
मोर्चाको आह्वानमा ‘चलो पातलेवाँस’ अभियानको दोस्रो दिन नारी मोर्चाले गरेको डन्डी प्रदर्शनमा हस्तक्षेप गरेपछि भड्किएका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
मोर्चा कार्यकर्तालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले दार्जिलिङको बिजनवारीनजिक गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो ।
बिजनवारीका दली सुब्बा र लाक्पा शेर्पाको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन् ।
बंगाल प्रहरीले बिहानैदेखि नाराबाजीसहित दार्जिलिङ सहर प्रवेश गर्ने मोर्चाका कार्यकर्तालाई रोक्न विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
मोर्चा महासचिव रोशन गिरीले बंगाल प्रहरीले चार जनाको हत्या गरेको आरोप लगाएका छन् ।
आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल बन्द गराएको छ । बंगाल सरकारले हिमाली, डीटीभीलगायत च्यानल बन्द गराएको हो ।
प्रहरीले पत्रकार विक्रम राईलाई गत राति पक्राउ गरेको छ । दार्जिलिङका सांसद अम्बर राईका छोरा उनी एनडीटीभी, टीभी चौबिस घन्टासहितका सञ्चारमाध्यममा कार्यरत थिए ।
उनलाई मध्यरातमा गिरफ्तार गरेको बताइएको छ । उनी सेन्ट जोसेफ क्याम्पसका सहप्राध्यापकसमेत हुन् ।
मोर्चा कार्यकर्ताले गुम, बिजनवारी, लेबुङलगायत विभिन्न स्थानबाट र्याली निकालेका थिए । –अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्