महाभारतकी कुन्ती- १५ « Image Khabar


महाभारतकी कुन्ती- १५


Imagekhabar
२९ जेष्ठ २०७४, सोमबार ०८:०३

Haribinod Adhikari article

पितामहको विचार भने स्पष्ट थियो— अबको राज्यको हकदार भनेको युधिष्ठिर नै हो तर गद्दीनसीन राजाको विरुद्धमा बोल्न उहाँ पनि तयार हुुनुहुन्थेन किनभने गद्दीमा त जेठाजु हुनुहुन्थ्यो । उहाँ त गद्दीको हक छोडेर गद्दीको सुरक्षा गर्ने हैसियतमा मात्र आफूलाई उभ्याउनु हुन्थ्यो । मात्र गद्दीको संरक्षक । मागे सल्लाह दिने, नमागे सल्लाह नै नदिने । कुनै नराम्रो कुरा भइहालेछ भने पनि आँखा चिम्लने । सामान्यतः मेरा छोराहरुलाई दुर्योधनादिले दुर्व्यवहार गर्दा पितामह थाहा नपाए जस्तो गर्ने । त्यस्तै अन्यमनस्क हुँदाको परिणाम त देखियो नि ।

त्यसको पछिल्लो उदाहरण त युद्धमा देखियो । उहाँको विचारमा पनि भरत वंशीय युद्ध ‘धर्मयुद्ध’ नै थियो । तर कसका लागि धर्म भन्ने कुरामा विवाद नभएको भए सहयोग गर्ने राज्य र योद्धाहरु किन बाँडिन्थे कौरब र पाण्डवका पक्ष र विपक्ष भनेर ? कौरबतर्फ ११ अक्षौहिणी र पाण्डवतर्फ ७ अक्षौहिणी । यदि हाम्रो सम्बन्ध महाराज द्रुपद र महाराज विराटसँग पनि नजोडिएको भए अझ कम सहयोगी हुन्थे युधिष्ठिरतर्फ । महाराज द्रुपदसँगको सम्बन्धलाई हाम्रो परिवारले कति महत्व दिएको थियो भने मेरा छोराहरुको तर्फबाट सेनापति नै युवराज धृष्टद्युम्न थिए । द्रुपद महाराजका अर्का छोरा शिखण्डीले नै भीष्म पितामहलाई शरशैयामा सुताएका थिए । तर अचम्म, न त धृष्टद्युम्नका सन्तान थिए, न त शिखण्डीका । मैले सुनेकी थिएँ, धृष्टद्युम्नको जन्मको खास उद्देश्य नै गुरु द्रोणको अवसानका लागि भएको थियो र शिखण्डीको उद्भव नै पितामहको अन्त्यका लागि भएको थियो । धृष्टद्युम्न र द्रौपदी अयोनिजा थिए । धृष्टद्युम्नको उद्देश्यमा उनी स्पष्ट थिए र समयको खोजीमा थिए । शिखण्डीको पुनर्जन्म भए पनि उनलाई पहिलो जन्मको सबै कुरा थाहा थियो रे र, त्यसैको बदला लिने कुरा आफ्ना साथीहरुलाई भन्थे रे । तर या त गुप्तचरले कहिल्यै त्यो कुरा पितामहसामु भनेनन् या पितामहले त्यही नै आफ्नो अन्तिम परिणाम हो भनेर वास्ता नै गर्नु भएन ।

दरबारमा सुनिन्थ्यो शिखण्डीका बारेमा कुराहरु । उनी त छोरी नै भएर जन्मेका रे, तर पछि एउटा यक्षले पुरुसत्व सापट दिएपछि उनको इज्जत बचेको रे । होला, विवाहसमेत भएका राजकुमारको इज्जत भनेको राज्य रहने वा नरहनेसम्मको हुन्छ । तर उनलाई सुख सयल, मोज मज्जा भन्दा पनि कहिले कुरुकुलमा युद्ध होला र पितामहलाई मारौँला भन्ने थियो रे । स्वयं पितामहको द्विविधाजन्य परिस्थिति पनि त्यस्तै थियो । उहाँको मनले पाण्डवको पक्ष लिन्थ्यो तर उहाँ हस्तिनापुरको रक्षकको रुपमा दुर्योधनको सेनापति भएर लडिरहनु भएको थियो । न पाण्डवहरुलाई मार्न सक्नु हुन्थ्यो, न त दुर्योधनलाई छोड्न सक्नु हुन्थ्यो । हाम्रा दुवैतिर विश्वभरका योद्धा बाँडिएका थिए र जसले जसलाई सखाप पार्दा पनि ती महापुरुषहरु नै सखाप भइरहेका हुन्थे ।

अरुको भन्दा पनि मेरा माइतीका नारायणी सेना कौरबतिर र एक्लो कृष्ण पाण्डवको पक्षमा भागबन्डा गरिएको रहेछ । त्यस्तै दाई मद्र महाराज महारथी शल्यको अवस्था के थियो भने आफू एक्लै पनि कौरबलाई जितेर भान्जाहरुको राज्याधिकार फिर्ता गर्छु भनेर मद्रदेखि सबै कुराको तयारी गर्र्दै हजारौँ सैनिक, अत्याधुनिक हातहतियार लिएर हिमाली बाटो हुँदै आउँदा प्रत्येक बासमा खान पिन र सेनाका लागि बस्ने व्यवस्था राम्रो हुँदा उहाँ खुसी हुनु भएको रहेछ । दुर्योधनले बडो चलाखीसाथ त्यो व्यवस्था गरेकोले आफू कृतघ्न कसरी हुने भन्दै थक्क थक्क गरेर नुनको सोझो गर्नका लागि कौरबतिरबाट लड्नु भएको थियो । लड्नुमात्र भएन, सेनापति पनि हुनु भयो पछिल्लो अवस्थामा । यसरी दुर्लभ योद्धाहरुको विनाश भएको थियो हाम्रा परिवारको युद्धका लागि ।

वास्तवमा नियतिलाई कसैले पनि टार्न सक्छ त ? मनमा त्यही कुरा अहिले पनि आउँछ बारम्बार— के त्यो भयानक युद्ध टार्न सकिन्थ्यो त ? एक मनले भन्छ— टार्न सकिन्थ्यो । अर्को मनले भन्छ— टार्न सकिने भए टरिहाल्थ्यो नि, किन हुन्थ्यो युद्ध, किन मारिन्थे विश्वका महान योद्धाहरु, महान शासकहरु र महान विद्वानहरु ? बारम्बार मलाई झन्झनाहट हुन्छ एउटा कुराको— व्यासले चाहेको भए लडाईँ हुँदैनथ्यो कि ? जेठाजुले चाहनु भएको भए पनि युद्ध हुँदैन थियो कि ? कृष्णले चाहेको भए पनि हुँदैन थियो कि ? या मैले नै अलि बढी नै नेहोरा गरेको भए या मेरा आफ्ना र दिदीका छोराहरुलाई साथै राखेर भावी परिणाम देखाउन सकेको भए पनि ? सायद त्यो नरसंहार रोकिन्थ्यो कि ? तर विधिको विधानमा लाग्छ यसो गरेको भए सायद दुर्घटना हुँदैन थ्यो कि ? तर जब त्यसो भई सक्छ, अनि लाग्छ त्यसो नभएको भए यसो हुँदैनथ्यो कि ? यो त मानवीय परम्परा नै हो । तर दिदीको मनमा अहिले पनि कृष्णले चाहेको भए पक्कै लडार्इँ रोकिन्थ्यो । मलाई पनि त्यस्तो त लागेको हो तर कृष्ण नै युद्ध चाहन्थ्यो जस्तो पनि लाग्यो किनभने जब कृष्ण द्वारकातिर जान लाग्यो । मैले भनेकी थिएँ— बाबु, तिमी पनि जान लाग्यौ । कसरी यी पाण्डवहरुले राज्य सञ्चालन गर्लान् । नजाऊ । यतै बस र यिनीहरुलाई सहयोग गर ।

अनि उसले भनेको थियो— दिदी ! गान्धारीको श्राप सुनिहाल्नु भयो, अब त्यहाँ पनि अन्याय अत्याचार बढेको खबर आएको छ । एकातिर त्यो श्राप पूरा हुनै पर्छ, अर्कोतिर मैले पनि अब आफ्नो कर्तव्य पूरा गरेपछि त जानै छ धाम । दिदी ! म केही पनि होइन तर सबै थोक हुँ । प्रकृतिको उपज हुँ । मेरा भागमा जेजे कामको जिम्मा छ, ती ती काम विभिन्न स्वरुपमा र विभिन्न बहानामा मैले गर्नैपर्छ । त्यसैले यताको जिम्मा अब सिद्धियो, अब उताको जिम्मा पूरा गर्नुछ ।

म त झसङ्ग भएँ र सोधेँ— के तिमीले नै स्थापना गरेको यदुकुल अब आफैँ संहार गर्छौ त ? अनि उसले गुरुगम्भीर वाणीमा भन्यो— म स्वयं त केही पनि गर्दिन जस्तो कि तपाईँहरुको परिवारको युद्धमा मैले हतियार चलाइँन । तर त्यहाँ जे गर्छन्, मेरै सन्तानले गर्छन् र समाप्त हुन्छन् । र, त्यतिमात्र होइन दिदी, म स्वयं पनि पुरानो वाचा पूरा गर्न द्वारिका पुग्नै पर्छ । मेरो पनि कसैले हत्या नै गर्छ ।

म त छक्क परेँ यो कस्तो कर्तव्य पूरा गर्दैछ मेरो दाजुको छोरो, आफूलाई मार्न कोही व्याधा पर्खेर बसेको छ रे, उसलाई म कसलाई मार्दैछु भन्ने पनि थाहा छैन रे तर उसले धेरै पहिले वचन दिएको रे र प्रकृतिसँग साक्षात्कार हुुनु नै उसको परम कर्तव्य रे । यसको मतलब— ऊ सर्वशक्तिमान पनि हो रहेछ, सर्वद्रष्टा पनि हो रहेछ, तर प्रकृतिको नियमलाई बदल्न भने नसक्ने रहेछ । वास्तवमा नियति, कर्म र परिणामको रक्षा गर्नका लागि मात्र ऊ संसारमा जन्म लिइरहने रहेछ । अधर्मको विरुद्धमा संसारलाई चेतना दिन म जन्मिरहने छु दिदी भन्थ्यो । सायद त्यही कुरा उसले अर्जुनलाई युद्ध भूमिमा भन्दा नै जेठाजु रिसाउँदै भन्नुहृुन्थ्यो— के भन्छ सञ्जय यो ग्वाला ? कहिले के भन्छ, कहिले के भन्छ ? तर सञ्जयलाई प्रत्यक्ष विवरणका लागि मात्र व्यासले अधिकार दिनु भएको थियो, क्षमता प्रदान गर्नु भएको थियो, त्यसभित्रका गाँठी कुराहरुको व्याख्या गर्न र रहस्योद्घाटन गर्न कुनै अनुमति पनि थिएन र उनमा त्यो क्षमता पनि सायद थिएन । उसले मात्र ती सबै कुरा थाहा पाएको रहेछ र त हाम्रो कुलको सम्बन्ध कुरुकुलमा भएको रहेछ । कहाँ हामी शान्तिपूर्वक गाई पालेर राज्य चलाउने ग्वाला, कहाँ भरतवंशी महाराजको कुलमा विवाह हुने ?

मेरो मनमा त्यो युद्धको रहस्यले कहिले पनि छोड्ने छैन । अब त अन्त्यकाल पनि आइसक्यो । केही क्षणको मात्र कुरा हो । तर एउटी पात्रा म पनि हुँ । मलाई त रहस्यमयी लागेको छ भने अरु विश्वका मानिसहरुले पछिसम्म आफ्ना आफ्ना तर्कले युद्धका पक्षमा वा विपक्षमा बहस गरिरहलान् ।

युद्धपूर्वको अवस्था कस्तो थियो भने कुरो मिल्यो मिल्यो हुने, फेरि कसरी मिल्न लागेको कुरा छिनमा बिग्रन्थ्यो ? मिल्यो मिल्यो जस्तो हुने अनि फेरि कुरा बिग्रने । कहिले पाण्डवका तर्फबाट बिग्रियो भनिन्थ्यो त कहिले कौरबका तर्फबाट वा भनौँ दुर्योधनका तर्फबाट बिग्रियो भनिन्थ्यो । तर कुरा बन्न बन्न लाग्दा बिग्रन्थ्यो । मेरा छोराहरुका तर्फबाट मुख्य मध्यस्थकर्ता कृष्ण नै थियो र यता कौरबका तर्फबाट भन्न त पितामहको नाम भनिन्थ्यो तर शकुनी दाजु र कर्ण नै थिए निर्णायक व्यक्तिहरु । लाग्थ्यो— कृष्णलाई पनि जे हुने हो, त्यो परिणाम थाहा थियो, शकुनी दाई र कर्णलाई पनि अन्तिम परिणाम थाहा थियो । अनि कृष्णले भनेजस्तै दुवैतिरका मध्यस्थकर्ता वा निर्णायकहरुलाई जसरी हुन्छ, त्यो परिणामसम्म पु¥याउने जिम्मा नियतिले दिएको थियो त ? कृष्णको अप्रतिभ क्षमता, शकुनी दाइ र कर्णको कुरुवंशको भविष्यप्रतिको दृष्टिकोण हेर्दा र सुन्दा सबै प्रकृतिले लगाएको कामको जिम्मा पूरा गर्दै थिए । त्यसो भए मैले पनि त जुन भूमिका अचानक अचानक निर्बाह गर्नु परेको थियो, त्यसलाई पनि मान्नै पर्ने हुन्छ— नियति, कर्म र परिणामको जुन जिम्मा मेरो भागमा थियो, मैले पनि जानी नजानी पूरा गरेकै रहेँछु । नत्र कसरी सूर्यसँग, धर्मराजसँग, वायुुसँग, इन्द्रसँग मेरो र ममार्फत् नै माद्रीको अश्विनी कुमारहरुसँग सम्बन्ध रहन्थ्यो ?

सम्बन्ध रहनुमा पनि कस्तो भएको थियो भने अहिले सम्झँदा लाग्छ, नियतिकै खेल थियो ।
                                                                                                                                        क्रमशः

 

प्रतिक्रिया दिनुहोस्