भावना नरहेको दलको अडान छ । –कान्तिपुर दैनिकबाट