सेन स्मृति दिवसको पत्रकार पुरस्कृत, प्रभातफेरी गरियो « Image Khabar


सेन स्मृति दिवसको पत्रकार पुरस्कृत, प्रभातफेरी गरियो


Imagekhabar
१३ जेष्ठ २०७४, शनिबार १२:३६

प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन र प्रेस सोसाइटीले संयुक्त रुपमा आज बिहान आयोजना गरेको प्रभातफेरी नयाँ वानेश्वरबाट सुरू भएर बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो अवसरमा प्रेस सेन्टर नेपालले प्रदान गर्ने ‘कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ बाट बेपत्ता पत्रकार एवम् तत्कालीन ‘सिन्धुली पोष्ट साप्ताहिक’का सम्पादक चित्रनारायण श्रेष्ठलाई प्रदान गरिएको थियो ।

सेन्टरले बेपत्ता ‘कलम योद्धा’ श्रेष्ठका लागि रू २५ हजारको राशि सहित उनकी जीवनसङ्गिनी सावित्रा श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार छनोटका लागि सेन्टरका उपाध्यक्ष ओम शर्माको संयोजकत्वमा उपाध्यक्ष बलराम थापा र सचिव मनोज घर्ती मगर सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।

कमलामाई–९, ढुङ्ग्रेबास (साबिक), सिन्धुली निवासी ‘सिन्धुली पोष्ट’ साप्ताहिकका तत्कालीन सम्पादक श्रेष्ठलाई प्रहरीले २०५७ जेठ १७ गते सर्लाहीको हरिवनबाट गिरफ्तार गरेको थियो । उनी हालसम्म बेपत्ता छन् ।

त्यसैगरी क्रान्तिकारी पत्रकार सङ्गठनले प्रदान गर्ने ‘कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार’ जनयुद्धका घाइते पत्रकार दीपेन्द्र रावललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रूपैयाँ रहेको छ ।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले हरेक वर्ष इच्छुक दिवस मात्रै मनाउनेभन्दा पनि उनको हत्यामा संलग्न हत्यारामाथि कारवाही हुनुपर्ने माग गरे ।

प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्य, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउने र प्रेस सोसाइटीका वरिष्ठ उपाध्यक्ष केशव अर्यालले ‘इच्छुक’ ले नेपाली पत्रकारितामा पुर्‍याएको योगदानको चर्चा गरे । रासस

प्रतिक्रिया दिनुहोस्