
पूर्वी चितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतो अहिले चितवनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन् ।
दाँहिने हात सोही दिन गोहीले चुँडेर लगेपनि ज्यान बचेकोमा खुसी भएको उनले बताए ।
उनका भतिज विफल महतो भन्छन्, ‘हात गएर केही भा छैन, हाम्रो मान्छे बाँच्नुभो, त्यही ठूलो हो ।’
खैैरहनी वडा नं १३ धर्मपुर घर भएका उनी बुधबार दिउँसो ३ बजे माछा मार्न गएका थिए । अपरान्ह ३ः३० बजे इचर्नी खोलामा तियारी जाल बिछ्याउँदै माछा मार्न थालेका थिए । उनका साथीहरु माइला र पलार सँगै थिए । दुई छेउबाट जाल बिच्छ्याउँदै जाँदा खोला छेउमै कहाँबाट मगरगोही आयो पत्तै भएन ।
‘च्याप्प हात समात्यो, तान्न थालिहाल्यो, अनि पाँच फन्का घुमायो, पछार्यो,’ प्रसाद महतोले घटना विवरण सुनाउँदै भने, ‘लान खोजेकोथ्यो, म डगमगाइन र हात चुँडेर लग्यो ।’
उनको भनाइअनुसार त्यो समयमा आफूले मुड्कीले हानेपनि लट्ठी नभएकाले हात लगेको हो । सँगै रहेका माइलाले पनि लात्ता र मुड्कीले हानेका थिए । तर केही सीप नलागेको प्रसाद बताउँछन् । अहिले एलाइभ अस्पतालमा मुख्य शल्यक्रिया सफल भएको छ ।
‘हड्डी लामो थियो । तीन सेन्टीमिटर हड्डी काटिएको छ,’ डा प्रमोद लामिछानेले भने । उनका अनुसार अस्पताल आउँदा रगत बग्ने नसा बन्द भएकोले उनी बाँच्न सफल हुनु ठूलो भाग्य हो ।
सिधा जोडिएको नसा खुलेको भए रगत बगेर ज्यानै जाने डा लामिछाने बताउँछन् । अब करिब एक महिना अस्पताल बस्नुपर्ने उनको भनाइ छ ।
अहिले आराम गरिरहेका प्रसाद महतो आफू घरमा खानका लागि माछा मार्न गएको बताउँछन् ।
विदेशमा काम गरेर ९ महिनाअघि उनी घर फर्केका थिए । त्यही कमाएको पैसा अहिले उपचारमा प्रयोग गर्न पाएको उनले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्