२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै


0
Shares

उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्न लागिएका कारण अब उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण हुने र उद्योग प्रदूषणरहित हुने भएको हो ।

भारतबाट उद्योगमा प्रदूषण नियन्त्रण गर्ने झन्डै रु तीन करोडको मेसिन खरिद गरेर ल्याउने तयारी भइरहेका कारण अब एक दुई महिनाभित्र नै उदयपुर सिमेन्ट उद्योगमा मेसिन जडान गर्ने तयारी भएको सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल बताउँछन् ।

उद्योगले हाल प्रतिघन्टा दुई टन धुलो र धुवाँ फाल्ने गरेकाले उद्योग र यसका क्षेत्र वरपरसमेत प्रदूषण बढ्दै गइरहेका कारण पनि अब मेसिन जडान गरेर उद्योगबाट हुने प्रदूषण शून्यमा झार्ने योजनाका साथ कार्य भइरहेको पनि उद्योगका महाप्रबन्धक पौडेल बताउँछन् ।

धुलो र धुवाँ दुवै नियन्त्रण गर्नका लागि इलेक्ट्रो स्टारिक पावर (इएसपी) मेसिन जडान गर्ने कार्य हुन लागेका कारण उद्योगमा प्रदूषण शून्यमा झर्ने दाबी पनि उद्योग प्रशासनको रहेको छ ।

उद्योग स्थापना भएयता अहिले उद्योगको क्षमताअनुसार दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता बढाइएका कारण पनि अब उद्योण क्षेत्रमा प्रदूषण र धुलो वृद्धि हुँदै गइरहेकाले नियन्त्रण गर्न मेसिन जडान गर्नु अनिवार्य भएको समेत उद्योग प्रशासनले बताएको छ ।

स्मरण रहोस्, वातावरणविद्हरुका अनुसार उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने कार्यमा धुवाँ तथा धुलोसमेत उत्पादन भई उदयपुरको जलजले र त्रियुगा नगरपालिका क्षेत्रमा वातावरण प्रदूषण हुँदै आएको छ । (रासस)