नयाँ दलको मत : वितृष्णाको कि आकर्षणको ? « Image Khabar


नयाँ दलको मत : वितृष्णाको कि आकर्षणको ?


Imagekhabar
२० जेष्ठ २०७४, शनिबार ०९:०३

जमाना बद्लियो । अब जमाना सञ्चार, आमसञ्चार मात्र नभएर सामाजिक सञ्चारको आएको छ । जुकर वर्गको पत्रकारिता (?) मा जो पनि संवाददाता हुन पाइने सित्तैको अवसर छ– अहिले स्मार्ट फोन र कम्प्युटरहरूमा । अहिले पब्लिक नै लेखक, फोटो ग्राफर र विश्लेषक भएका छन् । स्थानीय चुनावको १५ दिने सिरियल राजधानीको मतगणनासँगै सकिए पनि भरतपुर र चाँगुनारायणको मत परिणाम आउन अझै बाँकी छ । भरतपुरका एमाले प्रत्यासी देवी ज्ञवालीले त भनिसके– ‘म देउवा र प्रचण्डसँग चुनाव लडेको हूँ । सिङ्गो देश एकातिर म अर्कातिर भए पनि जीत मेरै सुनिश्चित छ ।’ यद्यपि यी हरफहरू कम्प्युटरमा लेख्दासम्म देवी ज्ञवालीले भरतपुरमा जितिसकेका भने छैनन् । रेणु र ज्ञवालीको बद्देबद्दे छ– त्यहाँ । अनलाइनमा ‘घाँटीघाँटी विजय, घाँटीघाँटी पराजय’ भनेर टिप्पणी आइरहेका छन् । काठमाडौँ को चुनाव भने यसपाला रमाइलो सुनियो, देखियो र भोगियो ।

देशैभरि एउटा रौनक छाएको २० वर्ष पछिको स्थानीय चुनावमा केही स्थानमा एमालेले राप्रपासँग, केहीमा कांग्रेसले माओवादी केन्द्रसँग, केहीमा कांग्रेसले राप्रपासँग र केहीमा उपेन्द्र यादवले डा.बाबुराम भट्टराईसँग तालमेल गरे पनि एमालेले कांग्रेस र माओवादी केन्द्रलाई परिणामतः ४ महानगरमध्ये पोखरा र काठमाडौँमा धूलो चटाई दियो । कांग्रेससँग चुनावी एजेण्डा भएर पनि क्यास गर्न ढङ्ग नपु¥याउँदा ठूलो राजनैतिक घाटा भयो । ऊ दोस्रो भएको छ । एनजिओ, आइनजिओ र सहकारीमा एकछत्त राज गरेको एमालले अब देशव्यापी रुपमा आफ्ना साना र मझौला स्तरका कार्यकर्ता पाल्न स्थानीय निकायका ठेक्कापट्टा र जागिरलाई भलिभाँती उपयोग गर्दछ ।

अर्कातिर, देशमा माओवादी केन्द्रले गरेको उज्यालो अभियान, वार्षिक आर्थिक वृद्धिदर, फास्ट ट्रयाक, एलइडी बल्ब प्रकरणजस्ता राम्रा कार्यक्रमलाई प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको ‘विना मौसम’ को महाभियोगले उल्टै ‘राजनीतिक पखाला’ को काम गर्‍यो । सो मात्रै नभएर कांग्रेस र माओवादी केन्द्र प्रहरी महानिरीक्षक नियुक्तिमा ‘गेल भैँस पानीमे पडू सहित’ भन्ने हिन्दी उखान उल्टा रुपले चरितार्थ भई आफैँलाई बुमर्‍याङ् भयो ।

हुन त कांग्रेस र माओवादी केन्द्रले गरेका राष्ट्रिय गल्तीहरू नभएका होइनन् । उनीहरूले लोकमानसिंह कार्कीको महाभियोग मुद्दालाई के–कसरी किनारा लगाए भन्ने कुरा जनतालाई स्पष्ट रुपमा भनेनन् । चुनावको मुखैमा आएर म्याडम सुशीलालाई महाभियोग लगाउनु जनचाहना विपरीत त थियो नै फेरि चतुर प्रतिपक्षलाई राजनीतिक मसाला दिने काम जो गर्‍यो । कुनै बेला श्रीमान् ओली महोदय ‘गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयल गाडा चढेर अमेरिका जाने यात्रा’ भनेर उड्किन्थे ! कांग्रेस र एमाले धर्म निरपेक्षता, संविधान सभा र गणतन्त्रका मुद्दामा माओवादीका राजनैतिक पिछलग्गु भएकै हुन् । नैतिक धरातल दह्रो भएका भए तिनले कथित नाकाबन्दीमा भारतको जोडदार विरोध गर्न सक्थे । त्यो पनि गरेनन् । एमालेले राष्ट्रिय झण्डा र दौरा सुरुवाललाई काखी चेप्दा समेत यी दुई मौसेरा भाइ चुपचाप भए । कमल थापाको जस्तो रवैया अपनाएर सत्ता राजनीति गर्ने यी दुई वैपरित्य दर्शनका पार्टीहरु क्रमशः ‘पाटी’मा परिणत नहोलान् भनेर भन्न सकिन्नँ !

एमालेका ‘पैतालादेखि टुप्पीसम्मका संगठन’हरू यसपाली ‘गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार’ भन्ने जेहादी नारामा जुरुक्कै सुनामीमय भएर लागे । कांग्रेसले आफ्ना शेरबहादुरलाई प्रधानमन्त्री बनाउन चितवनजस्तो कांग्रेसको विजय सुनिश्चित भएको स्थानमा स्थानीय भोटरहरूलाई ‘इमोसनल ब्ल्याक मेलिङ्’ गर्‍यो । जसले उसका भोटरहरू यतिविधि रिसाए कि एमालेलाई भोट दिनेसम्म स्थिति भयो । खैर ! परिणाम केही घन्टाहरूमा आउनेवाला छ ।

चितवनका पत्रकार सङ्गीत आयामले लेखे– ‘कस्तो फिल्म बनायौ निर्देशक, सकिनै लाग्दा पनि सस्पेन्स भै’राको छ ।’ भारतमा अनेक रेकर्ड राख्न सफल एसएस राजामौलीको ‘बाहुबली –टू’ जस्तै यहाँ नेपालमा दादे सरकारको ‘बाहुबली चुनावी फिल्म’ सुपर फ्लप भयो । एमालेले संविधान संशोधनमा जसरी टाङ् अड्याइरहेको छ त्यसलाई कांग्रेसले चिर्न सकेन । मधेशवादी दलहरू संविधान संशोधन नभई चुनावमा भागै नलिने अनि एमाले चुनावका मुखमा संशोधन हुनै नदिने । कांग्रेसले मधेशलाई विश्वासमा लिएकै थियो । खुल्ला रुपमा चुनावमा आम मतदातालाई भन्न सकेन कि मधेशका सवालमा ‘एमालेलाई भूगोल चाहिने जनता नचाहिने ।’

‘रञ्जु र रेनुलाई यो स्थानीय चुनाव नफापेकै हो त ?’ जनता प्रश्न राख्दै छन् । पोखरामा राष्ट्रपतिकी मितिनी मञ्जुदेवी गुरुङले उमपेयर जितिछन् । राम्रै भयो । मितिनी राष्ट्रपति भएका बेला उम्मेदवारी कोसेलीमा पाएकी गुरुङ खुसी भइन् । यता काठमाडौंमा विजय हुने विद्यासुन्दर शाक्य केपी ओलीका साला हुन् भन्ने टिप्पणी नसुनिएका होइनन्– चुनावताका । ‘जसरी उनले चुनाव जित्छन् भन्ने कुरामा उनका पार्टीका मानिसहरूलाई शंका थियो । अब उनले चुनावी घोषणापत्रमा लेखेका कुराहरू पूरा गर्न सक्छु कि सक्दिन भन्ने संशय पैदा भैसकेको छ । किनकि उनको परीक्षाको घडी सुरु भैसकेको छ’ –एक अनलाइनले खुलस्त भएरै लेख्यो ।

बूढापाकाहरू भन्ने गर्छन्– ‘भन्नजस्तो सजिलो, गर्नजस्तो गाह्रो, भोकजस्तो रोग र अन्नजस्तो ओखती यो संसारमा अरू छैनन् ।’ शाक्यले ६४ हजार नौ सय १३ मत ल्याउँदा भगवान गिरी जो स्वतन्त्र उम्मेदवार थिए उनले आफ्नो मात्रै जम्मा १ मत पाए । उनका श्रीमती र छोराछोरी पनि उनका साथ रहेनछन् । त्यसैगरी उम्मेदवारी दर्ता गरेदेखि नै चर्चाको शिखरमा रहेका साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९६ मत पाएर चौथा भए भने । रञ्जु दर्शनाले २३ हजार चार सय ३९ मत पाई तेस्रो स्थानमा रहन पुगिन् । तर यतिखेर चर्चा रञ्जु र किशोर कै छ । जेठ १३ गते एक दैनिकले मेन न्यूज बनाएर लेख्यो– ‘साना दलको मत वितृष्णाको कि आकर्षणको ?’ जे होस् चुनाव अझ राजधानीको चुनावमा यक्ष प्रश्न तेर्सिएको छ । अब जनता आउँदो चुनावमा नयाँ र वैकल्पिक पार्टीप्रति आकर्षित भए भने पुरानाहरूले आफूलाई कि सुधार्नु पर्छ कि उधार्नु पर्छ ।

नयाँ दलले पाएको मत : वितृष्णाको कि आकर्षणको ? अहिले बुद्धिजीवीहरू यसमा बहस गर्दैछन् । सरकारले नयाँ दललाई पार्टीको चुनाव चिन्ह समयमै उपलब्ध गराएको थियो भने अवश्य पनि नयाँले पुरानालाई पानी पिलाउने थिए । विदेश बस्नेलाई अनलाईन भोटिङ् व्यवस्था, राइट टु रिजेक्ट र देशभित्रै पनि इभिएममा निर्वाचन आयोग जानसक्या भए नयाँले आफ्नो पाइन् देखाउन सक्ने थिए । आउँदा प्रदेश र संसदीय निर्वाचनमा उनीहरूले आफ्ना कमि र कमजोरी सुधारेर गए भने समयले उनीहरूलाई अँगाल्न बेर लगाउँदैन । अहिले रञ्जुले पाएको भोट देखेर खासगरी टिनएज र कलेज पुस्ता निकै हौसिएका छन् ।

एकजना कांग्रेसी मन्त्रीका पिएले फेसबुक वालमा हाकाहाकी लेखे –‘यसपटक अघिल्लो चुनावमा जस्तो भारतले प्रतक्ष्य हस्तक्षेप गरेन किनकि युरोपियन युनियनले पैसासहित आफ्ना केही उम्मेदवार उठाएर कांग्रेसलाई हराउन मुख्य भूमिका खेल्यो ।’ गम्भीर विश्लेषण हो यो । यस्ता पहेलीहरू आउँदा केही महिनाहरूमा खुल्दै जालान् तर काठमाडौंले विकल्प खोजेको चाहिँ पक्कै हो । युवा, सक्षम र विकासप्रेमी प्रतिनिधि चाहन्छन् –काठमाडौंका जनता ।

‘२१ वर्षकी नवयुवतीले राजधानीको मेयरका लागि गरेको दावी कतिका लागि ठूलै झट्का सावित भयो भने कतिले यसलाई सामान्य घटना माने ।’ कांग्रेसका भोटरहरू पक्कै पनि साझा र विवेकशीलतिर लहसिएका हुन् भने राजुराज जोशीले हार्नुमा देशीविदेशी तत्वको हालीमुहाली चुनावमा भएन भनेर भन्न नसकिने स्थिति आएको हुनु पर्छ । मन्त्रीका पिएका मनमा छाएको आशंका सत्यांशमा परिणत नहोस् ।

युवाहरू परिवर्तनका पक्षधरतर्फ लाग्नु स्वाभाविकै हो । प्रसिद्ध आख्यानकार नयनराज पाण्डेले चुनावअघि सार्वजनिक गरेको एउटा भनाइले अझै यो संकथनकारका मनमा टच गरिरहेको छ । उनले लेखेका थिए– ‘म ६० वर्षभन्दा माथिका कुनै पनि उम्मेदवारलाई यसपटक चुनावमा भोट दिन्न किनकि ६० माथिका मानिसहरूमा ऊर्जा हुन्न । ऊर्जा नहुने मानिस विगताकांक्षी हुन्छ र उसले नयाँ काम गर्न सक्दैन ।’ उनको भोट पक्कै खेर गएन होला । जसले जित्यो त्यसलाई उनले रोजेका थिएनन् होलान् जसलाई तिनले रोजे तिनले विजयश्रीको माला पहिर्‍याउन नतिजाले दिएन होला । सत्य के हो ? नयन दाजुलाई नै ज्ञात हुनुपर्छ ।

उठाउन खोजिएको कुरा के भने, माओवादीले नयाँ नेपालको चस्मा आफ्ना पार्टीका उम्मेदवारका आँखामा लगाइदियो । जुन आँखामा नयाँ ‘सिसा’ थियो त्यसले ‘नेपाल’ देखेन । जुन आँखामा ‘नेपाल’ थियो त्यसले ‘नयाँ’ पहिल्याउन सकेन । नत्र चीनको ग्वान्जाउबाट अझै ३६० किलोमिटर दूरी पार गरेर नेपालको कोराला नाकासम्मको दूरीमा चिनियाँ रेल आउन १२ अर्ब चिनीयाँ युआन खर्च गर्दा ३ वर्ष लाग्छ भनेर खोज पत्रकारिता गर्ने हस्त गुरुङले नेपाल साप्ताहिकमा केही हप्ताअघि नै लेखिसकेका छन् । धन्न ! हाम्रा नेताको पठन संस्कृति । रेलको यस्तो हावादारी कुरा घोषणा–पत्रमा लेखाएर भोट ब्याकलाई कुप्रभावित पार्न सक्ने उम्मेदवार अनि राजधानीका जनतामा ‘मेलाम्चीले पानी खुवाउनु अघि बेस्सरी धूलो खुवाई सक्दा पनि चेत अझै उघ्रेको छैन ।’

उहिले पञ्चायती शासनमा पञ्चायतका माहिर खेलाडीहरू भन्थे –‘चुनाव भनेको घिउ बेचुवा र तरबार बेचुवाको लडाइँ हो । जहाँ नेताहरू बुधसिंह र दर्शनसिंहको शैलीमा भाषण गर्छन् र जनता ढाँट्छन् ।’ आसा गरौं त्यो इतिहास भैसकेको भनाइ असत्य सावित होओस् । राजधानी साँच्चैको राजधानीजस्तो मानव बस्नलायक बनोस् । केटाकेटीले भाँडाकुटी खेलेजस्तो नहोस् । तीन तहको चुनाव गरेर अवसर र चुनौतिका रुपमा प्राप्त यो गणतन्त्र स्यालको सिङ्जस्तो स्वाट्ट नहराओस् ।

सानदार मतमा जित जित्ने र गौरवशाली हार हार्ने सबैमा शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्