स्थानीयद्वारा सिमिकोट विमानस्थल घेराउ, करिब ८० जना भारतीय पर्यटक अलपत्र « Image Khabar


स्थानीयद्वारा सिमिकोट विमानस्थल घेराउ, करिब ८० जना भारतीय पर्यटक अलपत्र


Imagekhabar
२० जेष्ठ २०७४, शनिबार १०:४५

स्थानीयले निर्माण सामाग्री तथा खाद्यान्न ढुवानीका लागि प्रभावकारी व्यवस्था नभएको भन्दै एक्कासी विमानस्थल बन्द गराएपछि भारतीय पर्यटक विमानस्थल परिसरमै अघोषित रुपमा बन्दी बनेका हुन् ।

शनिबार बिहान मानसरोवर यात्राका क्रममा नेपालगंजबाट सिमिकोट पुगेका उनीहरु विमानस्थलबाट बाहिर निस्कन नपाएका हुन् । विमानस्थलमा रहेका ती भारतीय पर्यटकलाई बाहिर निस्कन दिइएको छैन ।

बिहानदेखि उनीहरु विमानस्थलभित्रै छन् । स्थानीय प्रशासनले सहमतिका लागि प्रयास भइरहेको जनाएको छ । विमानस्थलमा प्रहरी टोलीले सहमतिका लागि प्रयास जारी राखेको जनाइएको छ ।

करिब दुई सयको संख्यामा स्थानीयले विमानस्थल घेराउ गरेका छन् ।

विमानस्थल बन्द भएपछि हिल्सामा रहेका पर्यटकहरु समेत सिमिकोट फर्कन पाएका छैनन् । उनीहरु मानसरोवरबाट फर्कने क्रममा हिल्सामा आइपुगेको भए पनि विमानस्थल बन्द भएको खबरपछि हिल्सामै रोकिएका हुन् । हिल्सामा करिब दुई सय भारतीय पर्यटक रहेको बताइएको छ ।

(तस्वीर सौजन्य : सागर आचार्य)

प्रतिक्रिया दिनुहोस्