२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फास्ट ट्र्याक निर्माण तीव्रगतिमा अघि बढ्ने, सेनाले काम थाल्यो, सुरुङ पनि बन्ने


0
Shares

काठमाडौं उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमि दुरीको उक्त द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माणकार्य सुरु गरेको छ ।

द्रुतमार्ग निर्माण गर्न कसलाई दिने भन्ने विषयमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले नेपाली सेनालाई उक्त सडक निर्माणको जिम्मेवारी सुम्पिएको हो ।

सो सडक निर्माण गर्न ठेक्का दिने विषयलाई राजनीतिक दलहरुले राष्ट्रियताको मुद्दासँग पनि जोडेर हेर्दै आएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बाराको निजगढको सुरु विन्दुमा विधिवत् शिलान्यास गरेपछि औपचारिक निर्माण सुरु हुने उक्त राजमार्गको निर्माणलागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ ।

ललितपुरको खोकनाबाट सुरु भइ बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको ट्र्याक खोल्ने जिम्मा सरकारले नेपाली सेनालाई २०६६ मा दिएको थियो ।

सेनाले उक्त मार्गको ट्र्याक खोल्ने काममा स्थानीय जनतालाई उच्च प्राथमिकताका साथ संलग्न गराइ उनीहरुलाई फाइदा पुग्नेखाले आयमूलक कार्यक्रमसमेत सन्चालन गरेको थियो । सेनाले उक्त मार्गको ट्र्याक खोल्ने काम २०७० सालको प्रारम्भमै पूरा गरेको थियो ।

यसअघि, उक्त सडक निजी साझेदारी अवधारणामा निर्माण गर्न खोजिएको थियो । निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले यो सडकको महत्वलाई अझ उजागर गर्नेछ ।

उक्त राजमार्गमा साना–ठूला गरी १०० को हाराहारीमा पुल निर्माण गरिनेछ । द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाईमात्र जोड्दा पनि ९ किलोमिटरभन्दा बढी हुने सहायकरथी एवं विकास निर्माण निर्देशक उद्धव विष्टले जानकारी दिए ।

त्यस्तै, मकवानपुरको ठिङगनमा १.४ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

उनले भने–‘आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको पनि सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिइनेछ ।’

यो राजमार्गको निर्माणपछि तराई–मधेसबाट राजधानी आउन दिनभर खर्चनुपर्ने समय घटेर डेढ घन्टामा सीमित हुने अपेक्षा गरिएको छ ।

द्रुतमार्ग निर्माणपछि राजधानीलगायतका क्षेत्रमा ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमामात्र खर्च हुँदै आएको रकममा वार्षिकरुपमा रु १० अर्ब बचत हुने विश्वास गरिएको छ ।

नेपाली सेनाले निर्माण गरेका सडक व्यवस्थित, राजनीतिक हस्तक्षेप कम हुने तथा दीगो र कम खर्चमा छिटो निर्माण हुने निष्कर्षसहित सरकारले द्रुतमार्गजस्तो महत्वकाक्षी आयोजना सेनालाई जिम्मा दिएको हो ।

दायाँबायाँ ५० मिटर दिएर जग्गा अधिग्रहण गरिएको २२ मिटर चौडाई हुने र चार लेनको हुने उक्त राजमार्गको निर्माणले नेपालको वृहत्तर विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस