सफल कि असल बन्ने ? « Image Khabar


सफल कि असल बन्ने ?


Imagekhabar
३० जेष्ठ २०७४, मंगलवार १०:४६

धेरैजसो मानिसहरू आफूले अनुभव गरेका कुराहरू प्रमाणित गर्न खोज्छन् तर प्रयोग गर्नु पर्छ । महाभारतका दुई महापात्रमध्ये कर्ण प्रमाणित गर्थे भने अर्जुन प्रयोग गर्थे । फलतः महाभारत युद्धमा कर्ण असफल र अर्जुन सफल भए । सफलताका लागि सुनारकहाँ जसरी सुनले पोलिनु, पिटिनु र पानीमा चोबलिनु पर्छ, त्यस्तै मानिसले पनि दैनन्दिन जीवनका हरेक क्षण पलमा परीक्षारत हुनु पर्छ । परीक्षा आफूले लिइने होइन अरू कसैले लिइरहेको हुन्छ । निकट या दूरबाट ।

रिस आगोको फिलिङ्गो हो, जो अरुलाई हान्दा अघि आफैँलाई पोल्छ । जीवनमा हरेक क्षण विकल्पहरू उपलब्ध हुन्छन् । हामीले तीमध्ये सही र असल विकल्पलाई छान्नु पर्छ । जसले जे यात्रा तय गरेको छ त्यो यात्रा शुुरूमा गाह्रो छ तर भीड कम छ । जुन यात्रामा भीड बढी हुन्छ त्यो यात्रा सरल हुन्छ । भनाइ छ– पानीको नरम थोपाले पनि निरन्तर प्रहार गरिरह्यो भने ढुङ्गामा पनि प्वाल पार्छ । निरन्तर गरिएको कार्यबाट जस्तोसुकै दुसाध्य कार्य पनि सफल हुन्छ ।

संसारमा दुई प्रकारका ज्ञान भएका मानिसहरू पाइन्छन् । एक स्प्रिचुएल ज्ञान जसले सिर्जनात्मक कार्य खोज्छ । अर्को मटेरियल ज्ञान जसले भौतिकी विकास खोज्छ । हामी कुन ज्ञानका मानिस हौँ भन्ने कुरा जीवनको पहिलो कालखण्ड (बाल्यकाल) मै थाहा पायौं भने आफूले तय गर्ने यात्रा सजिलो हुन्छ । जीवनमा खानपिन, व्यायाम र योगको धेरै महत्व हुन्छ । भनिएको छ– योग वा मेडिटेसन नगर्ने मानिस दस वर्षपछि अनपढ हुन्छ । संसारका ७० देखि ९० प्रतिशत मानिसहरू राति जन्मिन्छन् त्यसैले तिनीहरूमा डाइभर्सिटी (विविधता) हुन्छ ।

त्यसरी नै मानिसलाई तीन क्याटागोरीमा राख्न सकिन्छ– बुद्धिमान्, मध्यम र अधम । बुद्धिमान् मानिस अरूको गल्तीबाट सिक्छ । मध्यम मानिस आफ्नो गल्तीबाट सिक्छ तर अधम मानिस कहिल्यै सिक्दैन । चिनौं त, हामी कुन प्रकारको मानिस हुने आफ्नै हातमा छ ।

‘दृष्टिबाट चित्र बन्छ । दृष्टिकोणबाट चरित्र बन्छ । चरित्र परिवर्तन नगर्ने शिक्षा, शिक्षा नै होइन ।’ युवाकालमा मानिसमा ऊर्जा हुन्छ तर वृद्धावस्थामा उसँग अनुभव हुन्छ । ऊर्जालाई अनुभवसँग जोड्यो भने मानिस महान् हुन्छ । संसारमा जेजति मानिसहरू महान् बनेका छन् तिनले युवाकाल मै अनुभव र ऊर्जाको सम्मिलन गरी आफ्नो शक्ति पत्तो पाइसकेका हुन्छन् अनि निरत्नर कार्यमा लाग्छन् । आफू लागेको क्षेत्र फरक भए पनि उनीहरू आफ्ना क्षेत्रमा नाम कमाउन सफल हुन्छन् ।

सफलताका दुईवटा सूत्रहरू छन्– एकाग्रता र कृतज्ञता । एकग्रतालाई सतर्कता पनि भनिन्छ । कृतज्ञताले मानिसलाई आभार व्यक्त गर्न सिकाउँछ । हामीले अरूबाट मद्दत लिइसके पछि धन्यवाद् भन्नु पर्छ । कुनै विद्वान्ले भनेका छन्–उच्चतम् उन्नतिको निमित्य सिर्जनात्मक सक्रियाताको अभ्यासलाई विकास भनिन्छ । जीवनमा वृद्धि र विकास सँगसँगै अघि बढिरहन्छन् । सिकाइ कल्पनाशीलताले र अरूको हेरेर शनैशनै हुन्छ ।

जीवनमा कहिल्यै गरेर नसकिने तीन कुराहरू छन् –पढेर, बाटो हिँडेर र रूख चढेर । तर पनि मानिस यी तीनचिज सँधै गरिरहन्छ । निरन्तरको प्रयासबाटै नदीको एउटा किनारबाट माझीले डुङ्गालाई अर्को किनारमा पु¥याउँदछ । सफल व्यक्ति हुनका लागि जीवन व्यवस्थापन, समय व्यवस्थापन, दिमाग व्यवस्थापन र कार्य व्यवस्थापन यी चार कुराहरू गर्नै पर्छ । भारतका भूपू राष्ट्रपति एपिजे अब्दुल कलाम मुस्लिम धर्म मान्थे तर नित्य श्रीमद्भागवत् गीता पाठ गर्दथे । उनको जीवन अति सादगी थियो । सामान्य पोसाक लगाउँथे । सामान्य कोठामा बस्थे । मांस, मदिरा र गरिष्ट भोजनबाट टाढै रहन्थे । अझ अर्को रोचक तथ्य हेर्ने हो भने संसारका महान् व्यक्तित्वहरू प्रायः शाकाहारी पाइएका छन् । शाकाहार त्यस्तो खाद्य हो जसले दिमागलाई शान्त र चित्तलाई स्थिर बनाउन मद्दत गर्छ । जब मानिसको दिमाग शान्त र चित्त स्थिर हुन्छ अनि उसले खोजेको, पढेको, सन्धान गरेको र प्राप्तिका लागि हिँडेको बाटो भेट्टाउँछ ।

साधारण अर्थमा गुरु भनेर हामी कुनै व्यक्तिलाई भन्छौं । तर कुरो त्यसो होइन । नदी, फूल, घाम, पवन, रूख, पहाड, पुस्तक र निर्झर सबै हाम्रा गुरु हुन् । हामीले कक्षा, विद्यालय वा विश्वविद्यालयमा पढाइका लागि सहयोग लिने गुरु भनेका त मात्र पथप्रर्दशक हुन् । तिनले हामीलाई अध्ययनमा रूचि जगाई दिन्छन् । रूचि जगाउने कार्य दुरुह छ । तर जब मानिसलाई आफूले रोजेको क्षेत्रमा रूचि जाग्छ अनि मानिस खोज्न, पढ्न, सिक्न र गर्न थाल्छ । पहिला अरूद्वारा निर्देशित अध्ययनबाट हाम्रो जीवन अघि बढे पनि सेकेन्ड फेजमा स्वअध्ययन आउँछ । संसारमा तालिम नलिइकन, विद्यालय र विश्व विद्यालय नगइकन पनि मानिसहरू महान् बनेका छन् । चीनका पूर्व राष्ट्रपति लि स्यान् न्यान् विद्यालय र विश्व विद्यालयको आँगमा पाइला पनि नटेकी राष्ट्रपति भएका हुन्, मात्र स्वाध्ययनले ।

मिलनसारिता मानिसको अर्को गुण हो । एकैछिन पानीलाई लिऊँ न । पानी रङ्गहीन, आकारहीन, स्वादहीन र गन्धहीन तरल पदार्थ हो । तर त्यसको अन्य वस्तुसँग मिल्न र घुल्न सक्ने तागत संसारमा भएका तरल पदार्थमा सबैभन्दा बढी छ । संसारका सबै जीवजीवात्मा र बोट वनस्पतिको जीवन पानीबाटै शुरू हुन्छ । पानी मै गएर अन्त्य हुन्छ । अर्को तर्फबाट हेर्ने हो भने पृथ्वीको कूल क्षेत्रफलको ७० प्रतिशत भन्दा बढी भूभाग पानीले ओगटेको छ । ३० प्रतिशत मात्र जमिन छ । सृष्टिदेखि आजसम्मका सम्पूर्ण प्राणीको जीवन यही पानी र जमिनको महाचक्रमा रमे–रमाएको छ ।

हामीले कृतज्ञ हुन सिक्नु पर्छ र कृतज्ञताको भाव व्यक्त गर्नु पर्छ । कृतज्ञताको भाव नै संसारमा त्यस्तो भाव हो जसले मानिसलाई सफलताको सिँढी उपलब्ध गराउँछ । विज्ञान भन्छ –प्राकृतिक रूपले हरियाली भएको एक वर्ग किलोमिटरको भूभागमा करिब पाँच लाख जीवजीवात्मा र बोट वनस्पति रहेका हुन्छन् । यस्तो अवस्थालाई डाइभर्सिटी भनिन्छ । अझ अहिले त बायो डाइभर्सिटी पनि भनिन्छ । जैविक विविधता । विविधताका बीच नै एकता पनि हुन्छ । त्यही एकताले नै संसार चल्छ । पृथ्वी, जल, तेज, वायु र आकासको सम्मिलन र तीव्र सहकार्यबाटै जीवनको साइकल घुमिरहन्छ । यो लाखौं वर्षदेखि आजपर्यन्त चलिरहेको छ । अझै लाखौं वर्ष यसरी नै चलायमान भइरहन्छ ।

जीवनलाई आफ्नो अध्ययन, अनुभव र ऊर्जाबाट बुझ्ने कोसिस गरौं । तालिकाबद्ध जीवन जिउने कला सिकौं । सात वर्षभन्दा मुनिका बालबालिकाको संगतले हामीलाई प्रश्न सोध्ने कला सिकाउँछ भने सत्तरी वर्षभन्दा माथिका मानिसहरूको संगतले हामीलाई उत्तर दिने वा समाधान गर्ने कला सिकाउँछ । प्रश्न र उत्तरको घडी पनि जीवनमा हरक्षण क्रम नटुटाई नित्य नवीन चलिरहन्छ ।

यी माथिका कुराहरू मननीय सन्दर्भ हुन् । जसले हामी आफूलाई बाटो देखाउँछन् र अरूलाई समेत बाटो देखाउन मद्दत गर्छन् । जसले आफूले बाटो देखिसकेको हुन्छ उसैले मात्र अरूलाई बाटो देखाउन सक्छ । आफैँ अल्मलिइरहेको मानिसले अरूलाई पथप्रर्दशन गर्न सक्दैन । राम, कृष्ण, गौतम बुद्ध, जिसस क्राइष्ट, मोहम्मद पैगम्बर, गान्धी, मण्डेला, सुकरात, आइन्सटाइन, न्यूटन, थोमस एल्वा एडिसन, सेक्सपियर र देवकोटाहरूले असल र सफल दुवै भएर आफूलाई प्रमाणित गरिछाडे ।

असल हुने, सफल हुने वा असल र सफल दुवै हुने अब त्यो हाम्रै हातमा छ । लागौं, आजैबाट लागि परौं । जीवनमा सफलता अवश्य छ । अनि त्यो हाम्रै हातमा छ । अरूको हातमा होइन ।

प्रतिक्रिया दिनुहोस्