तीन दिनमा पाँच हजार बढी पैदलयात्री कारबाहीमा (भिडियो रिपोर्ट)

यही जेठ १६ गतेबाट लागू गरिएको यो नियमको फन्दामा अहिलेसम्म पाँच हजारभन्दा बढी परिसकेका छन् भने १० लाख रुपैयाँ बढी राजश्व संकलन पनि भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जथाभावी बाटो काट्ने पैदलयात्रीलाइ कारबाही गर्न सुरु गरेको छ । बिहीबारसम्ममा ५ हजार ३८ जना कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
जेब्राक्रसिङबाट सडक वारपार गर्नुपर्छ भन्ने जानकारी कमैमात्र पैदलयात्रीलाई छ । त्यसमाथि नानीदेखि लागेको बानीजस्तो गरी थाहा हुँदा–हुँदै मनलागी बाटो काट्ने प्रवृत्ति पनि पैदलयात्रीहरुमा रहेको छ ।
अर्कोतर्फ काठमाडौंका सडकमा जेब्राक्रसिङको सुविधा ज्यादै कम स्थानमा रहेको छ भने अधिकांश स्थानमा जेब्राक्रसिङ देख्दै नखिने अवस्थामा रहेका छन् । न त सर्वसाधारणका लागि बाटो काट्नका लागि रातो बत्तीकै व्यवस्था छ ।
त्यसमाथि मेलम्ची खानेपानी आयोजनाले सडक निमार्णकाक्रममा सडक भत्काउँदा अधिकांश स्थानमा जेब्राक्रसिङहरु मेटिएका छन् । जसका कारण सर्वसाधारणले यसै पनि सास्ती खेप्नुपरेको छ ।
ट्राफिक महाशाखा प्रमुख डीआइजी मिङमार लामा भने मेलम्ची आयोजनासँग मिलेर छिट्टै सडकको अवस्था सुधार गर्ने प्रयासमा रहेको बताउँछन् ।
समस्या पैदलयात्रीमामात्रै छैन, सवारीचालहरुले पनि ट्राफिक नियमको कत्ति पनि पालाना गरेको पाइँदैन । सवारीचालकहरुले जेब्राक्रसिङमै गाडीको गति तीव्र बनाउने गर्दछन् ।
जेब्राक्रसिङमा सवारी–साधन नरोक्नेलाई ५०० जरिवाना लिने गरेको दाबी गर्छन्, डीआइजी लामा ।
ट्राफिक प्रहरीले प्रचार–प्रसार नगरी कारबाही थालेको गुनासो सर्वसाधरणले गर्ने गरेका छन् । ट्राफिक प्रहरीले भने अहिले पनि नियम थाहा नपाएकाहरुलाई सम्झाएर पठाउने गरेको बताएको छ ।
यद्यपि, जेब्राक्रसिङबाट बाटो काट्नुपर्ने नियमलाई कडाइ गरिएकोप्रति सर्वसाधारणले खासै गुनासो भने गरेका छैनन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्