३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


१३ डलरको हिराको औंठी ३५ वर्षपछि ८ लाख ४८ हजार डलरमा बिक्यो


0
Shares

बुधबार (हिजो) लन्डनको सोथब्य्स फाइन ज्वेल्समा लिलामी बढाबढमा २६ क्यारेटको उक्त हिराको औंठी ८ करोड ७३ लाख १२२४ रुपैयाँ (८ लाख ४७ हजार ६६७ अमेरिकी डलर)मा बिक्री भएको हो ।

गत मे महिनामा यस औंठीको मूल्य कम्तीमा करिब तीन करोड ३५ लाखदेखि बढीमा चार करोड ७० लाख रुपैयाँ राखिएको थियो ।

तर, लन्डनमा बुधबार आयोजित सोथब्य्स फाइन ज्वेल्सको लिलामीमा दोब्बर मूल्यमा बिक्री भएको सीएनएनले जनाएको छ ।

सन् १९८० मा एकजना अपरिचित व्यक्तिबाट कारबुट सेलमा आभूषणमा सजित उक्त हिराको टुक्रा एक हजार ३३७ रुपैयाँ (१३ अमेरिकी डलरमा) खरिद गरिएको थियो ।

सस्तोमा खरिद गरिएको उक्त हिराको औंठी जसले किनेका थिए, उनले स्थानीय ज्वेलरीको देखाउँदा सामान्य औंठीकोरुपमा मूल्यांकन गरिएको थियो ।

झन्डै तीन दशकपछिमात्र उक्त औंठी १९औं शताब्दीकै सबैभन्दा बहुमूल्य २६ क्यारेटको पहाडमा भेटिएको तकियाको आकारको हिरा रहेको प्रमाणित भएपछि यसको मूल्य निकै बढेको थियो ।

उक्त हिराको औंठीलाई अहिले ‘रिङ माउन्ट’को नामले चिनिन्छ ।

सोथब्य्स फाइन ज्वेल्सले दोब्बर मूल्यमा हिराको औंठी बिक्री भएपछि अझै यसको महत्व बढेको उल्लेख गरेको छ ।

सोथब्य्स फाइन ज्वेल्सकी विभागीय प्रमुख जेस्सिका वेन्धामले औंठीको मूल्यले आश्चर्यमा पारेपनि झट्ट हेर्दा आधुनिक हिराको औंठी र रिङ माउन्टबीच लगाउँदा सामान्य मानिसले छुट्याउन नसक्ने बताइन् । उनले भनिन्–‘यो हिराको औंठी एकदमै पुरानो शैलीको छ ।’

वेन्धामकाअनुसार चाँदीको खोलमा राखिएको उक्त हिरा मानिसले लगाउनको लागि नभइ मैनबत्तीको प्रकाशको लागि बनाइएको थियो । हिराबाट निस्कने प्रकाश प्रयोगका लागि उक्त हिरा बनाइएको थियो ।