विरामी लुट्ने अस्पतालः ट्रमा लगेपछि फेरिए शिव « Image Khabar


विरामी लुट्ने अस्पतालः ट्रमा लगेपछि फेरिए शिव


Imagekhabar
१७ जेष्ठ २०७४, बुधबार ०६:२०

स्वास्थ्यमन्त्री गगन थापाले मेघा अस्पतालको घटनाप्रति चासो देखाउँदै तत्काल छानबिन गर्न निर्देशन दिएपछि काउन्सिलले छानबिन सुरु गरेको हो ।

राँगाले हानी घाइते भएका चौधरीको ललितपुरस्थित मेघा अस्पतालमा ४१ दिनको भोगाइबारे उनका छोरा ऋषिको भनाइ अन्नपूर्ण पोस्ट्ले जस्ताको तस्तै प्रकाशन गरेको थियो ।

काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा.सतीश देवको नेतृत्वको टोलीले मंगलबार मेघा अस्पताल पुगी त्यहाँका कर्मचारीसँग स्पष्टीकरण लिएको थियो ।

देव नेतृत्वको टोलीले चौधरीलाई भर्ना गरेदेखि डिस्चार्ज गर्दासम्मका सम्पूर्ण रेकर्ड र खर्चबारे विवरण माग गरेको छ ।

तर, प्राविधिक कारणले मेघा अस्पतालले तत्कालै बुझाउन नसक्ने बताएपछि तीन दिनको समय दिएर टोली शिवको अवस्था बुझ्न राष्ट्रिय ट्रमा सेन्टर पुगेको थियो ।

डा.देवले छानबिन भइरहेकाले वास्तविकता बाहिर आउन केही समय लाग्ने बताए । मेघामा उपचार गराउँदा बेखर्ची तथा अवस्था झन् झन् बढी नाजुक बनेपछि उनी राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भएका छन् ।

शिवको स्वास्थ्य क्रमिक सुधारमा आएको छ । उपचारमा धेरै ढिलाइ भएकाले अपेक्षित सुधार नहुने चिकित्सकले बताएका छन् । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा.गौरवराज ढकालले शिवले समयमै आवश्यक उपचार नपाएकाले सोचेजस्तो परिणाम आउन कठिन हुने बताए ।

‘उनको को गर्धनको हड्डी भाँचिएको छ । यस्तो अवस्थामा २४ वा ७२ घन्टाभित्र शल्यक्रिया गरिसक्नुपर्छ । तर, उहाँ ६ सातापछि आउनुभयो’ डा.ढकालले भने, उहाँले उपचारमा भएको सबै पैसा रित्याउनुभएछ । यहाँ निःशुल्क उपचार गरिरहेका छौं ।’

डा.ढकालका अनुसार शिवको अप्रेसनका लागि आवश्यक उपकरण जुटाउने प्रयास भइरहेको छ । ट्रमामा चार दिन बसेका शिव सजिलै कुराकानी गर्न, हातखुट्टा चलाउन र खान सक्ने भएका छन् । चिकित्सकका अनुसार शिवको भाँचिएको गर्धनको हड्डी जोडिन समय लाग्नेछ ।

‘मलाई यहाँ असाध्यै राम्रो छ, डाक्टर पनि धेरै असल हुनुहुँदो रहेछ, नर्र्सले पनि हेरचाह गरिरहनुभएको छ । बाँच्छु भन्ने आशा जागेको छ,’ शिवले भने ।

शिवका अनुसार ट्रमा सेन्टरमा आएपछि पहिलेजस्तो तीन÷चार थरीका औषधि खान परेको छैन ।

पटक–पटक एक्सरे र सिटीस्क्यान गरिएको छ । अप्रेसन गर्न तयारी भइरहेको छ । दिनमा एकथरी औषधि मात्रै खान दिइएको छ । खाना पनि निःशुल्क उपलब्ध छु, शिवले भने ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्