२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कन्फेडेरेसन कप फुटवल आजबाट सुरु, आठ देश सहभागी


0
Shares

विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि आज सुरु हुन लागेको कन्फेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबीचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।

प्रतियोगितामा ८ देश सहभागी छन् । आयोजक रुससँगै ओसेनिया क्षेत्रको च्याम्पियन न्यूजिल्याण्ड, युरोकप विजेता पोर्चुगल, विश्वकप विजेता जर्मनी, एसियाली च्याम्पियन अस्ट्रेलिया, दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

आज हुने उद्घाटन खेलमा आयोजक रुस र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने छ । रुसको सेन्ट पिटर्सवर्गस्थित रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी भएका देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् । यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् ।

हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।

फाइनल खेल आगामी जुलाई २ मा हुनेछ । यसअघि सन् २०१३ मा भएको कन्फेडेरेसन कप फुटबलको उपाधि ब्राजिलले जितेको थियो ।