गोमा एअर दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन « Image Khabar


गोमा एअर दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन


Imagekhabar
१४ जेष्ठ २०७४, आईतवार १८:५८

दुर्घटनाबारे विस्तृत छानबिन गरी ९० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरको आइतबारको निर्णयानुसार आयोग गठन गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

आयोगको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर, सदस्यमा सैनिक हवाई महानिर्देशनालयका महासेनानी, क्याप्टेन आशिष नरसिङ राणा, तारा एअरका वरिष्ठ क्याप्टेन बोधराज निरौला, मनाङ एअरका वरिष्ठ इन्जिनियर दीगम्बर राजभण्डारी र सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् ।

‘दुर्घटनामा परी दिवंगत हुनुभएका चालकदलका सदस्यको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै उक्त दुर्घटनामा परी घाइते हुनुभएकी विमान परिचारिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’–मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंबाट लुक्लाका लागि कार्गो उडानमा रहेको गोमा एअरको विमान लुक्ला विमानस्थल अवतरण गर्नेक्रममा दुर्घटना भएको थियो ।

उक्त विमानमा सवार चालक पारसकुमार राई र सहचालक श्रीजन मानन्धरको मृत्यु भएको थियो । परिचारिका प्रज्ञा महर्जनको काठमाडौंमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्