
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीमाथि ३४ रनको जित हासिल गर्दै पुलिसले फाइनलमा ठाउँ बनाएको हो ।
पहिले ब्याटिङ गरेको पुलिसले ९ विकेटको क्षतिमा २५२ रन बनाएको थियो । कुशल भुर्तेलले ५२ तथा सिद्धान्त लोहनीले ४० रन बनाएको इनिङमा दीपेन्द्रसिंह ऐरीले ३७ रनको योगदान दिए ।
सशस्त्र प्रहरीका अनिल शाहले ३ तथा ज्ञानेन्द्र मल्ल र अरुण ऐरीले २/२ विकेट लिए ।
वर्षाले प्रभावित खेलमा ‘डकवर्थ लेविस’ नियमअनुसार २८ ओभर ३ बलमा १७३ रनको चुनौती पाएको सशस्त्रले ६ विकेटको क्षतिमा १३८ रनमात्र बनाउन सकेपछि पुलिसले ३४ रनको जित हासिल गरेको हो ।
कप्तान ज्ञानेन्द्रले अलराउन्ड प्रदर्शन गर्नेक्रममा ३५ बलमा ४५ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
ललित राजवंशीले कसिलो बलिङ गर्नेक्रममा ३१ रन खर्चेर ३ विकेट लिए । अर्धशतक बनाएका पुलिसका कुशल ‘म्यान अफ द म्याच’ घोषित भए ।
दोस्रो सेमिफाइनलमा मंगलबार त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्र भिड्नेछन् । आर्मी समूहको विजेता हो भने पश्चिमाञ्चल अर्को समूहको उपविजेता हो ।
प्रतियोगिताको विजेताले अहिलेसम्मकै सर्वाधिक पुरस्कार २० लाख रुपैयाँ जित्नेछ ।
प्रतिक्रिया दिनुहोस्