
काठमाडौंबाट उडेको ‘नाइन एन ए के वाई’ कलसाइन भएको कार्गो विमान अवतरणकाक्रममा रुखमा ठोक्किएर दिउँसो २ बजेर ४ मिनेटमा दुर्घटना भएको हो । रुखमा ठोक्किएर पछारिएको विमान तीन टुक्रा भएको जनाइएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका विमानचालक पारस राईको मृत्यु भएको छ । उनको उपचारकाक्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सहचालक सिर्जन मानन्धर र परिचारिका प्रज्ञा महर्जन घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि स्थानीय पासाङ ल्हामु निकोलनिकी अस्पतालमा भर्ना गरिएको छ ।
घाइतेहरुको उद्धारलगत्तै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको भएपनि मौसम खराब भएका कारण सम्भव भएको छैन ।
उद्धारपछि स्थानीय अस्पताल भर्ना गरिएका उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौं पठाउन भन्दै फेरि विमानस्थल ल्याइएको थियो ।
तर, खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि फेरि फर्काएर स्थानीय अस्पतालमै राखिएको छ ।
मौसममा सुधार आउनासाथ उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्