Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सत्ता गठबन्धनलाई महन्थ ठाकुरको प्रश्न– ‘परिणाम खोइ त ?’


0
Shares

उनले एमालेप्रति देखिएको आक्रोश अब कांग्रेसतिर सरेको जिकिरसमेत गरे ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर गत वर्ष साउन १९ मा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल चुन्नुअघि मधेसी मोर्चासँग कांग्रेस र माओवादीले तीनबुँदे सहमति गरेका थिए । जेठ अन्तिम साता अर्को तीनबुँदे सहमति गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चुनिए पनि राजपाको मत उपयोग मात्रै गरेको यसका नेताहरूको गुनासो छ ।

‘भेट्दाखेरि तीनबुँदे बमोजिम संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्ता तत्काल गर्छौं भन्नुहुन्छ, तर कहिल्यै गर्नुहुन्न, पहिले एमालेप्रति मधेसमा रियाक्सन थियो, अब त्यो कांग्रेसतिर सरेको छ,’ मंगलबार राजपा मुख्यालय बिजुलीबजारमा ठाकुरले भने, ‘सरकारको एक वर्षयताको ट्रयाक रेकर्ड हेर्दा यसले हाम्रो मुद्दा सम्बोधन गर्ला भन्ने विश्वास छैन । सरकार आफूले गर्नुपर्ने न्यूनतम कामसमेत गरेको छैन ।’

ठाकुरले विगतका झूटा मुद्दा खारेज गर्न ध्यान दिनुको साटो बाँकेदेखि मोरङसम्मका विभिन्न जिल्लामा आन्दोलनकारी कार्यकर्तालाई सार्वजनिक अपराध मुद्दा चलाउन अघि सरेको आरोप लगाए । उनले चुनावी आचारसंहिता देखाएर अदालतले स्थानीय तहको संख्या थप्ने निर्णय रोकोस् भन्ने उद्देश्यले नै कमजोर कानुनी धरातल टेकेर सरकारले चुनाव घोषणा गरेको दाबी गरे । –कान्तिपुर दैनिकबाट