दरबार हत्याकाण्डको १६ वर्ष, रहस्य अझै खुलेन « Image Khabar


दरबार हत्याकाण्डको १६ वर्ष, रहस्य अझै खुलेन


Imagekhabar
१९ जेष्ठ २०७४, शुक्रबार ०७:१२

समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबार रात्रिमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका दश जनाको हत्या गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश, संसदका सभामुखको नेतृत्वका छानविन गरे पनि त्यसले तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टि अझै उत्तिकै छ । यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानविन अझै भएको छैन ।

पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासन त दिएका छन् तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन । जसका कारण यस दिन नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भएर रहिरहेको छ ।

अत्यन्तै बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशाली मानिएको राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझैसम्म स्वतन्त्र रुपमा छानविन हुन नसक्नु बिडम्बना नै हो । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानविन समितिले घटनाका बारेमा प्रतिवेदन तयार गरेपनि सो प्रतिवेदनलाई आम जनताले सहजै पत्याउन सकेका थिएनन् ।

यद्यपि, समयको अन्तरालमा नेपालबाट स्वयं राजतन्त्रकै अन्त्य भइसकेको छ । त्यसैले पनि आउने दिनमा यो हत्याकाण्डको तथ्यसम्म पुगेर छानविन होला भन्नेमा आशंका थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्