२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


मोबाइलमा नेटवर्क नभएपछि रुखमा चढेर कुरा गरे भारतीय मन्त्रीले


0
Shares

‘डिजिटल इन्डिया’ को नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले आफ्नो संसदीय क्षेत्रको भ्रमणका क्रममा मोबाइल नेटवर्कको समस्या सामना गर्नु परेको हो ।

आइतबार आफ्नो संसदीय क्षेत्र बीकानेरको भ्रमणमा रहेका उनले ढोलिया गाउँमा नेटवर्क नभएपछि रुखमा चढेर मोबाइल फोनमा कुरा गरेका हुन् । स्थानीयले गाउँको अस्पतालमा नर्स नभएको गुनासो गरेपछि उनले सम्बन्धित अधिकारीलाई यसबारे जानकारी गराउन र नर्सको व्यवस्था मिलाउन निर्देशन दिन खोजेका थिए । तर फोनमा नेटवर्क नभएपछि उनको प्रयास सफल हुन सकेको थिएन ।

गाउँलेले नै अग्लो ठाउँमा कतै कतै नेटवर्क आउँछ भनेपछि मन्त्री मेघवालले रुखमा चढेर फोन सम्पर्क गरेका हुन् । उनलाई रुखमा चढ्नका लागि गाउँलेले एउटा सिँढीको व्यवस्था गरिदिएका थिए ।

सिँढीमार्फत रुखमा चढेर उनले मोबाइलमा कुरा गरेको दृष्य केही ग्रामिण युवाले आफ्नो मोबाइलमा कैद गरेका थिए । तिनै ग्रामिण युवाले खिचेका केही तस्वीर र भिडियो अहिले भारतमा निकै भाइरल बनेको छ । (एजेन्सी)