बिग्रेको घडीले नाडीको शोभा दिन्छ तर समय हेर्न काम लाग्दैन « Image Khabar


बिग्रेको घडीले नाडीको शोभा दिन्छ तर समय हेर्न काम लाग्दैन


Imagekhabar
१३ जेष्ठ २०७४, शनिबार ०९:५१

-संजिव कार्की

२० बर्ष पछि भएको स्थानीय निकायहरुको चुनाव जसबाट पहिलो चरणमा २८३ स्थानमा जनप्रतिनिधिहरु चुनिन्छन । १५ बर्षको अन्तरालमा भएको जनप्रतिनिधि बिहिनताको स्थितिलाई चिर्दै पहिलो चरणको चुनाव सम्पन्न भएको र नतिजा करिव करिब आइसकेको एउटा परिस्थिति । यस परिस्थितिबाट चुनाव अनि चुनाबले परिक्षण गरेको जनमत र पार्टीहरुको भूमिका स्थिति अनि जय पराजयको बस्तुनिस्ठ समिक्षा एउटा नेपालीको आँखाबाट हेरौ । पार्टीहरु पहिलो दोस्रो तेस्रो अनि क्रमशः बिभिन्न तहगत श्रेणीमा पुगे तर आधारभूत रूपमा ठूलो जित हारको अवस्था रहेन । चुनाव सवैले लडे, चुनाव जित हारमा पुगे तर कसैले जितेनन् कसैको र कुनै पार्टीको नारा, अडान र विचारले तात्विक भिन्नता र असर पार्ने गरि, देखिने गरि जितहारको स्थिति बनेन ।

विशेष पार्टीको विशेष एजेन्डा र अडानले चुनाब जित्छ भन्ने आम धारणा झन्डै झन्डै गलत नै सावित भयो । हिजो पार्टीहरुको जस्तो र जुन पोजिसन जहाँ थियो त्यस्तै त्यस्तै परिणाम पहिलो चरणको नतिजाले वितरण गर्यो भन्दा राजनीतिशास्त्रमा अतिशयोक्ति नहोला । जनताको विवेकलाई सूक्ष्मतापूर्वक अध्ययन गर्दा जुन विवेक र क्षमता प्रदर्शन गरेका छन् त्यो निश्चयनै प्रसंसायोग्य र चेतनास्तरको उन्नतिको रुपमा बुझ्नुपर्ने हुन्छ । को कति राष्ट्रवादी ? को नक्कली राष्ट्रबादी ? को दलाल अनि को सक्कली राष्ट्रबादी ? असल खाटी नक्कली सक्कली सवै आरोप, लान्छना सो घोषणा सवै बाद र विचारको परीक्षण जनताले संयमता पुर्वक गरे । जनताबाट पहिलो चरणको चुनावबाट जे नतिजा प्राप्त भयो त्यो नतिजाले पार्टीहरुको कर्म अनुसार दण्ड पुरस्कार सचेत र आगामी राजनीतिको संकेत गरेको छ भन्ने मेरो बुझाई छ ।

देश भनेको ढुंगामाटो, रुख, बोट, बिरुवा होइन, निश्चित परिधिभित्र बसेको मानवबस्ती हो । मानव समुह हो । मानवीय भोक तिर्खा सुख, दुःख हो । मानवीय भावना र मानवीय इच्छा । आकंक्षाको एकमुष्ट रुप हो । सम्बोधन हो । माटो केवल माटो हो । माटोको माया जनताको भावना हो । जनताको भावना इच्छा, चाहना र रहर दुःख सुख नै देश हो । देशभक्ति हो । निरेपेक्ष भएर राष्ट्रको माया हुन्न, समय सापेक्ष हुन्छ राष्ट्रको माया र राष्ट्र भक्ति । निरपेक्ष राष्ट्रबादी नारा पनि बिकेन अनि कम सापेक्ष राष्ट्रबाद पनि पुरस्कृत हुन् सकेन । जनताले देशको नाममा अमुर्त राष्ट्रबाद पनि मन पराएनन अनि मुर्तको नाममा देशको अहम र सानालाई झुकाउनेलाई पनि विश्वास गरेनन् । जनताले देसको माया गर्नेलाई मात्र चिनेका छन् । उग्रराष्ट्रबाद, नरमराष्ट्रबाद, जालीराष्ट्रबाद , नक्कली राष्ट्रबाद, मौसमी राष्ट्रबाद, बेमौसमी राष्ट्रबाद, ओरिजिनल राष्ट्रबाद र डुप्लीकेटराष्ट्रबाद सवैको हिसाब किताब जनताले गरे तसर्थ सचेत जनताको विवेकलाई सलाम छ ।

जनताले जे फैसला गरे सन्तुलित विचारित र ब्यबहारिक छ । एमाले पहिलो पार्टी बन्न सक्यो तर चुनाव जित्न चै सकेन । एमालेले आफू ए प्लस को ग्रेडिंगमा पर्ने सपना साकार पार्न सकेन । कांग्रेसलाई चुनाव हराए पनि आफूले जित्न सकेन । केहि संख्याको तलमाथि मात्र हो । जुन फड्को मार्ने एमालेको आंकलन र विश्लेषण थियो त्यो त्रुटिपूर्ण र जनचेतनालाई अन्डरमाइन्ड गरेर गरिएको थियो । शहरमा एमालेलाई जनताले जिताए कै हो कांग्रेसलाई सवक सिकाएकै हो । काठमाडौँ उपत्यकामा करिवन ५० प्रतिशत एमालेले जितेको छ जुन एमालेजनको लागि गर्व गर्ने बिषय र भाषण छाट्ने कुरा हो । सहरिया सुकिला मुकिला वर्गउन्नति भएकाहरु एमालेको पक्षमा देखिनु अनि गाउँ ठाउबाट एमाले घट्नु एउटा कम्युनिस्ट पार्टीको बर्गान्तरण मात्र हो ।

देशभर जहाँ पहिलो चरणको चुनाव भयो र परिणाम प्राप्त हुदैछ झन्डै फाइनल चरणमा छ त्यहाँ एमाले ठूलो मात्र बनेको हो विजेता बन्न सकेको हैन । कांग्रेसले पनि चुनाव नजितेको हो हारेको चैं होइन । कांग्रेस जसरी हतास, उदास र हरुवा मनस्थितिमा सम्भवत पहिलोपटक चुनावी तालमेल गर्न बाध्य भयो यो कांग्रेसको नैतिक पराजय हो । केवल सत्ताको आड भरोसामा रक्षात्मक बनेर चुनाबमा गयो, तालमेलको नाममा जुन शैली र तरिका अपनायो त्यो पक्कै पनि यति ठूलो इतिहास, योगदान र कार्यकर्ता जनताको साथ पाएको पार्टीको लागि शरम र लज्जाको बिषय हो । बुढो मान्छेको आल्कांचो, अल्लारे र केटौलेपन जस्तै हो । आफ्नो क्षमता र जनताको स्तरको अवमुल्यन हो । हल्ला सुने झैँ कांग्रेस नेताले सिद्द्याएको तर जनताले बचाएको पार्टी हो । यति अलोकप्रिय अदुरदर्शी र अप्रिय निर्णय गर्दा गर्दै यस्तो विषम परिस्थितिमा पनि जनताले अझै आश गरेको अजीवको पार्टी हो नेपाली कांग्रेस पार्टी । जनता कांग्रेसलाई आफ्नो ठानेर बचाउन मर्न तयार हुन्छन तर कांग्रेस जनताको यो मायालाई सधै अवमुल्यन गरि रहन्छ । जनताले कति र कहिलेसम्म मति भ्रस्ट कांग्रेसलाई सुध्रने आसमा काखी च्याप्ने हुन् ।

जनताको मनमा रोष उत्पन्न भएपछि कांग्रेसलाई कुनै पनि शक्ति र सामर्थ्यले बचाउन सक्दैनन् यो कुरा कांग्रेसजनले हेक्का राख्न ढिला गरे भने राम राम भनेर चित्त बुझाउनुको बिकल्प हुन्न । जनताको सहि एजेन्डा र सरोकार बोक्ने पार्टी माओबादी केन्द्र हो र भएजस्तो भए पनि यसका अधिकांश नेता कार्यकर्ता खराव र गलत आचरण अनि कुत्सित मनशायका छन् तर पनि जनमत यसको पनि अति कम र विचरा भन्न लायक भने होइन । अझै पनि यो जनमतलाई संरक्षण गरेर प्राय नेता कार्यकर्ता रुपान्तरण भएर जाने हो भने भविष्य अन्धकार नै चै होइन ।

हाम्रो जस्तो कुनै पार्टीको पनि बहुमत नआउने राजनैतिक प्रणालीमा यसको उपस्थिति केन्द्रिय सत्ता बार्गेनिङको धारिलो र कडा हतियार हो । कमल थापाको गाई पार्टी हरियो घाँसमा असमयमा बिकेर अहिले अस्तिव नै संकटमा परेको हुचिल जस्तो बनेको छ । हिन्दुत्व र राजसंस्था प्रतिको अडान सत्ता प्राप्तिको भर्याङ बनाउन खोज्नु नै यस पार्टीको दुर्भाग्यको कारण बन्यो । यसको जस अपजसको भारी ऊ आफैले बोक्दै छ । भूतपूर्व कामरेड बाबुराम पनि नयाँ हुन् खोजे तर बन्न सकेनन् भन्ने कुरा यो चुनावले प्रमाणित गरिदियो । ललितपुर र काठमाडौँमा साझा पार्टीले जुन मत प्राप्त गर्यो त्यो भोलीको उज्यालो अनुहार हो भन्ने कुरा बुझ्न कठिन छैन । यति छोटो समयमा आक्रामक प्रचार नगरिकनै यो सफलता अरु पार्टीको टाउको दुखाइको कारक नबन्ला भन्न सकिन्न । विवेकशिल पार्टीले रन्जु मार्फत जुन धमाका देखायो जुन आक्रामक प्रचार गर्यो त्यसको कदर भएको छ ।

आगामी दिनमा सुस्ताउने या अझ जागरुक भएर रन्जु जस्ता प्रतिनिधि पात्रलाई परिपक्व बनाएर लैजाने यो पार्टीको जाँगर र उत्साहमा अरु कस्तो ? आकर्षक वा विकर्षक स्थान बनाउने जिम्मा यसैको हो । रन्जुप्रति आकर्षित नयाँयुवा पुस्तालाई कति र कसरी समेटन सक्छ निर्भर उसैको शैली र तरिकामा रहन्छ । राजनीतिको नयाँ शैली र प्रयोगलाई आत्मसाथ गरेर देशभरी फैलनु विवेकशील नेपाली पार्टीको चुनौती हो । देशको सबभन्दा ठूलो र दरिलो जनाधार भएको पार्टी संसदमा लगभग हाराहारीमा रहेको प्रतिपक्ष पार्टीले आज जुन स्थान पाएको छ त्यो कामको आधारमा होइन मात्र नाराको आधारमा मात्र हो भन्ने कुरा यो परिणामले प्रस्ट्याएको छ । यदि नारा नबिकेर काम मात्र बिकेको भए एमाले अझ तल झर्ने स्पस्ट देखिन्छ । आफूलाई अकबरी राष्ट्रबादी र अरुलाई देशघाती लम्पसारबादी देख्ने एमालेलाई गम्भीर आत्मसमीक्षा र चिन्तन गर्ने पाठ पक्कै पनि मिलेको हुनुपर्छ । आफ्नो दल केहि ठूलो हुनुको जनमत अनि आफूबाहेक अरुको जनमत पनि हेरेर गम्भीरतापुर्वक चाल चल्न र दोस्रो चरणको चुनावी तयारी गर्न एमालेले तदारुकता देखाउनु जरुरि छ अन्यथा पहिलो हुनको लघु स्मृतिमा, लघु समय रम्नुको मजा मात्र होला ।

सत्ता गठबन्धनमा वर्णित पवित्र अपवित्र गठबन्धनको खेल स्थानीय चुनावी मोर्चा सम्म आइपुग्यो । एकले अर्कोलाई अपवित्र र अप्राकृतिक भनीएको मोर्चाबन्दि केन्द्रिय सत्ता साझेदारी हुदै स्थानीय सत्ता स्वादमा पनि परिणत भयो ियो चुनावले अलि ,अलि , अलिकति बाँकी रहेको राजनीतिक छूत अछूतको घेरा र सीमारेखा लाई मिचिदियो जुन सकारात्मक पक्ष हो । अब एकले अर्कोलाई औल्याएर अप्राकृतिक र अपवित्र गठबन्धनको मतियार र अराजनैतिक अराजकता भन्ने छैनन् जुन स्थानीय निकायहरुको चुनावले दिएको सुखद पाटो हो । अब दोस्रो चरणको चुनाव पछि मात्र यो देशमा कुन पार्टीको कस्तो प्रभाव हार जित को मुल्यांकन गर्न सकिन्छ । देशको यथार्थ तस्बिर उतार्न सकिन्छ । देश कता जाँदै छ प्रगतीउन्मुख हुने हो या पतोन्मुख भएर समस्याको भुमरीमा फस्ने हो ? राज्य गिजोलिने हो या सफाचट भएर आउने हो ?

प्रचण्डले नैतिकताको खडेरी परेको समयमा मेरो राजिनामा इमान जमान र वचनबद्धताको उदाहरण हो भनेर इमान्दार प्रयत्न बोलेका छन । धेरैपटक धेरैजनाले गरेको भद्र सहमति पालन गर्ने बेलामा जहिल्यै खुब बिबादित र आलोचित बन्यो । यस पटक अब बिग्रेको क्षतिग्रस्त भद्र्सहमतिको राजनीति सहि लिकमा आउन खोजेको हो त ? राजनीतिमा इमान फर्काउने प्रचण्ड प्रयत्न अब कोशे ढुङ्गो सावित होला त ? हेरौं कांग्रेसले कस्तो रेस्पोन्स गर्छ । बारम्बार टेस्ट गरिएको बेस्वादिलो र बिबाद्ग्रस्त छवी मार्फत आउँछ या नयाँ पात्र र परिवेसमा नयाँ निर्णय लिन्छ ? जनता नयाँ टेस्ट चाहन्छन भन्नेकुरा कांग्रेसले भूल्यो भने देशको लागि अर्को दुर्भाग्यको शृंखलाबद्ध आक्रमण जनताले झेल्नु पर्नेछ भन्नेमा सचेत नागरिक एकमत छन । समय नदिने बिग्रेको घडि नाडीको शोभाको लागि त केहिहद सम्म सुहाउला तर समय नै हेर्न अर्को घडि खोज्नु पर्यो भने त्यसको के अर्थ ?

प्रतिक्रिया दिनुहोस्